काम निजीमा पठाएर हुलाक टाट
‘हुलाकीको बाटो हेर्दा चिठ्ठी आएन,
चिठ्ठी आएन...’
कुनै बेलाको चर्चित यो गीत आजभोलि बिरलै सुन्न पाइन्छ। सूचनाका संवाहक हुलाकी घरदैलोमा भेटिन छोडेका छन्। टाढा टाढाका आफन्तको सन्चो–बिसन्चोको सन्देश बोक्ने चिठ्ठी हराउन थालेका छन्।
हुलाक कार्यालय सुनसान छन्। फाट्टफुट्ट आउने सेवाग्राहीलाई पनि सुविधा दिन सकेका छैनन्। प्रविधिको विकाससँगै हातहातमा मोबाइल र घर–घरमा इन्टरनेटले अरूको खबर पुर्याउने हुलाक आफैं बेखर जस्तो छ। अन्नपूर्ण टिम आइतबार गोश्वारा हुलाक कार्यालय डिल्लीबजार पुग्दाका दृश्य :–
बिहान १०:३० बजेको समय। साइकल डोर्याउँदै कार्यालयबाट निस्किए पोस्टम्यान (हल्कारा), नवराज पौडेल। उमेरले ५६ वर्ष लागेका पौडेल ३३ वर्षदेखि काठमाडौंमा हुलाकी छन्। ‘पहिला साइकलमा झोलाभरिचिठ्ठी हुन्थे,’ विगतको व्यस्तता सम्झँदै पौडेलले भने, ‘झोलामा नअटेर चिठ्ठीको बिटा काँधमा बोक्थेँ। प्रियजनको खबर बोकेर गाउँ पुग्दा आदर र सम्मान पाइन्थ्यो। आहा ! मेरो चिठ्ठी आयो भन्दै धेरै खुसी हुन्थे।’
हुलाकले नै सेवाग्राहीलाई प्राइभेटमा पठाउँछ
कलंकीकी ६३ वर्षीया लीलादेवी पाठककी बुहारी लण्डनमा छन्। बुहारीलाई कोसेली पठाउन आइतबार बिहान ११:०३ बजे उनी गोश्वारा हुलाक कार्यालय डिल्लीबजार पुगिन्।
काउन्टरमा रहेका कर्मचारीलाई पाठकले सोधिन्, ‘मलाई केही सामान लण्डन पठाउनुछ।’
‘हामी पठाउन सक्दैनौं,’ कर्मचारीले रुखो जवाफ फर्काए।
‘हामीले १ हजार ५ सयमा पठाउने पार्सल निजी कुरियरले ६ हजार ५ सयसम्म शुल्क लिन्छन्।’
चूडामणि केसी, सूचना अधिकारी, गोश्वारा हुलाक कार्यालय, डिल्लीबजार
‘कहाँबाट पठाउने त ?।’ लीलाले जिज्ञासा राखिन्।
‘प्राइभेटमा जानुस्,’ कर्मचारीको ठाडो जवाफ।
‘प्राइभेट कहाँ छ ?,’ लीलाले फेरि सोधिन्।
‘बजारमा गएर खोज्नुस्,’ कर्मचारीको उस्तै जवाफ। लीला अलमलमा परिन्।
‘बुहारी र नातिनीलाई चुरा, धागो, टीका, लुगा पठाउन आएको थिएँ,’ उनले भनिन्, ‘हुलाक पनि थला परेजस्तो भयो। पहिला यहीँबाट सरसमान पठाउँथें,’ अँध्यारो मुख लगाएर गेटबाहिर निस्किन्।
कोरोनाअघि १ सय ९० देशका २ सय १७ स्थानमा चिट्ठीपत्र र पार्सल पठाउने गरिए पनि आजभोलि सिमित देशमा मात्र यस्तो सेवा दिने गरिएको पार्सल निकासी फाँटका पोस्टम्यान प्रशान्त केसीले बताए। अहिले मलेसिया, कतार, दुबई र भारतका लागि मात्रै हुलाकबाट सामान पठाइन्छ।
थाइसँगको सम्झौता तोडियो, एनएले सेवा दिएन
नेपालबाट पार्सल र चिठ्ठीपत्र पठाउन हुलाकले थाइल्यान्डको थाइ एयरलाइन्ससँग सम्झौता गरेको थियो। कोरोनाले उडान रोकियो। २०७८ असार २३ मा नेपाल एयरलाइन्ससँग सम्झौता गर्यो। नेपाल एयरलाइन्सले सीमित देशमा मात्र उडान गरेका कारण हुलाक सेवा सबैतिर पुग्न सकेको छैन। अब नेपाल एयरलाइन्सकै भर पर्ने की अरू कुनै कम्पनीसँग सम्झौता गर्ने भन्नेमा हुलाकका कर्मचारी अलमलमा छन्।
‘हामीले १ हजार ५ सयमा पठाउने पार्सल निजी कुरियरले ६ हजार ५ सयसम्म शुल्क लिन्छन्,’ हुलाक कार्यालय डिल्लीबजारका सूचना अधिकारी चूडामणि केसी भन्छन्, ‘सेवाग्राहीलाई फर्काउनु परिरहेको छ। हाम्रो व्यापार पनि चौपट भयो। निजी कुरियर कम्पनीले भने मनपरी शुल्क लिइरहेका छन्।’

हुलाक सेवा विभागका महानिर्देशक आभा श्रेष्ठ कर्णले भने डेढ महिनाभित्र विश्वका सबै देशमा सेवा उपलब्ध गराउने दाबी गरिन्। यहाँबाट पार्सल र चिठ्ठीपत्र विदेश पठाउन रोकिँदा हुलाक घाटामा गएको छ।
सुस्त सेवा, टिकटकमा मस्त कर्मचारी
अरू सरकारी अड्डामा सेवाग्राहीको थामिनसक्नु भीड हुन्छ। डिल्लीबजारस्थित हुलाक कार्यालय भने सुनसान जस्तै देखियो। केही कर्मचारी काउन्टरमा थिए। फाट्टफुट सेवाग्राही देखिन्थे। कर्मचारीहरू भने फुर्सदिला देखिन्थे। कोही मोबाइलमा टिकटक हेरिरहेका थिए, त कोही निदाइरहेका देखिए।
अदालती कागजात र सरकारी कार्यालयका खबर पुर्याउने कानुनी आधारको माध्यम हुलाक बनेको छ। हातमा चिठ्ठी बोकेर आइपुगे, २३ वर्षीय विशाल श्रेष्ठ। उनी कामना सेवा बैंकका कर्मचारी हुन्। ‘ऋणको भाका नाघेको पत्र ऋणीलाई पठाउन आएको हुँ,’ उनले भने, ‘ऋण तिर्न नसकेर घरजग्गा लिलामी हुन लागेको चिठ्ठी ऋणीले बुझ्न मान्दैनन्।’

हुलाकबाट पठाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले यसो गरे बैंकसँग कानुनी प्रमाण हुने उनले बताए। १०:५० बजे चिठी रजिस्टर गरेर उनी फर्किए।
‘कस्तो, के अचम्म !’
पश्चिम रुकुमका धनबहादुर ओली ११:४० मा भेटिए। उनका आफन्त मलेसियामा रहेछन्। हुलाकमार्फत आयुर्वेदिक औषधि पठाउन खोजेका रहेछन। हुलाकबाट २० किलोसम्मका सरसमान मात्रै पठाइन्छ। भन्सार कर भने अर्थ मन्त्रालयले लिने गर्छ। चेकजाँचका लागि लागूऔषध नियन्त्रण ब्युरोले प्रहरी खटाएको छ। हुलाकमा आउने, पठाइने मालवस्तुमाथि प्रहरीले निगरानी गर्छ।
काभे्रकी मनिषा लामाले जापानबाट फर्किने क्रममा हुलाकबाट लुगाफाटो पार्सल गरेकी रहेछिन्। ‘३६ प्रतिशत भन्सारमा राजस्व बुझाउनु पर्ने, कस्तो, के अच्चम !,’ उनले भनिन्।
रित्ता बन्दै पोस्टबक्स
हामी ११:५० मा पोस्टबक्स शाखामा पुग्यौं। र्याकहरू लस्करै थिए। हरेक र्याकको बक्समा नम्बर लेखिएको थियो। जहाँ १३ हजार पोस्टबक्स छन्। केही समय पहिले यो संख्या २० हजार थियो। केहीमा मात्रै चिठ्ठी छन्, अधिकांश खाली। रित्ता पोस्टबक्सहरू धुलोमैला भएका छन्। शाखा प्रमुख विन्देश्वर महतो भन्छन्, ‘पहिला बोराका बोरा शुभकामना सन्देश आउँथ्यो। अब त्यो दिन कहाँ पाइन्छ ?’
वार्षिक शु:ल्क तिरेर संघ–संस्थाले पोस्टबक्स राख्छन्। हुलाकबाट आएकोे चिठ्ठीपत्र त्यहाँ राखिन्छ।

यस्तो पनि !
गोश्वारा हुलाक कार्यालयले देशैभरीका चिठ्ठीपत्र, पार्सल विदेशमा पठाउँछन्, त्यहाँबाट आएका मुलुकभरि वितरण गर्छन्। दर्ता शाखाका खरिदार मणिराम पोखरेल भन्छन्, ‘चिठ्ठी घट्यो तर, विदेश पठाउने पार्सल र कार्यालयका कागजात पठाउनेको संख्या बढेको छ।’ बाहिरबाट हेर्दा भीड नदेखिए पनि पहिलाभन्दा आफूहरूको ब्यस्तता बढेको उनको भनाइ छ।
मध्यान्नको १२ बज्यो। हुलाक कार्यालयबाट एक हुल कर्मचारी गेटबाहिर निस्किए। भित्र सवारीको ठेलमठेल पार्किङ गरिएको थियो। बाहिरबाट हेर्दा निकै सेवाग्राही होलान् जस्तो। तर, अधिकांश शाखा रित्तो र शून्य जस्तै थिए।
देब्रे साइडको हेल्प डेस्कमा भने रमाइलो हल्ला सुनिन्थ्यो। त्यहाँका अधिकांश कर्मचारी टिकटक स्क्रोल गरेर हास्नमा मस्त थिए। कोही म्यासेन्जरमा च्याट गर्दै व्यस्त थिए। काउन्टरका धेरैजसो कम्प्युटर बन्द थियो। माहोल हेर्दा यस्तो लाग्थ्यो उनीहरू कर्मचारी नभएर समय कटाउन पुगेका फुर्सदिला मानिस हुन्। आफन्तलाई पार्सल तथा चिठ्ठीपत्र पठाउन फाट्टफुट्ट आउने सेवाग्राही भने काम नबनेर गेटबाटै फर्किन्थे।
ओरालो लाग्दै हुलाक
पछिल्ला तीन वर्षमा हुलाकको राजस्व घट्दो क्रममा छ। हुलाकले आर्थिक वर्ष २०७५÷७६ मा ९ करोड ६६ लाख १ हजार ६ सय ४० रुपैयाँ राजस्व उठाएको थियो। आर्थिक वर्ष २०७६÷०७७ मा ५ करोड ७६ लाख ३ हजार ७८० रुपैयाँ संकलन गर्यो। चालू आर्थिक वर्षमा भने राजस्व संकलन न्यून छ।
अहिले बन्द छ !
‘तीन दिनपछि फिनल्यान्ड उड्नु छ’ भन्दै हत्तारिँदै हुलाक पुगेकी थिइन्, अनामनगरकी सविना भण्डारी। उनको लगेज २० केजीभन्दा बढी भएछ। जाडोको सामान
हुलाकमार्फत पठाउन उनी १२:१५ मा हुलाक पुगेकी थिइन्। तर, कार्यालय सेवा भने सुरु भएको थिएन।

महाराजगन्जस्थित एक आईएनजीओमा काम गर्ने महेन्द्र नेपाली झोलाभरी डकुमेन्ट बोकेर हुलाक कार्यालय पसे। १२:३० मा भेटिएका उनलाई केही अफिसियल कागजात डेनमार्क पठाउनुपर्ने थियो। पहिलो तला उक्लँदा उक्लदै एक कर्मचारीले उनलाई भने ‘अहिले बन्द छ’।
सटर तानेर रमाइलो
पछिल्लो समय हुलाकको सेवा ढिला हुने गरेको आममानिसको बुझाइ छ। तारेख, पेसी तोकिएका अदालती कागजात मिति सकिएपछि मात्रै सम्बन्धित ठाउँमा पुग्दा काम नलाग्ने भएको आमगुनासो छ।
अघिल्लो वर्ष साइकोलोजिस्ट राजकुमार प्याकुरेल कामको शिलशिलामा ब्राजिल जानुपर्ने थियो। आयोजकले आवश्यक कागजात हुलाकमार्फत पठायो। ५ दिनअघि दूतावासमा भिसा लगाउन जानुपर्ने थियो। तर कार्यक्रम सुरु हुने तीन दिनअघि मात्रै राजकुमारको हात पर्यो। दूतावासले भिसा नै दिएन। उनी ब्राजिल जानबाट वञ्चित भए।
दिउँसो २ बजे नै हुलाक कार्यालय सुनशान बन्यो। काउन्टरका सटर तानियो। डिल्लीबजार हुलाकमार्फत ७७ वटा जिल्ला र विदेशमा चिठ्ठी र सामान जान्छन्। आउँदा पनि यहीँ आउँछन्। कार्यालयका प्रवक्ता तथा सुचना अधिकारी केसी भन्छन्, ‘ढिलो भयो भने हुलाकले उल्टै सेवाग्राहीलाई जरिवाना तिर्नुपर्ने नियम छ।’

नेपालमा हुलाक
वि.सं. १९३५ मा नेपाल हुलाक घरको स्थापना भयो। तत्कालीन राणा प्रधानमन्त्री रणोदीप सिंहको पालामा चिठ्ठीपत्रमार्फत खबर, सूचना र समाचार आदान–प्रदान गर्ने उद्देश्य राखिएको थियो। सन् १९७४ मा नेपालले विश्व हुलाक संघको सदस्यता पायो। त्यसपछि विश्व मञ्चमा नेपालको हुलाक सेवाकोे पहुँच सम्भव भयो।
सेवालाई थप व्यवस्थित, प्रभावकारी र जनमूखी बनाउन २०१९ मा हुलाक सेवा ऐन ल्याइयो। सुरुमा हुलाकले चिठ्ठीपत्र मात्रै ओसारप्रसार गथ्र्यो। अहिले पुलिन्दा सेवा, हुलाक बचत बैंक सेवा, धनादेश सेवा, ईएमएस सेवा उपत्यका घुम्ती सेवा, ट्रयाकिङ सेवालगायतका काम थपिएका छन्। देशभर ४ हजार बढी हुलाक कार्यालयहरू छन्। करिब १७ हजार जनशक्ति छ।
प्रतिक्रिया दिनुहोस !