कविको नाटकीय बिहे
कविता अर्थात् कविको भाव। कविमा कविता स्फुरित हुन्छ। यस अर्थमा कवि मूल हो। तर त्यो मूल प्रेमको छिनोले नछुँदासम्म नफुट्दो रहेछ ! त्यसैले क्रम यही नै हो– कवि, प्रेम अनि कविता। यही कुरा कवि दुर्गालाल श्रेष्ठको कवित्वमा पनि लागू हुन्छ। विभिन्न भाषामा अनुदित उनका प्रतिनिधि कविताका संग्रहहरूमा यही कविता पहिलो पृष्ठमा भेटिन्छ, तिमी बिन्दु, म पनि बिन्दु...। यो कविता फुर्नुको कारण थियो– उनी कसैको प्रेममा परेका थिए। तर उनी विश्वस्त थिएनन् कि प्रेम सफल हुने हो वा होइन। एक त उनको घरको आर्थिक अवस्था कमजोर थियो। आफ्नो कमाइ पनि भइसकेको थिएन। हुन त प्रेम दुईतर्फी नै थियो तर उनी जसको प्रेममा परेका थिए, उनलाई अन्तैबाट माग्न आइसकेका थिए। त्यस्तो अनिश्चितताको अवस्थामा फुरेको कविता थियो त्यो। त्यो कविता कविकी धर्मपत्नी पूर्णदेवी श्रेष्ठको सन्दर्भमा नै थियो। अन्ततः प्रेमविवाह त भयो तर अनौठो किसिमले, सफलता र असफलताबीच लुकामारी खेल्दै।
प्रेमिकाको विवाहमा दाइजो दिन जाँदा
पूर्णदेवी दुर्गालालकै किशोरकालका साथी दर्शनदासकी बहिनी हुन्। दर्शन आफैं पनि दुर्गालालकै नाटक मण्डलीका सदस्य थिए। उनी गीत लेख्थे, लय हाल्थे र गाउँथे पनि। वासु पासाले लेखेको नेपाल भाषाको लोकप्रिय गीत ‘वामायावावा’ दर्शनकै लय हो। उनीहरू नजिकका साथी थिए। त्यसैले दुर्गालालको पूर्णदेवीसँग चिनजान पहिल्यैदेखि थियो। एक अर्काप्रति अव्यक्त आकर्षण पनि। केही हेराहेर पनि भएको थियो तर प्रेम भनेर नजिकिएर हेलमेल भएको चाहिँ थिएन। गायक भृगुराम श्रेष्ठ र दर्शनदासको घर आमुन्नेसामुन्ने थियो। दुर्गालाल अनन्य मित्र भृगुरामको घरमा गइरहन्थे। त्यस घरको झ्यालबाट बेलाबेला पूर्णदेवी देखिन्थिन्। त्यतिखेर भृगुराम उनलाई जिस्क्याइरहन्थे। साथीको नियमित जिस्क्याइबाट उनको मनमा पूर्णदेवीप्रति प्रेम पलाउँदै गयो।
प्रेम भएपछि अब मगाउन पठाउनु प¥यो। नभए त अरूले नै माग्न आउन पनि सक्थ्यो। दुर्गालालको मनमा दिनरात कुरा खेल्न थाल्यो। काम र आम्दानी केही नभएकाले उनले यो कुरा घरमा उठाउने साहस नै गर्न सकेनन्। उनले पूर्णदेवीको घरमा विवाहको कुरा राख्ने आँट गरेनन्। कहिलेकाहीं दुईजनाको देखादेखा हुँदा पूर्णदेवीको आँखाले भनिरहेको हुन्थ्यो– खै, माग्न पठाउने होइन ? जवाफमा दुर्गालालको आँखामा विवशता झल्किन्थ्यो। महिनादिन यत्तिकै बित्यो। अन्ततः पूर्णदेवीलाई अन्तैबाट माग्न आए। भोजको निम्तो–पत्र पनि दुर्गालालको घरमा पुग्यो। उनी हातमा दाइजो बोकेर भोज पनि गए। तर उनलाई भोज खाइरहन सकुँला जस्तो लागेन। बिरामीको निहुँ बनाई उनी दाइजो मात्रै दिएर फर्के। के–गरुँ, कसो–गरुँले लखेटिँदै हतप्रभ दुर्गालाल कुन स्थितिमा घर पुग्छन् उनैलाई थाहै भएन। दुर्गालालको पहिलो प्रकाशित कृति ‘झसुका’ (उच्छ्वास) का विरहले भरिएका अधिकांश कविता त्यसैताका रचिएका हुन्। उनले लेखे– प्रिय म गाउँछु लौ तिमीले ताल द्यौ उच्छ्वासको, झल्कियोस् त्यो गीतभित्रै बिम्ब भित्री जलनको...।
ख्वबिलु कवि
त्यसबेला भाषाप्रेमी प्रेमबहादुर कंसाकारको घरमा बरोबर साहित्यिक गोष्ठीहरू भइरहन्थे। युवा पिँढीका लेखकमध्ये कसैले निबन्ध, कसैले कविता पाठ गर्थे। किशोर दुर्गालाल पनि त्यस गोष्ठीमा कविता लिएर जान थालेका थिए। यसरी उनको विस्तारैविस्तारै साहित्यकारहरूसँग परिचय बढ्दै थियो। उनका रचनाहरू राम्रा भएकाले उनीभन्दा जेठाबाठा साहित्यकारहरूले उनको प्रशंसा गर्थे, प्रोत्साहन दिन्थे। आफ्नो प्रेमिकाको अन्तै विवाह हुन आँटेको र आफू निरीह हुँदा उनले रच्ने गीत, कवितामा विरह नै बढी सुनिन थालेको थियो। विरह व्यथाले भरिएका कविता सुनाउने गरेकाले प्रेमबहादुरले टिप्पणी गर्दै भने– ‘दुर्गालालको कविता साह्रै मार्मिक छ। मान्छे त ‘ख्वबिलु’ (रुन्चे) नै रहेछ।’
साहित्यिक समूहले त्यो शब्द यसरी टिपे र प्रचार गरे कि ‘ख्वबिलु’ उनको उपनाम सरह नै हुनपुग्यो। प्रेसका साथीहरूले ‘ख्वबिलु’ उपनाम जोडेर छापिदिन थाले। तर अरूले त्यति साह्रै रुचाएको त्यो उपनाम उनले भने स्वीकारेनन्। उनले आफैँ परिचय दिनु पर्दा कहिल्यै पनि ‘ख्वबिलु’ शब्दको प्रयोग गरेका छैनन्। उनले कहिल्यै आफ्नो पुस्तकमा ‘ख्वबिलु’ नाम उल्लेख गरेनन्। अरूले ‘ख्वबिलु’ भनेर छाप्दा त्यसको मौखिक वा लिखित प्रतिकार पनि गरेका छैनन्। तैपनि उनले नअँगालेको यो उपनाम वास्तवमा उनको नामभन्दा धेरै लोकप्रिय भइदियो। अझै पनि नेवार समुदायमा धेरै मान्छेलाई दुर्गालालभन्दा कुन कविको नाम हो भनेर थाहा नहुन सक्छ। ख्वबिलुभन्दा कवि भनेर चिनिहाल्छन्।
अनौठो विवाह
विवाहको सबै रीतिरिवाज सकेर पनि पूर्णदेवी दुलहाको घर जान मानिनन्। दुर्गालालले साथीहरूबाट के थाहा पाए भने उनले दुलहाको घर नजाने नै निर्णय गरिन्। त्यसपछि उनका आत्मीय साथीहरूले दुर्गालाललाई ‘तिमीलाई मन पराएरै उसले नजाने निर्णय गरेकी हो। अब तिमीले उसलाई स्वीकार्नुपर्छ’ भने। दुर्गालाल बाध्यात्मक अवस्थामा परे। दुर्गालालले पद्मरत्न तुलाधरको बुवाको घरमा बच्चालाई पढाउने गरेका थिए। पारिश्रमिक माग्न जाँदा झन्डै २५ रुपैयाँ पाए। त्यसबेला त्यति पैसा भनेको सानो थिएन। त्यही रकम लिएर साथीहरूको सहयोगमा उनी पूर्णदेवीलाई भगाएर भक्तपुरको एउटा घरमा बस्न गए। उनीहरू लुकेर बसेको घर भक्तपुरको दत्तात्रेय मन्दिरको उत्तरतिर थियो। अहिले पूर्णदेवी सम्झन्छन्– आफ्ना दाइका साथीहरू उनीहरूलाई खोज्न आउँथे। दुवैजना भने आफू बसेको कोठाको आँखीझ्यालबाट हेर्दै गर्थे। ‘भेट्न त भेटाओस्, खुट्टा भाँच्नुपर्छ त्यसको’ भन्दै गरेको पनि सुन्थे। उनीहरूलाई भने तिनका कुरा सुनेर हाँसो उठ्थ्यो। खोज्न आउनेले उनीहरू बसेको घर पत्ता लगाउन सकेका थिएनन्।
दुर्दान्त विजोग
त्यहाँ बसेको भोलिपल्ट बिहान एउटा साथी बधाई दिन भेट्न आयो। दुर्गालालले हाँस्दै बधाईको जवाफमा धन्यवाद पनि भने। तर त्यो हाँसोभित्र आँसु टल्पलाइरहेको थियो। दुर्गालालले आँसु पुछेको असफल प्रयास गरेको देखेर साथी अवाक् हुँदै टोलाए। त्यो आँसुको कारण अर्कै थियो। त्यो घटना सम्झेर उनी भन्छन्, ‘त्यस्तो दुर्योग कि प्रेमीको अधर चुम्बन प्रेमिकाले स्वीकार नगरेको ! पटकपटकको प्रयासमा पनि त्यसबाट बिच्किनु परेको दुर्गालालको त्यो दशा भोग्ने प्राणी सायद दुर्गालाल मात्र होलान् संसारमा।’ तैपनि उनले पुरुषको अहंकार बलात्कार गरेनन्। एउटा पुरुषको निमित्त यो असह्य प्रहार थियो, तैपनि दुर्गालालले त्यसलाई सही दिए।
आफूमाथि विजय पाउनु जत्ति गाह्रो छ, दुर्गालालका निमित्त त्यो पराजय त्योभन्दा कष्ट साध्य थियो। दुर्गालाल त्यो परीक्षामा उत्तीर्ण भए कि उनले प्रेमिकाको त्यो अनिच्छामाथि कुठाराघात गरेनन्। त्यही दिन डेराबाट निस्केर उनी किनकिन काठमाडौंतिर सोझिए। यस्तो डामाडोल मनस्थिति थियो उनको कि फेरि डेरा सम्झेर नफर्कु। त्यसको अर्थ हुन्थ्यो, उनले वरण गरिसकेकी श्रीमतीलाई चटक्कै छोडिदिनु। आइसकेकी नारीलाई अलपत्र पार्नु उनको विवेकले सकेन। त्यसैले फेरि उनको पाइला विवशतापूर्वक काठमाडौंबाट भक्तपुरको डेरातिर मोडियो। वातावरण साम्य भयो। बिनाचुम्बन पनि प्रेम सम्भव भएको यथार्थ दुर्गालालबाटै देखियो। प्रेम लैला–मजनुको मात्र होइन, पूर्ण–दुर्गाको पनि रहेछ !