बृहत सिंचाई परियोजना सुरु
जोमसोम : गण्डकी प्रदेश सरकारअन्तर्गत खानेपानी, जलश्रोत तथा सिंचाई सव डिभिजन कार्यालय मुस्ताङले लोघेकर दामोदरकुण्ड-३ घीलिङमा बृहत घीलिङ गाउँ सिंचाई परियोजनाको काम सुरु गरेको छ। गण्डकी प्रदेशको ५ करोड ४३ लाख लागत स्टिमेट मध्ये निर्माण कम्पनीले ४ करोड ३४ लाखमा ठेक्का सम्झौता गरी निर्माणको काम अघि बढाएको हो।
समुन्द्री सतहदेखि करिव ४३ सय मिटर अग्लो उचाईमा अवस्थित भेना खोलाको मुहानबाट पाईप लाईन बिच्छ्याएर सिंचाई बिस्तार गरिने खानेपानी, जलश्रोत तथा सिंचाई सव डिभिजन कार्यालय मुस्ताङले जनाएको छ। सो सिंचाई परियोजना निर्माणको जिम्मा थोदुङ बुद्ध हिमाली जेभी कन्ट्रक्सनले लिएको हो। भेना खोलादेखि घीलिङसम्मको ५ दशमलव ७ किमी अर्थात ५ हजार ७ सय ३३ मिटर लामो पाईप लाईन बिछ्याएर घीलिङको खेतीयोग्य जमिनमा पानी सप्लाई गरिने निर्माण कन्ट्रक्सनका प्रतिनिधि ओम रोक्काले जानकारी दिए। उनका अनुसार भेनाको दुईवटा खोलाको पानी एकै ठाउँमा ल्याउन ३ वटा सिंचाई बाँध निर्माण गरिने निर्माण प्रतिनिधि रोक्काले बताए।
दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माण कन्ट्रक्सनले परियोजनाको सम्झौता गतवर्षको असार २६ गरेको थियो। योसँगै कन्ट्रक्सनले चालु वर्षको श्रावणदेखि नै सिंचाई बिस्तारको लागि पाईप लाईनको ट्र्याक सुरु गरेको कन्ट्रक्सनका प्रतिनिधि रोक्काले जानकारी दिए। उनका अनुसार अहिलेसम्म ५ दशमलव ७ किमी पाईप लाईन ट्र्याक मध्ये ४ किमी ट्र्याक खोल्ने काम भईरहेको अब १ दशमलव ७ किमी ट्र्याक खोल्न बाँकी रहेको छ। यस्तै ,परियोजनाअन्तर्गत घीलिङ गाउँको खेती गर्ने भुभागको वरिपरी २ सय ८४ मिटर आरसिसी कुलो निर्माण गरिने छ। परियोजना समयमै सम्पन्न गर्ने लक्ष्यका साथ झन्डै ३ दर्जन मजदुर र उपकरण व्यवस्थापन गरिएको निर्माण कन्ट्रक्सनको भनाई छ।
उपल्लो मुस्ताङको घीलिङ गाउँ कृषि र पशुपालनले महत्वपूर्ण मानिएको छ। घीलिङमा सिंचाई परियोजना सम्पन्न भएमा त्यहाँका ६८ घरधुरीका किसान प्रत्यक्ष लाभान्वित हुने वडाध्यक्ष सम्तेन धावा गुरुङले जानकारी दिए। कृषि क्षेत्रको प्रचुर सम्भावना रहेपनि घीलिङमा भरपर्दो सिंचाई को व्यवस्था नहुँदा स्थानीय किसानले निकै सास्ती भोग्न बाध्य परेको वडाध्यक्ष गुरुङको भनाई छ। ‘केही वर्ष सिंचाई नहुँदा किसानको अन्नबाली खेतमा मर्न पुगेको थियो, अहिले ३ वटा पोखरीमा पानी संकलन गरी सिंचाई जोहो गरेका छौं, वडाध्यक्ष गुरुङ थपे,‘ प्रदेशले हाम्रो गाउँमा सिंचाई परियोजना अघि बढाउदा खुसी छौं, परियोजनापछि बिगतको जस्तो दुःख र सास्ती वेहोर्न पर्देन ।’ उनले गण्डकी प्रदेश सरकारले बृहत सिंचाई परियोजना अघि बढाएपछि स्थानीय किसान उत्साहित भएको बताए।