चाइना फाउण्डेसनले बाड्यो मुस्ताङका विद्यार्थीलाई शैक्षिक सामग्री
जोमसोम : मुस्ताङको घरपझोङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका ५ सय २८ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ। काठमाडौंस्थित फाउण्डेसन फर पोभेटी एलिभियसनको आर्थिक सहयोग तथा राष्ट्रिय अपाङ्ग पुनस्थापना समाजको समन्वयमा विद्यार्थीलाई १/१ थान झोलासहित शैक्षिक सामाग्री वितरण गरिएको हो।
सन् २०१६ देखि नेपालका विभिन्न विद्यालयहरुमा फाउण्डेसन अफ पोभेटी एलिभियसनले शैक्षिक सामाग्री वितरण गर्दै आइरहेको छ। फाउन्डेसनले छनोट गरेका विद्यालयहरुमा प्रत्येक दुई वर्षमा शैक्षिक सामाग्री वितरण गर्ने गरिएको नेपाल—चाईना एक्जिक्युटिभ काउन्सिलका उपाध्यक्ष राजेश उपाध्यायले जानकारी दिए।
उनका अनुसार यसवर्ष २४ जिल्लाका ३३ हजार ३ सय ३५ जना विद्यार्थीलाई विद्यालय लैजाने झोलासहित शैक्षिक सामाग्री वितरण गर्ने लक्ष्य रहेको बताए। उनका अनुसार फाउन्डेसनको सहयोगमा राष्ट्रिय अपाङ्ग पुनस्थापना समाजले अधिकांश जिल्लामा झोलासहित शैक्षिक सामाग्री वितरण गरिसकेको र केही जिल्लामा वितरण गर्न बाँकी रहेको छ।
मुस्ताङका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गर्ने उद्देश्यले चाईना फाउन्डेसन फर पोभेटी एलिभियसनकी निर्देशक जाओ चिछाङ, नेपाल —चाईना एक्जिक्युटिभ काउन्सिका राजेश उपाध्याय, राष्ट्रिय अपाङ्ग पुनस्थापना समाजका कार्यक्रम सयोजक दिपक रेग्मी र गरिबी निवारण फाउण्डेसनकी निर्देशक नुजा मानन्धरसहितको टोली आइतबार मुस्ताङ आएको थियो। सो टोलीले मुस्ताङको घरपझोङ गाउँपालिका अन्तर्गतका ७ विद्यालय र लोघेकर दामोदरकुण्ड गाउँपालिका अन्तर्गतका ३ विद्यालयलाई पढ्ने विद्यार्थीलाई झोलासहित शैक्षिक सामाग्री वितरण गरेको हो। राष्ट्रिय अपाङ्ग पुनस्थापना समाजका कार्यक्रम सयोजक दिपक रेग्मीले मुस्ताङका विद्यार्थीलाई झोलासहित १८ प्रकारको शैक्षिक, सरसफाई र माक्स वितरण गरेको जानकारी दिए।
उत्तरी चिनको स्शासितक्षेत्र तिब्बतसँग सीमाना जोडिएको मुस्ताङमा विभिन्न विदेशी संघसंस्थाहरुले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन,पुर्वाधार निर्माण र गुम्बाहरुमा अनुदान सहयोग र लगानी गर्ने गरेको पाइएको छ।