सौराहामा दसैंको चहलपहल

सौराहामा दसैंको चहलपहल

चितवन : लामो समय बन्द भएका चितवनका पर्यटकीय होटलमा केही आशा देखिएको छ। दसैं सुरु हुन लाग्दा केही होटलहरूमा बुकिङ सुरु भएको छ। तर, केहीमा अझै सुधारको संकेत छैन। चाडपर्वमा हुने बिदाको सदुपयोग गर्न सौराहा घुम्न होटलहरू बुकिङ हुन थालेका छन्। केहीमा आन्तरिक पर्यटकबाटै प्याकेजसहितको अग्रिम बुकिङ गर्न थालेका छन्। 

कोरोनाका कारण दुई वर्षसम्म होटल व्यवसाय नराम्ररी प्रभावित बन्यो। यस वर्ष बुकिङ सुरु भएपछि पर्यटन व्यवसायी उत्साहित छन्। किनभने दसैं नजिकिँदै गर्दा चहलपहल बढ्न थालेको छ। साधारण लयमा फर्कनेमा व्यवसायी आशावादी छन्। सौराहाको होटल मोनालिसाका सञ्चालक केशव खनालले ३ महिनाका लागि बुकिङ सुरु भएको बताए। ‘बुकिङ आइरहेको छ। मान्छे पनि बढिरहेका छन्।  अहिलेसम्म डिसेम्बरसम्मका लागि बुकिङ खुलेको छ,’ खनालले भने, ‘परिवार÷परिवार मिलेर ग्रुप बुकिङ गरेका छन्। यसले अब पर्यटन पुरानै लयमा फर्कन्छ भन्ने देखिएको छ।’ उनको होटलमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था, पारिवार भ्रमणका लागि बुकिङ भएको उनले बताए। 

अन्तर्राष्ट्रिय पर्यटक तत्काल नआएपछि आन्तरिक पर्यटक आउनेमा आशा देखिएको छ। दुई वर्षअघि अक्टोबरदेखि नोभेम्बरसम्म सौराहाका होटलहरू भरिभराउ हुन्थे। कोरोनाका कारण कारण २ वर्ष होटल व्यसवाय ठप्प जस्तै बन्यो। कतिपय व्यवसायी भने बुकिङ उत्साहजनक नभएको गुनासो गर्छन्। ‘बुकिङ भनेर खासै उत्साहजनक जस्तो छैन’ होटल ल्यान्डमार्कका सञ्चालक ओम पाण्डेले भने, ‘अहिलेसम्म केही कन्फ्रेन्सले धानेको छ। तर, अहिले बुकिङ खासै भएको छैन। भर्खर दसैं सुरु हुन लागेकाले पर्यटक आउलान् भन्ने आस छ। ’ 

चाडपर्वको माहोल सुरु भए लगत्तै माहोल बन्ने व्यवसायीले बताए। दसैंपछि बिदा मनाउन पारिवारिक घुमघाममा बढी आउँछन्। असोजदेखि पर्यटनको सिजन मानिन्छ। बिदाको समयमा चितवन आउनेमा आन्तरिक पर्यटक बढी हुन्छन्।  सुस्ताएको चितवनको पर्यटन उकासिनेमा व्यवसायीले आशा गरेका छन्। लामो समयसम्म चहलपहल नहुँदा व्यवसाय धान्न मुस्किल परेको छ। लकडाउनका कारण आन्तरिक पर्यटकसमेत आउन पाएनन्। ‘पहिला व्यवसाय बन्द थियो ताल्चा लगाएको ब्यवसाय विस्तारै उकासिँदै छ,’ होटल पार्क सभारीका सञ्चालक महेश खनालले भने, ‘व्यवसाय खुलेपछि बुकिङ सुरु भएको छ। हामी उत्साहित छौं।’

केही वर्षअघि दसैं तिहारको बीचमा पर्यटकको चहलपहल हुन्थ्यो।  कोरोनाको जोखिमले विदेशी पर्यटक आउन सकेका थिएनन्। यसपटक लकडाउन खुलेपछि आन्तरिक पर्यटन आउन थालेका छन्। क्षेत्रीय होटल संघका निवर्तमान अध्यक्ष रहेका होटल जंगल सफारी लजका सञ्चालक सुमन घिमिरेले बुकिङको अवस्था मध्यम रहेको बताए। ‘दसैंमा आफ्नै घर जान चाहने बढी हुन्छन्,’ उनले भने, ‘दसैंपछि तिहारको आसपासमा पर्यटक आउने समय हो। त्यसमा केही सुधार होला भन्ने लागेको छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.