प्रेम दिवसमा सौराहामा निम्तो
पर्यटकीय नगरी सौराहा अहिले सुनसानजस्तै छ। व्यवसायमा हुने मन्दीले हैरानी बेहोरेका होटल तथा रेस्टुरेन्ट व्यवसायीले पर्यटक तान्न फरक फरक समयमा महोत्सव आयोजना गर्दै आएका गर्छन्। पुस दोस्रो साता क्षेत्रीय होटल संघले हात्ती महोत्सव गरेको थियो। अहिले रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल रेवान सौराहाले सौराहामा फुड फेस्टिवलको तयारी थालेको छ। भ्यालेन्टाइन डेको अवसरमा रेस्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल सौराहाले हरेक वर्ष फुड फेस्टिवल आयोजना गर्दै आएको छ।
माघ २८ देखि फागुन ३ गतेसम्म हुने खाना महोत्सवका लागि रत्ननगर नगरपालिका ७ मा रहेको सिसुवार खेल मैदानलाई सिँगार्न थालिएको छ। पर्यटक तान्नकै लागि सौराहामा फुड फेस्टिवलको आयोजना गरिएको रेवान सौराहाका अध्यक्ष गोकर्ण गिरीले बताए। ‘पर्यटकीय गतिविधि बढाउन हामी व्यवसायी नै लागेका हौं’, गिरीले भने ‘फुड फेस्टिवलका कारण सौराहामा छुट्टै रौनक आउने गरेको छ।’
डिसेम्बर सुरु भएसँगै पर्यटक आगमन कम हुन्छ। जाडोको मौसममा पर्यटक आगमन कम हुने गर्छ। पर्यटनको अफ सिजनलाई ख्याल गरेर सौराहामा फुड फेस्टिवल गरिन्छ। सिसुवार मैदानमा विभिन्न परिकारका खानाका स्टल महोत्सवस्थल घेरिएको हुन्छ। खुला चौरमा स्थानीय र विदेशी परिकारका खाना राखिनेछ। खानाको स्वादमा रमाउन आन्तरिक पर्यटक बढी आउेने गर्छन्। खाना महोत्सवकै कारण एक हप्तामा सौराहामा चहलपहल बढ्ने रेवानका पूर्वअध्यक्ष लालबहादुर भट्टले बताए। ‘पर्यटक शून्य हुने समयलाई मौका छोपेर हामीले महोत्सव सुरु गरेका हौ’, भट्टले भने, ‘खानाको स्वादले पर्यटकलाई निम्तो गर्ने हाम्रो परम्परा नै छ।’ प्रेम दिवसमा युवा बढी रमाउने गर्छन्।

यसपटक १३औं संस्करण हो। खानाको स्वादसँगै दर्शकलाई संगीतमा रमाउन पाउने व्यवस्था गरिन्छ। फुड फेस्टिवलको आकर्षक पक्ष सांगीतिक माहोलमा रमाउने हो। मनोरन्जनका लागि सांगीतिक उत्सव नै गरिन्छ। सांस्कृतिक कार्यक्रमलाई प्राथमिकता दिइएको छ। पाँच दिनसम्म राष्ट्रिय तथा स्थानीय कलाकारको सांगीतिक प्रस्तुति रहन्छ। ‘खानाको स्वाद र संगीतको तालमा रमाउने महोत्सव बनाउन खाजेका छौं’, सांस्कृतिक समितिका संयोजक समेत रहेका रेवानका सचिव विनोद लोप्चनले बताए। ‘फुड फेस्टिवलको महत्त्वपूर्ण पक्ष भनेको सांगीतिक पाटो हो’, उनले भने, ‘दर्शकका लागि उनीहरूको रोजाइअनुसार कलाकार बोलाएका छौं।’
फुड फेस्टिवलको आयोजनाले सौराहा सिँगारिन्छ। महोत्सवमा करिब ४० वटा खानाका स्टल राखिने आयोजकले जनाएको छ। विभिन्न जनजातीका खानाका परिकार राखिएको छ। फुड फेस्टिवलको अवधिभर रेवानमा आबद्ध रेस्टुरेन्ट र होटेलमा छुटको व्यवस्था गरिएको छ। २०६३ सालदेखि सौराहामा हरेक वर्ष फुड फेस्टिवल गरिँदै आएको छ। महोत्सवबाट हुने आम्दानीलाई सामाजिक काममा लगानी गर्ने रेवानले जनाएको छ। पर्यटकीय आकर्षका लागि यसपटकको महोत्सवलाई फरक पारिएको महोत्सवका संयोजक ध्रुव गिरीले बताए। ‘सौराहाको ब्रान्डको रूपमा महोत्सवलाई स्थापित गर्न लागेका हौं’, उनले भने ‘पर्यटक रमाउने वातावरणका लागि तयारी तीव्र पारेका छौं।’
यसपटक रत्ननगरस्तरीय भलिबल, पर्यटक दौड, वेटर रेससँगै फरक क्षमता भएका बच्चालाई खाना खुवाउने कार्यक्रम छ। एक सय दश होटल रहेको सौराहामा करिब ६० रेस्टुरेन्ट छन्। फेस्टिवल फागुन ३ गतेसम्म चल्नेछ।
प्रतिक्रिया दिनुहोस !