सेयर बजार दिनदिनै ओरालो यात्रामा
काठमाडौं : बजेट घोषणापछि ओरालो यात्राको सेयर बजार असारको दोस्रो सातामा आइपुग्दा पनि रोकिएको छैन। यस साता ५ दिन सेयर कारोबार भएकोमा नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ५ दिनै घट्यो। अघिल्लो साता पनि सेयर बजार घटेकै थियो।
अघिल्लो साता कारोबारको अन्तिम दिन शुक्रबार २७०२.११ अंकमा बन्द भएको नेप्से यस साता सेयर कारोबारको पहिलो दिन सोमबार सामान्य अंकले घट्यो। त्यसदिन नेप्से १.४६ अंकले घटेर २७००.६५ विन्दुमा झ¥यो। त्यसपछिका सबै दिन नेप्से घट्यो। मंगलबार २६.१६ अंक, बुधबार १४.४५ अंक र बिहीबार ८.५० अंकले घट्यो। सेयर कारोबारको अन्तिम दिन शुक्रबार २ अंकले घटेर नेप्से २६४९.५१ विन्दुमा आइपुग्यो।
सातामा पाँचै दिन नेप्से घट्दा ५२.५७ अंकले घट्न पुग्यो। अघिल्लो साता पनि नेप्से २३.६३ अंकले घटेकै थियो। यस सातामा बुधबार न्यून विन्दु २६३३.९३ मा र सोमबार उच्च विन्दु २७१९.१६ अंकसम्म मात्रै नेप्से बढेर सेयर कारोबार भयो।
साताकै सबैभन्दा कम बुधबार र बिहीबार ३ सय ३८ वटा कम्पनीको कारोबार भएकोमा शुक्रबार साताकै सबैभन्दा बढी ३ सय ५९ स्क्रिप्टहरूको कारोबार भयो। अघिल्लो साता बढीमा ३ सय ५५ स्क्रिप्टको कारोबार भएको थियो।
यस साता सबैभन्दा कम बिहीबार २ अर्ब ८८ करोड ८२ लाख र सबैभन्दा बढी सोमबार ४ अर्ब ४४ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भयो। साताभरिमा ५ दिनको कारोबारमा २० अर्ब १ करोड १४ लाख रुपैयाँको सेयर खरिदबिक्री भयो। यसबाट औसतमा दैनिक ४ अर्ब २२ लाख रुपैयाँको सेयर कारोबार भएको देखाउँछ। अघिल्लो साता औसतमा दैनिक ४ अर्ब ९४ लाख रुपैयाँबराबरको सेयर किनबेच भएको थियो। यसले सातामा औसत दैनिक सेयर कारोबार १ प्रतिशतभन्दा कमै घटेको देखाउँछ। अघिल्लो साता पनि औसत दैनिक सेयर कारोबार करिब २६ प्रतिशलले घटेको थियो।
नेप्सेको कुल बजार पुँजीकरण शुक्रबार ४५ खर्ब ३४ अर्ब ६९ करोड रुपैयाँ छ। गत साताको अन्तिम दिन शुक्रबार बजार पुँजीकरण ४६ खर्ब १७ अर्ब ९ करोड रुपैयाँ थियो। साताभरमा नेप्से ५२.५७ घट्दा कुल बजार पुँजीकरण ४२ अर्ब ४० करोड रुपैयाँले घट्न पुग्यो। अघिल्लो साता पनि कुल बजार पुँजीकरण ३७ अर्ब ४५ करोड रुपैयाँले घटेकै थियो।
यस साताभरिका ५ दिनै टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बलिङ हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। स्नो रिभर्सको भने शुक्रबार एकदिन मात्रै सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बुंगल हाइड्रोपावरको भने मंगलबार नकारात्मक सर्किट लेभलमा कारोबार भएको थियो।
सेयर बजारमा सूचीकृत १३ उपसमूह सबै घटे। सेयर बजारमा सूचीकृत १३ उपसमूहमा यस साता म्यानुफ्याचरिङ एन्ड प्रोसेसिङको ३५९.६४ अंकले घटेको थियो। अघिल्लो साता यसै उपसमूहको ५५.१९ अंकले बढेको थियो। यस साता सेन्सेटिभ इन्डेक्स ६.३० अंक, फ्लोट इन्डेक्स ३.३५ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.०६ अंकले घटेका थिए। अघिल्लो साता पनि सेन्सेटिभ इन्डेक्स ३.११ अंक, फ्लोट इन्डेक्स १.२२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स १.०१ अंकले घटकै थिए।
तीन कम्पनी सेयर सूचीकरणको तयारीमा
सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) बाँडफाँड गरी तीन कम्पनी दोस्रो बजारमा सूचीकरणको तयारीमा लागेका छन्। कालंगा हाइड्रो, सानिगाड हाइड्रो र एभरेष्ट कलरले धितोपत्र दोस्रो बजारमा शेयर सूचीकरण प्रक्रिया अघि बढाएका हुन्। ती कम्पनीहरूले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) सँग डीम्याटका लागि सम्झौता गरिसकेका छन्।
कालंगाले र सानिगाडले असार ५ र एभरेष्टले असार ९ गते सीडीएससीसँग सम्झौता गरिसकेका छन्। कालंगाको १ अर्ब ४० करोड, सानिगाडको २ अर्ब ८५ करोड र एभरेष्टको ३० करोड रुपैयाँ बराबरको सेयर सूचिकृत हुने भएको छ।
स्नो रिभर्सको आईपीओ नेप्सेमा सूचीकृत
नेप्सेमा स्नो रिभर्सको आईपीओ असार ११ गते सूचीकृत भएको छ। कम्पनीको ९३ लाख ७५ हजार कित्ता सेयर सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारणमा वितरण गरेको १८ लाख ७५ हजार कित्ता र संस्थापक शेयरधनीहरूले लगानी गरेको ७५ लाख कित्ता गरी ९३ लाख ७५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ। उक्त कम्पनीको सेयर गत शुक्रबार कारोबार २९८.७० बाट सुरु भएर ३४३.५० रुपैयाँमा कारोबार
बन्द भएको छ।
सर्वोत्तम पेन्ट्स आईपीओ बाँडफाँट
सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिजको आईपीओ असार ११ गते बाँडफाँट भएको छ। सर्वोत्तमले सर्वसाधारणका लागि प्रतिकित्ता एक सय रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ५ हजार ५ सय कित्ता सेयर निष्काशन गरेको थियो। सो निष्काशनमा परेका निवेदनमा २८ लाख ५० हजार २५ आवेदन स्वीकृत भए। कम्पनीको आईपीओ ७० हजार ५ सय ५० जनाले १० कित्ताका दरले पाएको ग्लोबल आइएमई क्यापिटलले जनाएको छ।
लगानीकर्ता निष्क्रिय
सेयर बजारका लगानीकर्ता निष्क्रिय बन्दा नेप्से परिसूचकसँगै कारोबार निरन्तर घटिरहेको छ। ठूला लगानीकर्तापछि कर्मचारी र सुरक्षा निकायका अधिकारीले सेयर बेच्ने क्रम बढ्दा नेप्सेमा दबाब परेको हो।
सरकारका एकपछि अर्को गतिविधिले लगानीकर्तामा अन्योल सिर्जना गरेकाले त्यसको प्रभाव बजारमा देखिएको लगानीकर्ताहरू बताउँछन्। लगानीकर्तामा यसको मनोवैज्ञानिक असर देखिएको उनीहरूको भनाइ छ।
उद्योगी व्यापारीदेखि नेताहरूसम्म अनुसन्धानको दायरामा परेका छन्। सरकारले जेठदेखि व्यापारीमाथि अनुसन्धान गरेर सम्पत्ति शुद्धीकरण, बिमा, धितोपत्र र बैंकिङ कसुरमा विशेष अदालत मुद्दा दायर गर्न थालेको थियो। हालै पूर्वअर्थमन्त्री एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पक्राउ गरेको छ। सम्पत्ति शुद्धीकरणको अनुसन्धानसँगै सरकारका विभिन्न गतिविधिले सेयर बजारका सक्रिय लगानीकर्तालाई नै निष्क्रिय बनाएको विश्लेषकहरूको भनाइ छ।
ब्रोकरहरूका अनुसार बजारमा सक्रिय कारोबारीका रूपमा रहेका प्रशासकलगायत सार्वजनिक पदमा बसेकाहरू अहिले सम्पत्ति विवरण बुझाउनुपर्ने दबाबमा परेर धमाधम सेयर बिक्री गरेर बाहिरिएका छन्। निजामती कर्मचारी, प्रहरीलगायत सेयरमा लगानीहरू पनि बाहिरिने क्रममा छन्। बजारमा अहिले ठूला लगानीकर्ता निष्क्रिय बस्नुको कारण सरकारी धरपकड नै हो।
प्रतिक्रिया दिनुहोस !