बडादसैं, कोरोना र स्वास्थ्य
आश्विन शुक्ल प्रतिपदादेखि कोजाग्रत पूर्णिमासम्म मनाइने दसैंलाई ठुलोदसैं, बडादसैं तथा विजयादशमी आदिका नामले सम्बोधन गरिन्छ। वास्तवमा नेपाली समाजमा हिन्दूहरूको महान् चाड बडादसैंको आफ्नै समाजिक, सांस्कृतिक तथा मनोवैज्ञानिक महत्व छ। तर यसपालिको दसैँ कोरोनाका कारण केही भइरहेको छ। यसपटक पोहोर सालको दसैँभन्दा केही खुले पनि मनमा कोरोनाको संशय बिजेको छ। कोरोनाको संक्रमण अझै फैलिरहेकै छ। त्यसैले भौतिक दुरी कायम गरी अन्य सावधानीहरू अपनाउन जरुरी छ। यसपालिको दसैं धुमधामसँग मनाउने अवस्था नरहेको भएता पनि बडादसैंको सकारात्मक पक्ष र बडादसैंको नाममा बढ्दै गएको नकारात्मक पक्षका बारेमा यहाँ चर्चा गरिएको छ।
बडादसैंको सकारात्मक पक्ष
‘बडादसैं’ विजय उत्सवको चाड हो। असुर शक्तिमाथि दैविक शक्तिको जितको रूपमा मनाइने चाड हो। मीठो खाने, राम्रो लगाउने तथा ठुलाबडाबाट सुख र समृद्धिको आर्शिवाद लिने चाड हो। यो चाड पारिवारिक पुनर्मिलन र एकताको चाड पनि हो। दसैंले देशविदेशमा बसोवास गर्ने लाखौं नेपालीहरूलाई नेपाल, आफ्नो परिवार र समाजलाई सम्झाउने गर्दछ। त्यसैले त दसैंमा देशविदेशमा रहेका नेपालीहरू घर फर्किएर धुमधामका साथ दसैँ मनाउने गर्छन्। तर अहिले कोरोनाको कहरका कारण देशविदेशबाट परिवारका सदस्य तथा आफन्तहरू नेपाल फर्केर दसैं मनाउने स्थिति छैन। नेपाल फर्किन नसक्ने अवस्थामा उतै दसैं मनाउने वातावरण पनि छैन।
श्रद्धापूर्वक मान्यजनका अगाडि निधार थापेर बसेको व्यक्तिलाई मान्यजनले निधारमा टीका लगाएर आर्शिवाद दिँदा उसको मस्तिष्क रसायनमा सकारात्मक परिर्वतन देखा पर्छ। यो वैज्ञानिक तथ्य हो।
हिन्दूहरूले मात्र होइन, नेपालका गैरहिन्दूहरू, जसले दसैंको पुजापाठ नगरे पनि तथा टीका नलगाए पनि दसैंमा रंगिएको देशसँग प्रत्यक्षपरोक्ष कुनै न कुनै रूपमा दसैं मनाउने गर्छन्। बडादसैं जस्तो चाड हुदैनथ्यो भने नेपाली समाज अलि खल्लो हुने थियो। दसैँ उदास, निराश र थकित जीवनमा रंग छर्ने उत्सव पनि हो।
मानिसको जीवनमा रंगको ठूलो महत्व छ। त्यो किनभने मानिसको जीवन नै रंगीन हुन्छ। बेरंग जीवन अर्थात् रंग बिनाको जीवन मानिसले सहजपूर्वक जीउन सक्दैन। जीवनमा रंग भएन भने मानिस उदास, निराश र बैचन हुन्छ। दिउँसै चारैतिर निस्पष्ट अँध्यारो देख्छ। उसको आशा मर्छ। विश्वास मर्छ। चाहना मर्छ। उसलाई कुनै कुराप्रति पनि रमाइलो लाग्दैन। मानिस जिउँदो लाश जस्तो हुन्छ। तर जीवनमा रंग भयो भने मानिस खुसी हुन्छ। प्रसन्न हुन्छ। दुःखमा पनि सुखको आशा गर्छ। अँध्यारो पछिको उज्यालोको पर्खाइमा हुन्छ। कालो बादलमा पनि चाँदीको घेरा देख्छ। त्यसैले मनोवैज्ञानिक रूपमा पनि मानिसको जीवनमा रंगको ठूलो महत्व छ। जीवनमा रंगको यही महत्वलाई हृदयंगम गरेर नै हाम्रा पूर्वजहरूले तीज, दसैं जस्ता चाडपर्व, जात्रा तथा उत्सवहरूको आविस्कार गरेका हुन्।
जमरा औषधी पनि हो। जमराको रसलाई त प्राकृतिक चिकित्सामा ग्रीन ब्लड (हरियो रगत) भनिन्छ। मनोवैज्ञानिक रूपमा पूजाप्रार्थनाको उद्देश्य आफूले आफैंलाई सम्मोहित गरी निराशमय मनमा आशा छर्नु हो, अध्यारोबाट उज्यालोबाटोतिर अगाडि बढ्नु हो। क्रोधकी प्रतीक कालीलाई वली दिनुको अर्थ आफुभित्र भएको क्रोधरुपि राक्षसलाई हटाउनु हो। ठुलाबडा तथा मान्यजनबाट निधारमा टीका लगाउनु तथा आर्शिवाद दिनुको मनोवैज्ञानिक अर्थ भनेको मानसिक शक्ति तथा आत्मविश्वास बढाउनु हो।
श्रद्धापूर्वक मान्यजनका अगाडि निधार थापेर बसेको व्यक्तिलाई मान्यजनले निधारमा टीका लगाएर आर्शिवाद दिँदा उसको मस्तिष्क रसायनमा सकारात्मक परिर्वतन देखा पर्छ। यो वैज्ञानिक तथ्य हो।
मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने गरिन्छ। यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने पनि संकेत गर्छ। टीका जसलाई अक्षता पनि भनिन्छ; गाईको दूधको दही, चिनी, जिठोको रातो रंगमा मिश्रण गरिएको चामलको टीका निधारको मध्यभाग आज्ञा चक्रमा लगाइन्छ। यो दुबै आँखीभौंको माझमा हुन्छ। यसलाई तेस्रो नेत्र अर्थात तेस्रो आँखा भनिन्छ। आज्ञा चक्र स्पष्टता र बुद्धिको केन्द्र हो। यसले मानव र दैवी चेतनाको मध्य सीमा निर्धारण गर्छ। यसको अर्थ ठूलाबडा, मान्यजनले हामीलाई धन, बुद्धि, स्वास्थ्य सबै कुराले सर्वसम्पन्न बन्न प्रेरित गर्दै त्यसका निम्ति तेस्रो आँखा खुला राख भनेको हो।
टीकालाई चेतनासँग जोडेर पनि हेर्ने गरिन्छ। साथै, रातो र सेतो टीका शान्ति एवं समृद्धिका प्रतीक हुन् भनिन्छ। यसले मस्तिष्क, मन र विचारलाई शुद्ध चेतनायुक्त तुल्याउँछ भन्ने विश्वास गरिन्छ। आफ्नो घरमा टीका लगाएर आफन्तजनहरूकोमा पनि टीका ग्रहण गर्ने चलन छ। टीका लगाउने काम पूर्णिमासम्म जारी रहन्छ।
नकारात्मक पक्ष
दसैंका पनि नकारात्मक पक्षहरू छन्। हिजोआज दसैंका नकारात्मक पक्षहरू बढ्दै गएका छन्। दसैंमा व्यापारीकरण भएका कारण हुनेखाने, केटाकेटी तथा युवायुवतीहरूका लागि दसैंले जति रमाइलो लिएर आएको हुन्छ, निम्न तथा निम्नमध्यम परिवारका घरमुलीका लागि दसैंले दाम (पैसा) जोगाडको पिरोलो पनि लिएर आएको हुन्छ।
हरेक वर्ष दसैंको मुखमा बाढीपहिरोका कारण घरवारबिहीन भएका हजारौं मानिसहरूका लागि त दसैं दशा जस्तै हुन्छ। कसैले केही सहयोग गर्छ कि भन्ने आशामा नै उनीहरूको दसैं बित्छ।
दसैंमा देशविदेशमा रहेका नेपालीहरूलाई आफ्नो घर फर्किने निकै धपेडी हुन्छ। त्यसैले समयमा घर पुग्न मानिसहरूले निकै जोखिमपूर्ण यात्रा गरेको देखिन्छ। यस्ता जोखिमपूर्ण यात्राले गर्दा नै दसैंका मुखमा थुप्रै सवारी दुर्घटनाहरू हुँदै आएका छन्। भर्खरै मात्र पनि मुगुमा ३२ जनाको ज्यान जाने गरी बस दुर्घटना भएको छ। मुलुकभर सयौँको हाराहारीमा दसैँ मनाउन घर फर्कदै गरेका दाजुभाइ तथा दिदीबहिनीहरूले सवारी दुर्घटनामै ज्यान गुमाइसकेका छन्। यसका साथै यस्ता चाडपर्वहरूमा मादक पदार्थको सेवन गरेर सवारी चलाउँदा पनि निकै दुर्घटनाहरू हुने गर्छन्। खास गरी मोटरसाइकल दुर्घटनाहरू निकै हुने गर्छन्।
दसैंमा मानिसहरूले पोलेको, भुटेको, तारेको मासु लगायतका थरीथरीका परिकारहरू प्रसस्त खाने गर्छन्। मासु लगायतका यस्ता परिकारहरू प्रायः बासी हुन्छन्। टीकाको दिनमा त मानिसहरू टीका थाप्दै बीसौं ठाउँमा खादै हिँड्ने गर्छन्। यसरी जथावी कोचीकोची खाँदा अपच भई बिरामी पर्ने सम्भावना हुन्छ। दसैंमा झाडापखला लागेर, पेट दुखेर तथा घाँटीमा हड्डी अट्किएर अस्पताल आउने बिरामीको संख्या निकै धेरै हुन्छ।
दसैंमा अत्यधिक रूपमा जाँडरक्सी सेवन गर्ने, जुवातास खेल्ने तथा अर्काको देखासिखीमा ऋण काढेर अनाश्यक खर्च गर्ने प्रवृत्ति ठीक होइन। यस्तो नकारात्मक प्रवृत्तिले परिवारलाई नै उठीबास बनाउँछ।
दसैंमा दुर्गा मन्दिरहरूमा वलीका नाउँमा हजारौँ पशु तथा जनावरहरू काटेर कालीलाई चढाउने गरिन्छ। यो पनि दसैंको नकारात्मक पक्ष हो। वली दिनुको वास्तविक अर्थ निर्दोष जनावरलाई काट्नु होइन, आफूभित्रको खराब प्रवृत्ति, जस्तै; क्रोधको त्याग गर्नु हो।
पुछारमा
अतः बडादसैं मनाउँदै गर्दा हामीहरू यसका सकारात्मक पक्षहरूलाई अँगाल्ने तथा नकारात्मक पक्षहरूलाई हटाउने वा कम गर्ने दिशामा अग्रसर हुनुपर्छ। दसैंतिहार होस् वा कुनै पनि बेला ट्राफिक प्रहरीको आँखा छलेर बिना हेल्मेट मोटरसाइकल हाँक्ने, मोटरसाइकलमा दुई भन्दा बढी मानिसहरू चढेर हिँड्ने, बसको छतमा बसेर वा बसको ढोका तथा बसको पछाडि झुण्डिएर यात्रा गर्ने तथा माद्यक पदार्थ सेवन गरेर सवारी चलाउने जस्ता जोखिमपूर्ण क्रियाकलापहरू गर्नु हुँदैन।
दसैंमा आफ्नो पाचनशक्ति अनुरूप खानपिन गर्नुपर्छ। मासु खाँदा हड्डीको ख्याल गरेर राम्रोसँग चबाएर निल्नुपर्छ। अर्काको देखासिखीमा होइन कि आफ्नो आर्थिक हैसियत अनुरूप खर्च गरेर दसैं मनाउनु पर्छ। ऋणमाथि ऋणको भारी बोकेर दसैंलाई दशा बनाउनु कदापि ठीक होइन। तर यसपालि पनि कोरानाको महामारीले गर्दा दसैं मनाउँदा थप सावधानी अपनाउन जरुरी छ। त्यसैले यसपालिको दसैं पनि आआफ्नो घर भित्रै सीमित राखौं। सबैले खोप लागाएपछि अर्को साल धुमधामसँग मनाऔँ।