टीकामा सुनसान प्रायः बनेको काठमाडौंमा चहलपहल बढ्यो
बडादसैं (विजयादशमी) मा सुनसान प्रायः बनेको काठमाडौंमा दसैंको टीकासँगै चहलपहल बढेको छ। दसैंको टीकाको दोस्रो दिन आज पनि आफन्त तथा मान्यजनबाट टीका र जमरा लगाई आशीर्वाद लिने क्रम जारी रहेको छ। विजयादशमीको टीकाको दिनदेखि कोजाग्रत पूर्णिमासम्म दसैंको टीका लगाउने चलन छ।
काठमाडौं उपत्यकामा पनि दसैंको टीका लगाउन आफन्त तथा मान्यजनकहाँ पुग्ने सर्वसाधरणको आवतजावत बाक्लो रुपमा देखिएको छ। यो पटकको दसैंमा विगतका वर्षभन्दा केही बढी सङ्ख्यामा सवारी साधन सञ्चालन भएकाले पनि सर्वसाधरणलाई राहत भएको छ ।
उपत्यकामा पातलो सङ्ख्यामा भए पनि खाद्यान्न, दूध तथा तरकारीका पसल खुलेका छन्। तुलनात्मक रुपमा आज सडकमा सवारी साधन बाक्लो सङ्ख्यामा चलेका देखिन्छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आज पनि काठमाडौं उपत्यकामा दसैंको टीका र आशीर्वाद थाप्न जानेको चहलपहल बाक्लै छ। टीकाको पहिलो दिनभन्दा आज केही बढी सवारी साधन चलेका छन्। सवारीको चहलपहल बढे पनि सडकमा जामको चाप भने नरहेको ट्राफिक प्रहरीको भनाइ छ।
ट्राफिक बत्तीका कारण पनि ट्राफिक व्यवस्थापनमा सहज भएको प्रहरीले जनाएको छ। उपत्यकामा आज अपराह्नसम्म कुनै अप्रिय घटना नभएको र सडकमा सवारी साधन निर्बाध रुपमा सञ्चालन भइरहेका प्रहरीले जनाएको छ।