मुस्ताङमा पर्यटकीय चहलपहल बढ्यो
जोमसोम : धार्मिक तथा पर्यटकीय हिमाली जिल्ला मुस्ताङ कोरोना मुक्त भएको छ। जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले बडादसैं लगत्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या सुन्य रहेको जनाएको हो।
कोरोनाको दोश्रो भेरियन्टसँगै गत बैशाखदेखि मुस्ताङमा १५ जनाले ज्यान गुमाई सकेका छन्। जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङका प्रमुख टिकाराम भण्डारीका अनुसार कोरोनाको दोश्रो भेरियन्टपछि पछिल्लो ६ महिनाको अवधिमा ५ सय ६१ जनालाइ कोरोना संक्रमण देखिएको थियो। जसअन्तर्गत २ सय ५० जनाको पिसिआर परीक्षण गर्दा १ सय १२ जनामा कोरोना पोजेटिभ देखिएको थियो भने ३ हजार ८ सय २२ जनाको एन्टिजेन परीक्षण गर्दा ४ सय ४९ जनाको कोरोना पोजेटिभ देखिएको थियो। कोरोना संक्रमण देखिएका गम्भिर २२ जना बिरामीलाई पोखरा रिफर गरिएको थियो।
मुस्ताङका ५ वटै स्थानीय तहमा १८ वर्षदेखि माथि उमेरका अधिकांश नागरिक तथा पेशा व्यवसायीले कोरोना विरुद्धको खोप लगाईसकेका छन्। जिल्लामा लक्षित वर्गले खोप लगाएसँगै मुस्ताङको जनजीवन समेत सामान्य बनेको छ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले जिल्लाका सबै नागरिकले खोप लगाईसकेको र कोरोनाको जोखिम कम भएको उल्लेख गर्दै जारी निषेधाज्ञालाई सहज र खुकुलो पारिएको जनाएको छ। जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समितिले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै जिल्लाको आर्थिक अवस्था चलायमान तुल्याउन आवश्यक रहेको भन्दै शर्तसहित जिल्ला आउजाउ गर्न पाउने अनुमती प्रदान गरेको छ।
मुस्ताङमा बसोबास गर्ने नागरिकबाहेक विदेशी नागरिकलाई ७ दिनको पिसिआर रिपोर्ट र स्वदेशी नागरिकलाई ७ दिने पिसिआर रिपोर्ट, ७२ घण्टे एन्टिजेन रिपोर्ट अथवा खोप लगाएको कार्डका आधारमा जिल्ला प्रवेशको अनुमती प्रदान गरेको प्रजिअ श्रीनाथ पौडेलले जानकारी दिए। उनका अनुसार धार्मिक तिर्थालु तथा पर्यटकको सुविधाका लागि सोह्रश्राद्ध सुरु हुन अगावै मुक्तिनाथ मन्दिर दर्शनका खुल्ला गरिएको थियो। मुस्ताङमा निषेधाज्ञा खुकुलो भएसँगै पर्यटकीय गतिविधि समेत बढेको होटल ताजकी सञ्चालिका तृष्णा गौचनले जानकारी दिईन्।
पर्यटकको सुविधाका लागि गत बैशाखदेखि बन्द रहेको पोखरा-जोमसोम हवाई सेवासमेत गत असोज २३ गते नियमित सञ्चालनमा आईसकेको छ।