काँठ क्षेत्रमा हराउँदैछ दसैंको रौनकता थप्ने लिङ्गे पिङ
भक्तपुर :‘चचहुइ..........सरर’ भन्दै नेपालीको महान चाड दसैंमा मच्चिएर खेलिने ‘लिङ्गे पिङ’ हराउँदै गएको छ। विशेष गरी काँठ क्षेत्रमा चोक–चोकमा, चौर तथा खुला क्षेत्रमा हालिने लिङ्गे पिङ यो वर्ष देखिएन।
दसैंमा निकै रौनकता थप्ने लिङ्गे पिङ काँठ क्षेत्रमा देखिन छाडेपछि नयाँ पुस्ताका लागि यो एकादेशको कथा बन्न थालेको छ। केही वर्षअघिसम्म टोल–टोलका चोक–चोकमा देखिने यस्ता पिङ यो वर्ष काठमाडौं उपत्यकामा देख्नसमेत मुश्किल पर्यो।
अघिल्लो पुस्तासम्म दसैं आयो भन्ने वित्तिकै पिङ खेल्ने, आकाशमा चङ्गा उडाउने र लङ्गुरबुर्जा खेल्ने योजनानै बन्ने गथ्र्यो। कानूनी रुपमा अवैध मानिएपछि लङ्गुरबुर्जा र ओखर खेल्न सरकारले रोक लगाएपछि यो परम्परा करिब ती क्षेत्रबाट हटिसकेको छ।
दसैंमा मासु चिउरा खाएर कौशीमा बसेर चङ्गा उडाएर रमाइलो गर्ने परम्परासमेत अब लोप हुने अवस्थामा पुगेको छ। केही वर्ष अगाडिसम्म दसैंमा आकाशमा धेरै चङ्गा उडेको देखिन्थ्यो। तर केही वर्षयताको दसैंमा आकाशमा चङ्गा देखिन छाडेका छन्। खासगरी बालबालिकाहरु मोबाइललगायतमा उपलब्ध गेममा झुम्मिने कारण चङ्गाप्रतिको आकर्षण घटेको छ।
दसैं आगमनको शुरुआतसँगै खेलिने लिङ्गे पिङ यसवर्ष भक्तपुरमै पनि चार ठाउँमा मात्रै देखियो। त्यो पनि बच्चाका लागि भन्दै टोलबासीले हालिदिएको दुई वटा साना पिङले परम्परादेखि खेलिँदै आएको लिङ्गे पिङको अस्तित्व धानिरहेको देखिन्थ्यो।
काँठ क्षेत्रमा विशेषगरी रूखमा डोरी बाँधेर या बाँस गाडेर चोक र टोलमा हालिने यस्ता पिङ हाल्थे। टोलबासीले घरधुरीको रुपमा निश्चित रकम सङ्कलन गरेर बाँसदेखि लठारोसमेत किनेर दसैंमा हालिएको पिङ तिहारसम्म राखेर खेल्ने दिन अब हराएका छन्।
ग्रामीण क्षेत्रमा एकाध ठाउँमा मात्रै देखिए पनि विगतका जस्तो रौनकता देखिएको छैन। बस्ती बाक्लिदै गएकाले पिङ हाल्ने ठाउँको अभाव हुनु र पिङका लागि आवश्यक लठारो अर्थात् बाबियोको डोरीकोसमेत अभाव भएकाले पिङको सङ्ख्या कम हुँदै गएको सूर्यविनायक नगरपालिका–१० का ७२ वर्षीय भगवाण कार्कीले बताए।
दसैंको बेलामा प्रत्येक व्यक्तिले एक पटक जमिनबाट पाउ अर्थात् खुट्टा हटाउँदा पुण्य प्राप्त हुने मान्यताअनुसार पिङ खेल्ने प्रचलन रहँदै आएको तर केही वर्षयता यस्ता लिङ्गे पिङ बन्न छाडेको कार्कीले बताए।
नयाँ पुस्ता दसैंमा पिङ खेल्ने भन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने, तास खेल्ने, सामाजिक सञ्जालमा रमाउने गर्दा पिङको महत्व घट्दै गएको हो। पिङको रौनकतालाई जोगाउन स्थानीय तहले वडा कार्यालयमार्फत केही बजेटको विनियोजन गरेर सबैलाई पायकपर्ने गरी प्रत्येक वडामा कम्तीमा दुई वटासम्म पिङ हाल्ने व्यवस्था गरे यसको महत्व र रौनकता जीवित रहने चाँगुनारायण नगरपालिकाका महिला वडा सदस्य कमला गिरी बताउछिन्।
यसवर्ष केही स्थानीय सामूदायिक संस्थाले नगरपालिकासँग पिङको लागि बजेटको व्यवस्था गरिदिन माग गरेको गिरीले जानकारी दिइन्। विशेषगरी पिङ खेल्ने, चङ्गा उडाउने परम्परा लोपोन्मुख अवस्थामा पुगेकाले अहिले काँठ क्षेत्रमा दसैंको वास्तविक रौनक हराउँदै जान थालेको छ।
–––