अस्पतालको बेडबाट आमा खोज्दै ६ वर्षीय बालक
मुगु : विवाह भएको आठ वर्षपछि प्रेम रावल छोरो र श्रीमती लिएर घर जाँदै थिए। पुख्र्यौली घर छाँयानाथ रारा नगरपालिका-५ कार्कीबाडाका रावल परिवारसहित घरमा रहेकी बुढी आमा र भाइबहिनीसँगै दसैं मनाउने मीठो सपना बुन्दै घरतिर लागे। तर, घर पुग्न नपाउँदै उनको सपना चकनाचुर भयो।
असोज २६ गते मुगु आउँदै गरेको बस दुर्घटनामा उनकी २६ वर्षीया श्रीमती कमला बिसीले प्राण त्यागिन्। कमलाको साथमा रहेका ६ वर्षीय छोरा लक्किजंग रावल र आफू घाइते भए। उनकी श्रीमतीको घटनास्थलमै मृत्यु भयो। उक्त घटनामा कमलासहित ३२ जनाले ज्यान गुमाए।
अहिले घाइते बावु-छोराको नेपालगंजमा उपचार भइरहेको छ। ती बालक आमा खोज्दै अस्पतालको बेडमा छटपटाइरहेका छन्। घरि आमा भनेर कराउँछन् भने घरी आमा बोलाई देऊ भन्दै रुन थाल्छन्। उनको चिच्याहट सुनेर उनीसँगै अस्पतालको वार्डमा रहेकाहरु सुक्क सुक्क गर्न थाल्छन्।
आमाले आफूलाई सदाका लागि छोडेर गएको उनलाई अत्तोपत्तो छैन। उनी आमा कटेजमा चाउमिन पकाउँदै होलिन भन्दै अस्पताल आउने जोकोहीलाई छिटो बोलाइ दिन आग्रह गर्छन्। उनी आमाको पर्खाइमा छन्। आमाको काखमा लुटुपुटु गर्न मन छ। तर, अब उनले न आमाको काख पाउने छन् त साथ ।
उनी बस दुर्घटनाबारे बावुलाई सुनाउने गर्छन्। 'बाबा र आफूले बसबाट हामफालेको हो है' भन्दै बावुसँग कुरा गर्छन्। 'आमा अहिले चाउमिन बनाउन लाग्नु भएको होला। आमालाई छिटो बोलाइ दिनु भन्दै कराउन थाल्छ, 'उनका बुवा रावलले भने,' छोराको कुरा सुन्दा भक्कानो छुटेर आउँछ।'
घाइते बाबु-छोरालाई तत्काल उद्दार गरी उपचारका लागि नेपालगंज लगिएको थियो। अहिले दुवैजनाको नेपालगञ्जको शिक्षण अस्पातलमा उपचार हुँदैछ । प्रेम र उनकी पत्नीले कोहलपुरको बानियाबारमा सानो कटेज संचालन गरेका थिए । छोराले आफ्नी आमा त्यही कटेजमै नास्ता बनाउँदै गरेकी होलिन् भन्दै संझिने गर्छन्।
'आमाको मृत्युबारे कसरी सुनाउ, जतिबेला पनि कटेजबाट आमालाई बोलाइ देउ भन्दा मन भक्कानिएर आउँछ र बेलाबेला कटेजमा रहेकी आमालाई बोलाइ देउ भन्न थालेपछि मृतककी माइली दिदीलाई अस्पातलमा बोलाएपछि आमा खोजेको छैन, प्रेमले भने,' माइली दिदी एक छिन बाहिर जान बित्तिकै फेरि आमा आमा भन्दै खोज्ने गर्छ।'
नेपालगञ्जबाट मुगु आउँदै गरेको छाँयानाथ रारा यातायात प्रालीको भे १ ख ३१६७ नम्बरको बस छाँयानाथ रारा नगरपालिका–७ पिना गाउँको तपने खोलामा दुर्घटनमा परेको थियो।