स्वस्थ मन, स्वस्थ तन
मन, शरीर र समाज अन्तरसम्बन्धित छन्। जस्तो कि मानसिक स्वास्थ्यका लागि स्वस्थ मन आवश्यक छ।
स्वास्थ्य शब्दले शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यलाई इंगित गर्छ। त्यो किनभने मानिसको मन, शरीर र समाज तीनैै एक अर्काेसँग अन्तरसम्बन्धित छन्। जस्तो कि मानसिक स्वास्थ्यका लागि स्वस्थ मन आवश्यक छ। र, मानिसको मन सन्तुलित तथा प्रभावकारी स्नायु प्रणालीमा आधारित हुन्छ। स्नायु प्रणालीको प्रभावकारी सुसञ्चालनका लागि शारीरिक स्वास्थ्य आवश्यक पर्छ। त्यस्तै व्यक्तिको समाजसँगको व्यवहार र सहभागिता उसको मानसिक र सामाजिक स्वास्थ्यसँग गाँसिएको हुन्छ। त्यसैले स्वस्थ जीवनका लागि शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यप्रति गम्भीर हुनु अति नै आवश्यक छ।
तर, नेपालजस्ता पिछडिएको देशहरूमा तीव्र रूपमा बढिरहेको मानसिक समस्याहरूको उपचारको समुचित सुविधाहरू, शारीरिक रोगको उपचारको सुविधाको तुलनामा नगन्य छ। त्यसैले मानसिक समस्याहरूको सही निदान र उपचार हुन नसकी बिरामीहरूले धेरै दुःख–कष्ट बेहोर्नु परेको छ। यस्ता मानसिक समस्याहरूको कारण कतिपयको जीवन नै बर्बाद भएको छ। मानसिक स्वास्थ्य हरेक नागरिकको अधिकार हो। त्यसैले हरेक राष्ट्रले हरेक नागरिक समक्ष मानसिक स्वास्थ्यको पहुँच पुर्याउनु आजको आवश्यकता र कर्तव्य पनि हो। तर, विडम्बना के भने नेपाल जस्ता पिछाडिएका राष्ट्रहरू मानसिक स्वास्थ्यको पहँुचबाट निकै टाढा छन्।
जोसुकैलाई पनि मानसिक समस्या
मानसिक समस्याहरू जुनसुकै उमेर, वर्ग तथा धर्मसंस्कृतिका व्यक्तिहरूलाई हुन सक्दछ। इतिहासको पाना पल्टाउने हो भने ठूलाठूला हस्तीहरू समेत विभिन्न किसिमका मानसिक समस्याबाट पीडित भएका देखिन्छन्। जस्तैः अमेरिकाको भूतपूर्व राष्ट्रपति अब्राहम लिंकन, महान् मनोविश्लेषक सिग्मन्ड फ्रायड, प्रसिद्ध हलिउड अभिनेत्री मर्लिन मुनरो तथा रूसका भूतपूर्व राष्ट्रपति वोरिस येल्तसिन आदि जस्ता हस्ती डिप्रेसनबाट पीडित थिए। साहित्यको नोबेल पुरस्कार विजेता अल्फ्रिडे जेलनिक सामाजिक फोबियाबाट ग्रस्त थिइन्।
सन् १९९४ मा नोबेल पुरस्कार पाउने प्रसिद्ध गणितज्ञ जोन नास सिजोफ्रेनियाबाट र ब्रिटेनका भूतपूर्व प्रधानमन्त्री र साहित्यको नोबेल विजेता विस्टर्न चर्चिल मेनिक डिप्रेसन (बाइपोलर डिप्रेसन)बाट पीडित थिए। चर्चिल आफ्नो यो मानसिक समस्याबाट यति भयभीत थिए कि उनले यसलाई कालो कुकुरको संज्ञा दिएका थिए। त्यसैले डिप्रेसनलाई चर्चिलको कालो कुकुर पनि भन्ने गरिन्छ। यसैगरी अर्जेन्टिनाका विश्वप्रसिद्ध फुटबाल खेलाडी म्याराडोना तथा भारतका लोकप्रिय चलचित्र अभिनेता सञ्जय दत्त लागूऔषध दुव्र्यसनको सिकार भएका थिए। यी त केही उदाहरणहरू हुन्। तर, यसको सूची निकै लामो छ।
के कस्ता हुन्छन् लक्षण
मानसिक समस्याका लक्षणहरू अनेक प्रकारका हुन्छन्। यस्ता लक्षणहरू मानसिक रूपमा मात्र होइन कि शारीरिक रूपमा पनि देखा पर्न सक्छन्। जस्तो कि खिन्नता, उदासीपना, इच्छाहरू मरेर जानु, नकारात्मक र निराशावादी विचार आउनु, मर्न मन लाग्नु, ध्यान केन्द्रित गर्न गाह्रो हुनु, बिर्सने बानी भएको महसुस हुनु, जिउ भारी हुनु, गल्नु वा दुख्नु, टाउको भारी हुनु, गल्नु वा दुख्नु, चिडचिडाहट हुनु, निद्रा गडबडी हुनु, खाना रुचि कम हुँदै जानु आदि।
यस्तै, यौन इच्छामा कमी आउनु, डर, त्रास, भय, अत्यधिक डर लाग्नु, सामान्य अप्ठ्याराहरूलाई भयंकर ठान्नु, मुटु काप्नु, मुटु फुट्ला जस्तो हुनु, श्वास फेर्न गाह्रो भएको अनुभव हुनु, जिउ या हात खुट्टा काप्नु, चिटचिट पसिना आउनु, शरीरमा तनाव भएको महसुस हुनु, एक्कासि पहिले भोगेको पीडा या यातनाको याद आउनु र एकदम छट्पटी हुनु, कुनै खास वस्तु या स्थानको कारणले मन आत्तिनु, उन्माद बढ्नु तथा होस छोड्नु आदि हुन्।
के कस्ता हुन्छन् कारण
मानसिक समस्याको प्रमुख कारण मनोविज्ञान हो। अधिकांश मानसिक समस्या मानसिक आघात, हीन भावना, नकारात्मकता, आपसी मनमुटाव, पारिवारिक झैझगडा, मानसिक तनाव, सामाजिक तथा आर्थिक दबाब, हृदयविदारक घटना, व्यापार व्यवसायमा हानिनोक्सानी, आत्मसम्मानमा ठेस, गलाकाट प्रतिस्पर्धा आदि जस्ता मनोवैज्ञानिक तथा सामाजिक कारणहरूले गर्दा पैदा हुन्छन्। मनोसामाजिक कारण स्वयं मानसिक समस्याको एक कारण मात्र नभएर यसले अनुवांशिक तथा जैविक कारणहरूलाई जमिन प्रदान गर्ने तथा मलजल हाल्ने कार्यसमेत गर्छ। जस्तो कि सुक्खा जमिनमा जतिसुकै पोटिलो बिउ पनि उम्रिँदैन। तर पानी परेर जमिन चिसो भयो भने बिउ टुसाउँछ।
आधुनिक युगमा मानसिक समस्या ज्यादै तीव्र गतिमा बढिरहेको छ। तर यो वैज्ञानिक युगमा पनि विश्वमा मानसिक समस्यालाई हेर्ने दृष्टिकोणमा कुनै न कुनै रूपमा अन्धविश्वासहरू कायम छन्।
मद्यपान तथा लागूऔषध दुव्र्यसनका कारणले पनि विभिन्न शारीरिक रोगहरूसँगै मानसिक समस्याहरू समेत पैदा गर्छ। मद्यपान तथा औषध दुव्र्यसनलाई नै एक मनोवैज्ञानिक विकार मानिन्छ। यदि शारीरिक रोगहरू लामो समयसम्म ठीक भएको छैन भने यस्ता दीर्घ रोगले समेत चिन्ता तथा डिप्रेसनजस्ता मानसिक समस्याहरू पैदा गर्छन्। यस्तै, क्यान्सर तथा एचआईभी–एड्सजस्ता जटिल रोगहरूले समेत मानसिक समस्याहरू निम्ताउँछन्। अहिले कोभिडका कारण पनि मानसिक समस्याहरू बढेका छन्। कतिपय जटिल रोगहरूलाई प्राणघातक रोगको संज्ञा दिइनाले पनि रोगीमा मानसिक समस्या पैदा हुने गर्छ। क्यान्सर तथा एचआईभी–एड्सजस्ता रोगहरू निदान भएपछि रोगीको स्वास्थ्य एकाएक खस्किन्छ। यस्ता बिरामीहरूमा चिन्ता तथा डिप्रेसनका समस्याहरू थपिन सक्दछ।
उपचार सम्भव छ ?
आधुनिक युगमा मानसिक समस्या ज्यादै तीव्र गतिमा बढिरहेको छ। तर यो वैज्ञानिक युगमा पनि हरेक राष्ट्रमा मानसिक समस्यालाई हेर्ने दृष्टिकोणमा कुनै न कुनै रूपमा अन्धविश्वासहरू कायम छन्। त्यसैले नेपालजस्तो सबै कुरामा पिछडिएको राष्ट्रमा मानसिक समस्याको सम्बन्धमा पनि गलत धारणा रहनु कुनै अनौठो कुरो होइन। अहिले पनि अधिकांश नेपालीले मानसिक समस्यालाई भूतप्रेत, पूर्वजन्मको पाप, टुनामुना तथा ग्रहहरूका कारणले पैदा भएको मान्छन्। देवीदेवताहरूको अभिशाप ठान्दछन्। त्यसैले नेपाली समाजमा मानसिक समस्या लुकाउने–छुपाउने प्रवत्ति विद्यमान छ। अशिक्षित मानिसहरूको कुरा परै छोडौं। शिक्षित मानिसहरूले पनि यस्ता रोगहरू भरसक छुपाउने–लुकाउने र रोगले निकै च्याप्यो भने उपचारका लागि धामीझाँक्रीहरूको शरण पुग्ने प्रचलन छ। यसबाट नै प्रष्ट छ नेपालमा मानसिक स्वास्थ्यको स्थिति कति दयनीय छ भनेर।
अर्कोतिर अस्पताल पुग्ने मानसिक विरामीहरूलाई चिकित्सकले उचित निदानबिनै सिधै औषधि सिफारिस गर्दा मानसिक स्वास्थ्यमा झनै जटिलता थपिएको छ। एन्टिडिप्रेसेन्टजस्ता साइक्याएट्रिक मेडिसिनहरूले अल्जाइमरजस्ता निको नहुने रोगहरू जन्माउँछन्। त्यसैले मानसिक समस्याको उपचारमा औषधिमा होइन कि मनोवैज्ञानिक उपचारमा जोड दिनुपर्छ। त्यो किनभने अधिकांश मानसिक समस्याहरू औषधि बिना नै मनोवैज्ञानिक परामर्शबाटै ठीक हुन्छन्। मनोवैज्ञानिक चिकित्सा पद्धति (साइकोथेरापी) मानसिक विकारहरू (मेन्टल डिसअर्डर) तथा व्यथाहरू (डिस्टे«स) को मूलकारण प्रतिकूल वा नकारात्मक भावना हो भन्ने मान्यतामा आधारित छ। अर्को शब्दमा भन्ने हो भने मानिसको सोच, संज्ञान (कग्निसन), चिन्तन तथा घटना र परिस्थितिलाई हेर्ने दृष्टिकोणले नै मानसिक समस्या पैदा गर्छ। त्यसैले मानसिक समस्या ठीक गर्न व्यक्तिको मनमा रहेका प्रतिकूल तथा नकारात्मक भावनाहरू तथा दृष्टिकोण परिवर्तन गर्न आवश्यक पर्छ।
साइकोथेरापीमा विभिन्न कग्निटिभ तथा बिहाभियर टेक्निकहरूको सहायताबाट रोगीको संज्ञानात्मक पुनर्संरचना गर्ने कार्य गरिन्छ। जसले गर्दा व्यक्तिको मनमा गडेर बसेका गलत चिन्तन तथा विश्वास हटेर शुभचिन्तन तथा विश्वास विकसित भई व्यवहार समायोजित हुन पुग्छ। र, मन स्वस्थ र मजबुत हुन्छ। यहाँ उल्लेखनीय कुरा के भने यदि मानिसको मन स्वस्थ र मजबुत भयो भने मानिसको
तन (शरीर) पनि स्वस्थ र सुदृढ हुन्छ। त्यसैले स्वस्थ जीवन जिउन शारीरिक स्वास्थ्यलाई जस्तै मानसिक स्वास्थ्यलाई पनि उत्तिकै महत्त्व दिन आवश्यक छ। मानसिक स्वास्थ्य बिना पूर्ण स्वास्थ्यको कल्पना गर्न सकिँदैन।
लेखक साइकोथेरापिस्ट तथा मेमोरी क्लिनिक प्रमुख हुन्।