वर्षाले पाकेकाे धान बाली नष्ट
![वर्षाले पाकेकाे धान बाली नष्ट](https://annapurnapost.prixacdn.net/media/albums/dubeko-dhan-3_20211018120821_h6fEF59rnn.jpg)
सिन्धुली : केही दिनदेखि परेको लगातार वर्षाका कारण सिन्धुलीका अधिकांश कृषकको धान बालीमा क्षती पुगेको छ। पाकेर पहेलपुर भएको धान बालीमा पानी र हावाहुरीले क्षती पुर्याएको हो।
सिन्धुलीमाढी, कमलाखोच, मरिण, तिनपाटन, सुनकाशी गढतिर क्षेत्रका अधिकांश किसानको काटेर भित्राउने लागेको धान खेतमै डुबेको छ।
कमलामाई नगरपालिका ५ का किसान प्रकाश थापाका अनुसार ‘काटेको धान सबै खेतको आलिभित्रै डुबेको छ। उनले भने,'काट्न बाँकी धान हावा र पानीले सबै सुताएर क्षती पुर्याएको छ।'
लगातार वर्षाका कारण सिन्धुली जिल्लामा मात्र किसानको झण्डै २५ प्रतिशत धान बालीमा क्षती पुगेको किसानहरुको गुनासो छ। वर्षा अझै नरोकिएकाले कति क्षती हुने हो एकिन छैन।
यस वर्ष धान बाली उत्पादनका दृष्टिले राम्रो भएपनि भित्राउने समयमा भएको वर्षाले क्षती गरेको कृषि ज्ञान केन्द्र सिन्धुलीको भनाई छ।
जिल्लामा यो वर्ष झण्डै १६ हजार हेक्टर क्षेत्रफलमा धान बाली लगाइएको थियो।
उता लगातारको वर्षाका कारण जिल्लाका ग्रामिण सडकहरु अवरुद्ध भएका छन्। कमला, मरिण, बागमती, ग्वाङ खोला ठूलो बाढी आएको छ। नदी तटिय क्षेत्रका बासिन्दामा बाढीको त्रास छ भने थप धान खेत डुबान गर्ने सम्भावना बढेको छ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)