डोटीमा बाढी-पहिरोबाट ११ जनाको मृत्यु
डोटी : डोटीमा लगातारको वर्षाका कारण ११ जनाको मृत्यु भएको छ। आइतबारदेखि परेको अबिरल वर्षाले घर भत्किंदा च्यापिएर अधिकांसको मृत्यु भएका हुन्।
जोरायल गाउँपालिकामा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका सहप्रवक्ता इनिस्पेक्टर रवीन्द्र चन्दले जानकारी दिए। उनका अनुसार एउटै घरमा च्यापिएर एकै परिवारका ३ र आफन्त १ गरी ४ जनाको मृत्यु भएको छ भने अर्को एउटा घर भत्किंदा दुईजना श्रीमानश्रीमतीको मृत्यु भएको हो।
त्यसैगरी सायल गाउँपालिकामा ३ जना घर भत्किँदा च्यापिएर र १ जना खोलाले बगाएर मृत्यु भएको छ। शिखर नगरपालिकामा १ जनाको पहिरोमा आएको ढुङ्गा लागेर मृत्यु भएको बताइएको छ। तीन दिनदेखिको सञ्चार विच्छेदका कारण जिल्लाभरीको पूरै रिपोर्ट अझै आउन नसकेको प्रहरीले जनाएको छ। जिल्लामा अझै मानवीय क्षति भएको हुनसक्ने बताइएको छ।