हङकङमा कुरीतिविरुद्ध कलम चलाउने किसन

हङकङमा कुरीतिविरुद्ध कलम चलाउने किसन

करिब २५ वर्षदेखि निरन्तर हङकङेली नेपाली समाजको पत्रकारितामा बलियो खम्बा बनेर उभिएका थिए किसन राई।


विदेशी भूमि अनि पत्रकारिता एकअर्काका विरुद्ध नै हुन्छन्। आफ्नो जन्मभूमि अनि परिवार छाडेर आर्थिक अवस्था बलियो बनाउनकै लागि मानिस विदेशिन्छ। न्यून आय र चुनौतीमूलक पेशा भएकाले नै पत्रकारितालाई दरिलो पेशा मानिँदैन। भनाइ नै छ, प्रहरी र पत्रकारका स्थायी शत्रु र मित्रु हुँदैनन्। कुन बेला समाजको विकृति र विसंगतिविरुद्ध आगो ओकल्नु पर्ने हो, टुंगो हँुदैन। कसैको सहजतामा र विरुद्धमा समाचार लेखेको भरमै स्यावासी र लान्छना बेहोर्नु पर्ने पनि टुंगो हँुदैन। करिब २५ वर्षदेखि निरन्तर हङकङेली नेपाली समाजको पत्रकारितामा बलियो खम्बा बनेर उभिएका थिए किसन राई। समाजका बेथिति र विसंगतिका विरुद्ध कलम चलाउन किमार्थ पछि नहट्ने लौहपुरुष कहिल्यै नफर्किने गरी अस्ताइसकेका छन्।

पैसा कमाउने असंख्य सम्भावनालाई बिर्सिएर निरन्तर शब्दको खेतीमा तल्लीन किसान हङकङेली नेपाली समाजका पर्यायवाची हुन्। हङकङमा बस्ने करिब ४० हजार नेपालीका समस्या र अवसरमा समाचार सम्प्रेषणको सेतु बन्ने उनी सवैका प्रियपात्र थिए। करिब दर्जनभन्दा बढी संघसंस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका किसन वास्तवमा नै जीवनका अधिकांस समय आफ्नो हृदयको काम र पेशामा संलग्न भए। दैनिकी, मासिक, पाक्षिक गरेर भए पनि एभरेष्ट मिडियालाई हङकङेली नेपाली समुदायको एक मात्र पत्रिका बनाई रहे। हरेक महिना हङकङमा आफ्नो क्षमताले सिंगो देशकै गौरव गर्नेहरूलाई प्रोत्साहित गर्ने र समाजका कुरीतिहरूका विरुद्ध कडा आवाज बुलन्द भएको म्यागजिन बोकेर पसल पसल भौतारिन्थे उनी।

कतिले एभरेष्ट पत्रिका र उनको सामाजिक सञ्जाल हेरेरै हङकङ र नेपाली समाजप्रतिको धारणा बनाउँथे। आफू अध्यक्ष रहँदै आदिवासी जनजाती महासंघ हङकङका माग र मुद्दाहरूलाई विजयीका साथ किनारा लगाए उनले। गैरआवासीय नेपाली संघ (एनआरएन) हङकङका निवर्तमान उपाध्यक्ष किसन केन्द्रिय सदस्यमा मनोनित भएका थिए। नेपाल पत्रकार महासंघ हङकङका अध्यक्ष उनी अन्य थुप्रै नेपाली संघसंस्थाका संरक्षक पनि रहेका थिए। विदेशमा नेपालीका अनेकन पीडा र समस्याहरू हुन्छन्। अझ नेपाली समाज विभिन्न जातजाती, धर्म र सम्प्रदायमा विभक्त छ। हरेक हप्ता हुने विभिन्न कार्यक्रममा अतिथिका रूपमा होस् या परिवेक्षक उनको भूमिका सदैव अकाट्य थियो। भिषा, कानुनी झन्झट, मृतकहरूलाई नेपाल पठाउने या भनौं विदेशमै लागूऔषधमा फसेकाहरूलाई उद्धार गर्ने उनको भूमिका सदैव अग्रपंक्तिमा हुन्थ्यो।

हँसिलो स्वाभावका किसन हक्की र निडर थिए। समाचार प्रसारण र प्रकाशन गरेकै कारण कयौं पटक उनमाथि आक्रमण भएको थियो। सोही क्रममा संस्थाहरू पनि तोडफोड गरिए। निष्पक्ष पत्रकारिता र समाजको हितमा अक्षुण रहने उनको प्रणको अघि कसैको केही चलेन। उनी निरन्तर पत्रकारिता गरिरहे। विदेशमा छौं हामी तर आफ्नो देशको गौरव र उन्नतिका लागि सदैव दिमाग स्वदेशी हुनु पर्छ भन्थे किसन। ‘विदेशका सीप, कौशल अनि आर्थिक पाटोलाई मात्र बलियो बनाऔं, मनमा सदैव आफ्नो माटो र देशलाई राखौं’ भन्ने उनी नेपालका दिग्दज राजनीतिज्ञ, समाजसेवी, पत्रकार, ब्यवसायी, कर्मचारीहरूका समेत नजिक थिए। नेपालीको प्रवास इतिहास, गोर्खालीहरूको पहिचान इतिवृत्ति, समाजको प्रवृत्ति लगायतका मुद्दाहरूमा उनको कलम प्रखर हुन्थ्यो। उनको पत्रकारिता र समाजप्रतिको निरन्तर लगावलाई सम्मान गर्दै हङकङ सरकारले समेत सम्मान गरेको थियो।

पछिल्लो समय नेपाल सरकारबाट जनसेवा श्री पदकबाट सम्मानित किसन आफ्नो सम्मानलाई ग्रहण गर्ने, विदेशमा नेपाली आदिवासी जनजातीहरूको प्रथम अन्तर्राष्ट्रिय महाधिवेशनमा सहभागिता र आफ्नो जन्मभूमिको भ्रमण गर्न भनी अक्टोबर ५ तारिकका दिन नेपाल गएका थिए। सामाजिक सञ्जालमा आफ्ना प्रिय बालसखी साथीहरूसँग तातोपानी, बेनी, मुस्ताङ, घान्द्रुक लगायतका स्थानहरूको भ्रमण र प्राकृतिक मनोरम साटासाट गरिरहेका थिए। अचानक उनको दुर्घटना र देहावसानले सिंगो हङकङेली समाज मर्माहित बन्न पुगेको छ। एनआरएनएका भूतपूर्व अध्यक्ष एवं नेपाल चेम्बर्स अफ कमर्सका सल्लाहकार ललित आङबुहाङ भन्छन्, ‘किसन व्यक्ति होइन, हङकङेली नेपाली समाजका पुस्तक थिए। कसैले यो समाजका बारेमा थाहा पाउने इच्छा व्यक्त गरेमा उनीसँगको भेट नै पर्याप्त थियो। उनी जस्तो निडर र साहसी पत्रकार नेपाली समाजले अब पाउन मुस्किल छ।

एनआरएनए हङकङका अध्यक्ष गोकर्ण ढकाल किसन राईको देहावसानले मर्माहित भएका छन्। उनी भन्छन्, करिब चार वर्ष एनआरएन माहामीमा सहकार्य गर्‍यौं। सत्यको पक्षमा आफ्नो ज्यानको बाजी थाप्ने राईको तार्किक शक्ति र समाजप्रतिको योगदान कहिल्यै भुल्न सकिँदैन। किसन राईको संयोजकत्वमा दुई दशकदेखि निरन्तर हङकङेली नेपाली समाजमा सूचना सम्प्रेषण गरिरहेको एभरेष्ट मिडियामा कार्यकारी सम्पादक रहेका पत्रकार डम्बरकृष्ण श्रेष्ठ लामो समयदेखि राईसँग सहकार्य गरिरहेका थिए। उनी भन्छन्, ‘सत्य र समाजलाई सकारात्मक दिशामा अभिप्रेरित गर्ने हरेक समाचारको पक्षमा थिए किसन। मलाई लाग्छ उनको अभाव अब केही महिनापछि नै हङकङेली नेपाली समाजमा देखिन थाल्नेछ। समाजसेवा र पत्रकारिताका लागि सबै व्यक्तिगत स्वार्थ त्यागेका उनी जस्ता निडर व्यक्ति सायदै जन्मिन्छन्।

हङकङेली नेपाली समाजका पर्यायवाची हुन्। हङकङमा बस्ने करिब ४० हजार नेपालीका समस्या र अवसरमा समाचार सम्प्रेषणको सेतु बन्ने उनी सवैका प्रियपात्र थिए। 

हङकङ नेप्लिज ताइकन्दो एसोसियसनका प्रेसिडेन्ट, वी विल राइज फाउन्डेसनका संस्थापक एवं राइज मिडियाका अध्यक्ष तुलसीकुमार गुरुङ भन्छन्, ‘म सैनिक पृष्ठभूमिबाट आएकाले पनि होला। अनुशासित र निडर व्यक्तित्वबाट प्रभावित हुन्छु। किसनको निडर र अनुशासनपनको सदैव प्रशंसा गर्छु। धेरैवटा कार्यक्रम र संस्थामा आवद्ध भएकाले पनि होला कहिलेकाँही कार्यक्रममा ढिलो आउँदा म उनलाई समयको ख्याल राख्न सम्झाउँथे। समाजमा बदमासी गर्नेहरूलाई खबरदारी गर्ने एक मात्र निडर व्यक्तित्व गुमाउँदा पीडा महसुस भएको छ। दुई दशकदेखि अनेकन झमेला र अवसरहरूलाई पन्छाउँदै निरन्तर सूचना सम्प्रेषणमा लागेका किसन समाजका प्रणय थिए। लालीगुँरास एशोसिएसनका संस्थापक एवं समाजसेवी चेतन गुरुङ भन्छन्, ‘जीवनको यो कालखण्डसम्म व्यक्तिगत स्वार्थ र पैसाका लागि नहिँड्नु सामान्य कुरा होइन। उनको प्रेरणादायी जीवन सबैका लागि शिक्षा अवश्य हुनेछ।

नेपाली संस्थाहरूको छाता संगठन हङकङ नेपाली महासंघका अध्यक्ष टंक राना भन्छन्, किसनसँग लामो समय सहकार्य गर्‍यौं। संस्थामार्फत सामाजिक अभियन्ता भइरहँदा किसनको समाजप्रतिको उत्तरदायित्व र समर्पणलाई नजिकबाट नियाल्ने मौका पाएँ।’ उनका अनुसार, जनजातीप्रतिको सद्भाव र सकारात्मक पहल उनको कार्यकालको सबल पक्ष हो। उनको अभाव लामो समयसम्म नेपाली समाजमा खट्किने छ।

किसन राई साथीहरूसँग मध्यपहाडी लोकमार्गको भ्रमणमा थिए। भोजपुर जाने क्रममा खोटाङको दिक्तेलस्थित रूपाकोट मझुवागढी नगरपालिका ८ दोर्पाचिउरीडाँडास्थित पङ्खु खोलाको भीरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। गाडी रोकेर दिसापिसाव गर्ने भन्दै एउटा भीरमा गएका थिए किसन। लामो समयसम्म नफर्किपछि खोज्नका लागि साथीहरूले प्रहरीलाई खवर गरेका थिए। प्रहरीसहितको टोलीले उनलाई मृत फेला पारी रातको दुई बजे खोटाङ जिल्ला अस्पतालमा पुर्‍याएको थियो।

वयोवृद्धा आमा, श्रीमती र दुई छोरासहित हङकङलाई कर्मथलो बनाएका किसनका अनेकन सपना थिए। नेपाली पत्रकारितामा विकसित हुँदै गरेको प्रविधिलाई आत्मसाथ गर्दै अझ खरो रूपमा प्रस्तुत हुनका लागि सबैलाई उत्प्रेरित गरिरहेका थिए। उनको देहवासानले हङकङेली नेपाली समाजमा शून्यता छाएको छ। पत्रकारिताका गर्विला खम्बा आफैं ढलेका छन्। समाजका विकृतिहरू जब जब मौलाउँदै जान्छन्, तब तब किसनका प्रत्येक शब्द र कलमको अभाव सदैव खड्किरहन्छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.