दबाबमा थपिए एमाले महाधिवेशन प्रतिनिधि

दबाबमा थपिए एमाले महाधिवेशन प्रतिनिधि

काठमाडौं : नेकपा एमालेले १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या बढाएर १ हजार ९ सय ९९ बनाएको छ। शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठकले महाधिवेशन प्रतिनिधिको संख्या चार सय थपेको हो। बिहीबार बसेको स्थायी कमिटीले १ हजार ५ सय ३६ प्रतिनिधि चयन गर्ने निर्णय भएको थियो। 

केन्द्रीय कमिटीमा संख्या बढाउनुपर्ने सुझाव आएपछि संख्या बढाएको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए। उनले भूगोलमा संख्या बढ्ने बताए। भूगोलमा १ हजार १ सय ९६ संख्या तोकिएको छ। ‘स्थायी समिति १५ सयको हाराहारीमा प्रस्ताव गरेको थियो, केन्द्रीय सदस्यबाट बढाउन सुझाव आयो, सुझावको आधारमा थपिएको हो।’ विधान महाधिवेशनमा भने ६ हजार प्रतिनिधि थिए। विधान अधिवेशनमा भन्दा धेरै घटाएको भन्दै बढाउन दबाब बढेको थियो। ‘दुई हजारमा नबढ्ने गरी प्रतिनिधि बनाउने निर्णय भएको छ,’ केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले भने, ‘हाम्रो सुझावकै आधारमा प्रतिनिधि संख्या बढाइएको हो।’ 

बैठकले समावेशिताको आधारमा प्रतिनिधि छनोट गर्ने निर्णय पनि गरेको छ। महाधिवेशनमा महिला, दलित, आदिवासी जनजाति, मधेसी, थारू, मुस्लिमको उल्लेख्य प्रतिनिधि गराइने भएको छ। एमालेको प्रतिनिधि छनोट कात्तिक २७ मा एकै दिन हुने भएको छ। केन्द्रीय समितिको बैठकले एकै दिन प्रतिनिधिको निर्वाचन गर्ने निर्णय गरेको ज्ञवालीले जानकारी दिए। एमालेले गत कात्तिक ६ मा वडा र कात्तिक ९ मा पालिकाको एकैदिन अधिवेशन गरेको थियो। केन्द्रीय कमिटीको बैठकमा विद्युतीय मेसिनको परीक्षण गरिएको प्रवक्ता ज्ञवालीले जानकारी दिए। बाँकी वडा र पालिकाको छिट्टै अधिवेशन सक्न निर्देशन गरिएको उनले बताए। 

यसैबीच, एमालेको १०औं राष्ट्रिय महाधिवेशनको मूल व्यवस्थापन समितिमा रघुजी पन्त र शेरबहादुर तामाङ  थपिएका छन्। केन्द्रीय समितिको बैठकले स्थायी समिति सदस्य पन्त र केन्द्रीय कार्यालय सचिव तामाङलाई थपेर मूल व्यवस्थापन समितिको संख्या २१ बाट बढाएर २३ पुर्‍याएको छ। 

एमाले प्रवक्ता ज्ञवालीले पन्त र तामाङलाई मूल व्यवस्थापन समितिमा थपिएको जानकारी दिए। समितिको संयोजक रामबहादुर थापा ‘बादल’, सहसंयोजक सुरेन्द्र पाण्डे तथा सचिव विष्णु रिमाल छन्।  

प्रभु साह पनि बैठकमा 
नेकपा भंग भएपछि माओवादी केन्द्रमा नफर्किएका प्रभु साह एमालेसँग रुष्ट रहँदै आएका थिए। शुक्रबारको केन्द्रीय समितिको बैठकमा भने साह सहभागी भएका छन्। उनको सिफारिसमा दुई जना केन्द्रीय सदस्यलाई मनोनयन गरेपछि साह बैठकमा गएका हुन्। केन्द्रीय कमिटीको बैठक थपिएका केन्द्रीय सदस्य कुन्दन कुशवाह र मोहम्मद समीरको शपथ पनि भएको छ। साह समर्थित कुशवाह र समीर थपिएको एमाले उपाध्यक्ष भीम रावल भने रुष्ट छन्। माओवादी केन्द्रबाट आएकालाई प्राथमिकता दिएको तर १० बुँदे सहमतिमा ध्यान नदिएको भन्दै उनले सहमति कार्यान्वयनको लागि बनेको कार्यदलबाट राजीनामा दिएका छन्। उपाध्यक्ष रावल कार्यदलको संयोजक थिए। एमालेमा विवाद भएको बेला नै  सुदूरपश्चिमको इन्चार्जमा रावलको ठाउँमा लेखराज भट्टलाई जिम्मेवारी तोकिएको थियो।  भट्ट माओवादी केन्द्रबाट एमालेमा गएका हुन्। अन्य स्थानमा १० बुँदे कार्यान्वयन भएपछि रावल स्वयं भने सुदूरपश्चिम इन्चार्जमा फिर्ता हुन सकेनन्। जसका कारण उपाध्यक्ष रावल  पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रुष्ट भएका छन्।

महाधिवेशनपछि सिधै निर्वाचन 
एमाले महाधिवेशन उद्घाटनपछि सिधै नेतृत्व छनोटको प्रक्रिया अगाडि बढाउने भएको छ। केन्द्रीय कमिटी बैठकले महाधिवेशनपछि निर्वाचन प्रक्रिया गर्ने निर्णय गरेको छ। महाधिवेशनको उद्घाटन नारायणी नदीको किरानामा र बन्दसत्र सौराहमा हुने तय गरिएको छ। एमालेको महाधिवेशन आगामी मंसिर १० गतेदेखि १२ सम्म चितवनमा हुन गइरहेको छ। महाधिवेशनअघिको एमालेको अन्तिम केन्द्रीय समितिको बैठक मंसिर ९ गते सौराहमा हुने प्रवक्ता ज्ञवालीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.