गाउँ सम्झाउने ‘फुटुक पर्व’
आगोमा बालेको घिउ र तेलको धुवाँ (राप) ले गुम्बाको धुरी नाघेमा शुभ हुने वालुङ जातिमा धार्मिक विश्वास छ।
ताप्लेजुङको उत्तरी ओलाङ्चुङगोलामा अहिले बेग्लै रौनक छ। घर र गुम्बा सजाइएका छन्। बाटो सफा पारिएको छ। अन्य स्थानमा दसैं सकिएर तिहारको स्वागत गर्ने तयारी हुँदा यहाँ भने फुटुक पर्वको रौनक छ। देशभित्र मात्रै नभई विदेशमा रहेका वालुङ समुदायका नागरिक पनि अहिले ओलाङ्चुङगोला पुगेका छन्। फुटुक वालुङ समुदायले मनाउने सबैभन्दा ठूलो पर्व हो।
१० वर्षे जनयुद्धलगायतका राजनीतिक परिस्थिति र विभिन्न महामारीका कारण मौलिक पर्व तथा जात्राहरू धेरै मासिए। कोरोना महामारीले मनाउने शैली परिवर्तन गर्यो। तर जस्तोसुकै परिस्थितिमा पनि ताप्लेजुङको उत्तरी ओलाङ्चुङगोलामा मात्रै बसोबास गर्ने वालुङ समुदायले मनाउने फुटुक पर्व रोकिएन। गत वर्ष कोरोना महामारीको परिस्थितिमा समेत स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै मनाइएको पर्व यस वर्षसमेत सुरु भएको छ।
पर्व मनाउन गाउँ छोडेर अन्यत्रै कर्मथलो बनाएका वालुङ समुदायका स्थानीय फर्किएका छन्। पूर्वराज्यमन्त्री याङ्किला शेर्पालगायतको टोलीसमेत यो वर्ष पर्व मान्न ओलाङ्चुङगोला पुगेको छ। पर्व मनाउनको लागि टाँसी वालुङको संयोजकत्वमा चाडपर्व सञ्चालन समिति नै गठन गरिएको छ। समितिले समुदायको यो मात्रै नभई सबै मौलिक परम्परागत चाडपर्वलाई सञ्चालन गर्ने गरेको वडाध्यक्ष छेतेन वालुङ बताउँछन्।
प्रत्येक वर्षको दसैंको कोजाग्रत पूर्णिमापछिको पञ्चमी तिथिदेखि तिहारको औंसी (लक्ष्मी पूजा) को दिनसम्म मनाइने यो पर्व वालुङ समुदायको विशेष पर्व हो। पर्वको अवधिभर हरेक दिन मध्यरातिदेखि लामाले पूजापाठ गर्छन् र देव नृत्यसमेत देखाउने गरिन्छ। निरन्तर आगोमा घिउ र तेल जलाउँदै पूजापाठ गर्ने चलन रहेको यस पर्वमा आगोमा बालेको घिउ र तेलको धुवाँ (राप) ले गुम्बाको धुरी नाघेमा शुभ हुने वालुङ जातिमा धार्मिक विश्वास छ।
फुटुक पर्वको पछिल्लो तीन दिनलाई विशेष दिनका रूपमा लिइन्छ। सो समयमा पर्व सञ्चालन भएको गुम्बा परिसरमा पाल तथा अस्थायी छाप्रा बनाएर बस्ने गरिन्छ। प्रत्येक रात विभिन्न किसिमका देवनृत्य (देवता नाच) प्रदर्शनसहित पर्वको समापन गर्ने प्रचलन रहेको फक्ताङ्लुङ गाउँपालिकाका प्रवक्तासमेत रहेका छेतेन भोटेले बताउँछन्। उनका अनुसार पर्वमा सहभागी लामाहरूले देवता र राक्षसको मुखुन्डो लगाएर देवता तथा राक्षसबीचको युद्धको अभिनय गरी नृत्य देखाउने गरिन्छ। यसबेला भाकल गरे मनोकांक्षा पुरा हुने विश्वास छ।
‘पूजा हुने समयमा नेपालका विभिन्न स्थान, तिब्बत र ओलाङ्चुङगोलामा जन्मेका अमेरिकालगायतका विभिन्न देशमा बस्दै आएकाहरूको पनि उपस्थिति हुन्छ,’ स्थानीय तेन्जिङ वालुङ भन्छन् ‘त्यसबेला विशेषगरी सन्तान नहुने दम्पती, घरमा स्वास्थ्य समस्या भएका परिवार, पशुपालनमा समस्या भएकाहरूले भाकल गर्ने चलन छ। र त्यो मनोकांक्षा पूरा हुने विश्वास पनि छ।’ पर्वको अन्तिम दिन मुख्य लामाले दिनको समयमा देवनृत्य देखाएर रातमा आगोको ज्वाला गुम्बा कटाएसँगै विधिवत् रूपमा पर्व सकिएको औपचारिक घोषणा हुन्छ। आगोको ज्वाला गुम्बाको धुरी कटाउँदा सहभागीहरू धेरै खुसी देखिन्छन्। ज्वाला कटेपछि गाउँमा कुनै विनाश हुँदैन र महामारी तथा अनिकाल र कुनै समस्या नआउने जनविश्वास छ। काम विशेषले बाहिर गएकाहरू सकभर यो पर्वमा गाउँ फर्कन्छन्।
यहाँ देवता र राक्षसबीचको युद्ध झल्कने नृत्य हुन्छ। युद्धमा देवताको जित अर्थात् धर्म गर्नेको जित हुन्छ र अधर्म गर्ने राक्षसलाई संकेत गर्दै पराजित हुन्छ। नृत्यको मुख्य सन्देश ‘अधर्म गर्नु हुँदैन अर्थात् सधैं सत्यको जित हुन्छ भन्ने हो।’ लामाले मुखुण्डो र भेषभूषा लगाएर नृत्य गर्छन्। मानिस पालमा बस्नुको कारण लामाको नृत्य हेर्न र हेरेपछि मात्रै लामाबाट आशीर्वाद पाइन्छ भन्ने हो। फुटुक पर्व अझ केटाकेटीका लागि रमाइलो हुन्छ। किनकि पर्वको अवसर पारेर अभिभावकले छोराछोरीलाई नयाँ कपडा फेरिदिने चलन छ। मीठो मसिनो बनाएर खान्छन्/खुवाउँछन्।
ओलाङ्चुङगोलामा ४ सय ६३ वर्षे दिकी–छोलिङ छ। सोही गुम्बा परिसरमा मनाइने यस पर्वको धेरै विषेशता छन्। पूजापाठको समयमा प्रमुख लामा गुरुको आदेशबमोजिम बस्तीका प्रत्येक घरबाट खाद्य सामग्री संकलन गरिन्छ। जसले सामाजिक एकताको सन्देशलाई समेत बोकेको छ। ‘पहिलेपहिले गाउँका सबै मिलेर रकम संकलन गरेर पर्व मनाउने चलन थियो।’ प्रवक्ता छेतेनले भने ‘अहिले चाहिँ ओलाङ्चुङगोलामा जन्मिएर देश तथा विदेशमा कर्मथलो बनाएर बसेका स्थानीयले प्रायोजन गर्ने गरेका छन्।’ यस वर्षको पर्वमा समेत बेलायतबाट याङ्ला रुइत, पेम्बा फुटी, फोमोलालगायतले आर्थिक सहयोग गरेका छन्।
गत वर्ष कोरोना महामारीको समयमा पनि फुटुक पर्व मनाइएको थियो। गत वर्षको फुटुकमा उत्तरी नाका बन्द गरिएकाले चीनको स्वशासित क्षेत्र तिब्बतबाट पाहुना आउन सकेका थिएनन्।