बौद्ध स्थलका ४ नगर र स्पेनको काथेरेस नगरबीच भगिनी सम्बन्ध स्थापना
कपिलवस्तु : शाक्यमुनि बुद्धसँग सम्बन्धित कपिलवस्तु, रुपन्देही र नवलपरासीका ४ वटा नगरपालिका र स्पेन सरकारको काथेरेस नगरबीच भगिनी सम्बन्ध स्थापनाका लागि सहमति पत्रमा हस्ताक्षर गरिएको छ।
कपिलवस्तु नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, रामग्राम नगरपालिका र स्पेनको काथेरेस नगरबोच शनिबार कपिलवस्तुको प्राचीन तिलौराकोट दरवार क्षेत्रमा भगिनी सम्बन्ध स्थापनाका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको हो।
शाक्यमुनि बुद्धले २९ वर्ष बिताएको प्राचीन तिलौराकोट दरवार क्षेत्रमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र स्पेनको काथेरेस प्रादेशिक सरकारका प्रतिनिधिहरुको रोहवरमा दुवै देशका स्थानीय तहका प्रमुख तथा प्रतिनिधिबीच सहमति पत्रमा हस्ताक्षर भएको हो।
स्पेन सरकारको काथेरेस नगरपालिकाका प्रमुख, काथेरेस प्रदेश सरकारका प्रतिनिधिले सहमति पत्रमा हस्ताक्षर गरेका छन्। यसै गरी कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंह, लुम्विनी सांस्कृति नगरपालिकाका प्रमुख मनमोहन चौधरी, देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्री र रामग्राम नगरपालिकाका प्रमुख नरेन्द्रकुमार गुप्ताले हस्ताक्षर गरे।
सो अवसरमा राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले स्पेन र नेपालको सम्बन्ध प्रगाढ बनाउन र दुवै देशबीच आपसी सम्बन्ध भाइचाराका साथै विकास निर्माणको क्षेत्रमा समेत फड्को मार्न यस्तो भगिनी सम्बन्धले ठूलो सहयोग पुर्याउने अपेक्षा गरिएको बताएका छन्।
स्पेन स्थित लुम्बिनी गार्डेन फाउण्डेशनका उपाध्यक्ष उपाध्यक्ष गोविन्द सुवेदीको पहलमा यो भगिनी सम्बन्ध स्थापनाका लागि प्रयास सुरु भएको हो। स्पेनमा भएको विकासको क्रमलाई नेपालका बौद्ध नगरमा समेत ल्याउने र यस क्षेत्रको विकासमा स्पेनका नगरको समेत सहभागितालाई जोड दिने उद्देश्यले कार्यक्रम अघि बढाइएको लुम्बिनी गार्डेन फाउण्डेशन स्पेनका उपाध्यक्ष सुवेदीले बताए। 'अन्तत: यो सम्बन्धले वृहत्तर लुम्बिनी क्षेत्रको पर्यटन, कृषि, वातावरण, शिक्षा जस्ता क्षेत्रको विकासमा ठूलो सहयोग पुग्नेछ', सुवेदीले भने।
संसारभर अहिंसा, शान्ति, सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्ने शान्तिका अग्रदुत गौतमबुद्धको भूमिमा आएर बुद्ध नगरहरुसँग भगिनी सम्बन्ध राख्ने कार्यको शुभारम्भ गर्न पाउँदा आफूहरु निकै खुशी रहेको काथेरेस नगरका प्रमुख, प्रदेश सरकारका प्रतिनिधिहरुले बताएका छन्। महिला समानता, पर्यावरण संरक्षण, कृषि क्षेत्रको विकास लगायतका क्षेत्रमा आफूहरुले सहकार्य गर्ने स्पेनका स्थानीय निकायका प्रनिनिधिहरुले बताएका छन्।
स्पेनको काथेरेस नगरसँग भगिनी सम्बन्धबाट स्पेनको नगरको सिकाइलाई यस क्षेत्रमा प्रयोग गर्न पाइने र स्पेन सरकारबाट समेत थप सहयोग प्राप्त हुन सक्नेमा कपिलवस्तु, रुपन्देही र नवलपरासीका नगर प्रमुखहरु आशावादी बनेको कपिलवस्तु नगरपालिकाका नगर प्रमुख किरण सिंहले बताए।
गौतम बुद्धको जन्म स्थल लुम्बिनी, २९ वर्ष बिताएको क्रिडास्थल कपिलवस्तु, मावली देवदह र अष्ट धातु राखिएको स्थल रामग्राम क्षेत्रको महत्वलाई बुझेर स्पेनको काथेरेस नगरले यी क्षेत्रका ४ नगरलाई भगिनी सम्बन्ध स्थापनाका लागि अग्रसर रहेको रामग्राम नगरपालिकाका नगर प्रमुख नरेन्द्रकुमार गुप्ताले बताए। यो सम्बन्ध समग्र नेपालकै लागि निकै फलदायी हुने नगर प्रमुख गुप्ताले दाबी गरे।
भगिनी सम्बन्ध स्थापनाको सहमति पत्रलाई अक्षरश पालना गर्न गराउन लुम्बिनी गार्डेन फाउण्डेशनको ठूलो भूमिका रहने भए पनि यसलाई पूर्ण कार्यान्वयन गराउनका लागि चार वटा नगरपालिका, प्रदेश सरकार र केन्द्र सरकारले समेत महत्वपूर्ण अग्रसरता लिनु पर्ने देवदह नगरपालिकाका प्रमुख हिराबहादुर खत्रीले बताए। 'यो सम्बन्धलाई बलियो बनाइ स्पेनको काथेरेस नगर र हाम्रा ४ बौद्ध नगरबीच राम्रो सहकार्य गरी अघि बढ्नु पर्छ', नगर प्रमुख खत्रीले भने, 'हामीले जति सक्यो स्पेनका नगरबाट सिक्नु पर्छ र सक्दो सहयोग पनि भित्र्याउनु पर्छ।'
सो अवसरमा राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना सहित स्पेनका काथेरेस नगरपालिकाका प्रमुख तथा प्रनिनिधी र प्रदेश सरकारको प्रमुख तथा प्रतिनिधिले शाक्यमुनि बुद्धका पिता राजा शुद्धोधनको प्राचीन राजदरवार क्षेत्र, सम्राट अशोकले स्थापना गरेको अशोक स्तम्भ लगायतका कपिलवस्तुका बौद्धकालनी स्थलहरुको अवलोकन गरेका थिए।