मार्फाली किसानलाई स्याउमा करोडौंको क्षति
जोमसोम : मुस्ताङमा स्याउको राजधानी कहाँ हो भन्दा धेरै पारखीले बुझ्ने गर्छन् मार्फा । स्याउ उत्पादन र यसको सौन्दर्यतालाई जोडेर गीत समेत बन्यो ‘ क्या राम्रो स्याउबारी मार्फा गावैमा’ । २०४० को दशकअघि मार्फाबाटै मुस्ताङमा स्याउ खेति सुरु भएको थियो ।
मुस्ताङको महत्वपूर्ण नगदेबाली हो स्याउ । त्यसो त मार्फासँगै मुस्ताङका अन्य गाउँमा पनि स्याउ उत्पादन हुन्छ । मार्फाली किसानले बर्सेनि स्याउ उत्पादन गरेर कराडौं रुपमा भित्र्याउँछन्। कृषि र पर्यटनले महत्वपूर्ण मानिएको मुस्ताङको मार्फाली किसानले यो वर्ष भने स्याउ उत्पादनमा करोडौं रुपैयाँ क्षति व्यहोर्न पुगे।
जलवायु परिवर्तनले मुस्ताङको जनजीवन पछिल्लो समेत प्रभावित बन्दै जान थालेको छ। मौसम परिवर्तन, लगातारको वर्षा, असमान प्रकारको हिमपात लगायतका कारण स्याउमा विभिन्न रोगका प्रकोपहरु देखिँदा मार्फाली किसानले ठूलो क्षति व्यहोर्न पुगे। मार्फाली किसान सकबहादुर लालचनले गत वर्ष र यसवर्ष स्याउ उत्पादनमा करोडौंको क्षति भएको बताए ।
मुस्ताङको मार्फामा स्याउ बोटमा स्क्याप रोग र सान जोस स्केल किराको प्रकोप देखिँदा गुणस्तरीय स्याउ उत्पादनमा हरास आएको स्याउ किसानले लालचनले उल्लेख गरे । उनका अनुसार मार्फाको धवाङ क्षेत्र, वेनभच क्षेत्र,सपी क्षेत्र र मार्फा गाउँ गरी करिब ६० हेक्टर क्षेत्रफलमा लगाइएको यो वर्षको स्याउमा कमसल स्याउ फलेको हो । स्याउ किसान लालचनले गुणस्तरीय स्याउ नफल्दा किसानले १ सय रुपैयाँ केजीमा बिक्री गर्नुपर्ने स्याउ १० रुपैयाँ केजीमा समेत बिक्री हुन नसकेको गुनासो पोखे।
‘स्याउमा प्रकोप देखिदा गुणस्तरीय स्याउ फल्न सकेन, 'स्याउ किसान लालचनले भने, ‘स्याउ गुणस्तरहीन हुँदा सहजै बिक्री हुन सकेन, स्थानीय डिस्टिलरी उद्योगलाई सस्तो मूल्यमा बेच्न बाध्य भयौं।’ मुस्ताङको मार्फामा करिब १ सय २० घरधुरी छन् । जसमध्ये अधिकांशले स्याउ खेति गरेका छन् । स्याउ किसान लालचनले स्याउ बोटमा प्रकोप देखिएको र कम गुणस्तरको स्याउ फलेकाले सामान्य किसान घरधुरीले पनि करिब २ देखि ५ लाखसम्म क्षति व्यहोर्नु परेको उल्लेख गरे । ठूला स्याउ किसानले भने ३० लाख भन्दा बेसी क्षति व्यवहोर्नु परेको लालचनको बताए।
मुस्ताङको मार्फामा स्याउ उत्पादनमा हरास र गुणस्तरीय स्याउ नफल्नुमा मौसम प्रतिकुलताका कारण बगैचा व्यवस्थापन समस्या आएको हो । लगातारको अविरल वर्षाले किसानले प्रकोप नियन्त्रण गर्न नसक्दा स्याउ बोटमा रोगको संक्रमण देखिएको थियो ।
तर, मार्फाका ठूला स्याउ किसान बिष्णुराज हिराचनले भने स्याउमा क्षति व्यहोर्न नपरेको उल्लेख गरे । ‘मैलै जर्मनबाट आयातित प्रकोप नियन्त्रण औषधि प्रयोग गरे। अरुले अनुदानमा आएको कमसल खालको औषधि प्रयोग गरे। स्याउ बगैचा व्यवस्थापनमा कन्जुस्याइँ र उचित व्यवस्थापन गर्न नसकेमा यस्तै प्रकारको क्षति हुन्छ,'उनले भने ।’
कृषि ज्ञान केन्द्र मुस्ताङले मार्फा क्षेत्रबाहेक वारागुङ मुक्तिक्षेत्र ,जोमसोम,ठिनी,ढुम्बा,स्याङ, र टुकुचे लगायतमा स्याउ उत्पादन राम्रो भएको जनाएको छ । केन्द्र प्रमुख प्रकाश बस्ताकोटीले वारागुङ मुक्तिक्षेत्रमा कम वर्षा भएको र अन्य किसानले बगैचा व्यवस्थापनमा ध्यान दिएकाले स्याउको गुणस्तर राम्रो भएको बताए ।
कृषि ज्ञान केन्द्र मुस्ताङका अनुसार मार्फामा स्याउ बोटमा स्क्याप र सान जोस स्केल प्रकोप देखिएको हो । रोग लाग्दा बोटको पातहरुमा ढुसी लाग्छ भने स्क्याप रोग लाग्दा स्याउको पात झर्दै बोट उजाड हुने, स्याउ दानामा टिकटिके दाग देखिने, पत्ता खुम्चिएर सेतो ढुसी लाग्ने र स्याउको गुणस्तरमा समेत ह्रास आउने गर्छ।