एमाले महाधिवेशन ‘सहमति’को
काठमाडौं : एमालेले १०औं महाधिवेशनबाट सहमतिमा केन्द्रीय नेतृत्व चयनको तयारी गरेको छ। सहमतिमै वडा र पालिका अधिवेशन सम्पन्न भइसकेका छन्। चितवनमा मंसिर १० देखि १२ गते सम्म हुने महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाइने नेताहरू बताउँछन्। जसका लागि शनिबार एकैदिन देशभरबाट प्रतिनिधि चयन गर्ने तयारी रहेको एमालेले जनाएको छ।
कतिपय स्थानमा भने सर्वसम्मत रूपमा प्रतिनिधि चयन भइसकेका छन्। ललितपुरमा सम्पन्न पार्टीको विधान महाधिवेशनबाट विधि र नीति पारित गरिसकेकाले अब एमाले नेतृत्व चयनमा केन्द्रित हुनेछ।
महासचिव ईश्वर पोखरेलले नेतृत्व चयन सहमतिमै हुने स्पष्ट पारेका छन्। विगतभन्दा पृथक् ढंगले महाधिवेशन हुने दाबी महासचिव पोखरेलले गरे। ‘हामी सहमतिमै नेतृत्व चयन गर्छौं’, शुक्रबार आयोजित पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘विधान महाधिवेशन पनि सर्वसम्मतिबाटै सक्यौं। वडा र पालिकाका अधिकांश अधिवेशन सर्वसम्मतिमा भए। प्रतिनिधि चयन पनि सर्वसम्मतमै गर्दै छौं।’
प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले पनि सहमतिमै केन्द्रीय नेतृत्व चयन हुने बताए। ‘विधान महाधिवेशन पनि सर्वसम्मत ढंगबाटै भयो’, पत्रकार सम्मेलनमा नेता भट्टराईले भने,‘नेतृत्व पनि सहमतिबाटै हुन्छ।’
पार्टीको आन्तरिक समीकरण र राजनीतिक ध्रुवीकरणले अध्यक्षमा केपी शर्मा ओली नै सर्वसम्मत हुने देखिन्छन्। तर, पदाधिकारी र केन्द्रीय सदस्यमा धेरै आकांक्षी देखिएका छन्। उनीहरूको व्यवस्थापनमा भने जटिलता देखिन्छ।
राष्ट्रिय राजनीतिलाई सही दिशामा डोर्याउन पनि एमालेमा ओलीको नेतृत्व आवश्यक रहेको पोखरेलले बताए। राजनीतिक स्थिरताका लागि पनि एमालेको नेतृत्वमा सबै गोलबन्द हुुनुपर्ने उनको तर्क छ।
सत्ता बहिर्गमनदेखि पार्टी विभाजनसम्मको धक्का व्यहोरेको एमालेलाई पार्टी एकढिक्का देखाउन पनि सहमतीय प्रणाली आवश्यक रहेको नेताहरू बताउँछन्। अध्यक्षमा ओली निर्विकल्प देखिएको दाबी गरिए पनि उपाध्यक्ष भीम रावल र उपमहासचिव घनश्याम भुसालले उक्त पदमा उम्मेदवारी दिन सक्ने संकेत देखिएको छ। नेता रावलले गृहजिल्ला अछाममा आयोजित कार्यक्रममा अध्यक्षको उम्मेदवार बन्ने घोषणा गरेका थिए। उपमहासचिव भुसालले भने मुख खोलेका छैनन्।
महाधिवेशनबाट अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, ४ उपाध्यक्ष, १ महासचिव, १ उपमहासचिव र ७ सचिवसहित १५ पदाधिकारी निर्वाचित हुनेछन्। ४५ स्थायी समिति सदस्यसहित २ सय २५ जनाको केन्द्रीय कमिटी रहने व्यवस्था नयाँ विधानमा छ। यो महाधिवेशनमा अध्यक्षसहित पदाधिकारी मात्रै होइन केन्द्रीय सदस्यसमेत सहमतिमै चयन गर्ने तयारी नेतृत्वले गरिरहेको छ।
राष्ट्रिय राजनीति एमाले भर्सेस सत्ता गठबन्धनबीच घुमिरहेको छ। महासचिव पोखरेलले ओलीकै नेतृत्वमा गोलबन्द हुनुपर्ने बताए।
वरिष्ठ उपाध्यक्षमा महासचिव पोखरेल आउने सम्भावना छ। चार उपाध्यक्षमा धेरै आकांक्षी देखिएका छन्। रावल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य नवौं महाधिवेशनबाट उपाध्यक्ष निर्वाचित भएका हुन्। माओवादी केन्द्रबाट आएका रामबहादुर थापा, संविधानसभाध्यक्ष सुवास नेम्बाङ, उपमहासचिव भुसाललाई पनि व्यवस्थापन गर्नुपर्ने देखिएको छ।
महासचिवमा उपमहासचिव विष्णु पौडेल र शंकर पोखरेलको चर्चा छ।
पोखरेल महासचिव भए पौडेल उपाध्यक्ष हुन सक्छन्। पौडेल महासचिव भए पोखरेल उपमहासचिव हुन सक्ने सम्भावना छ। सचिवमा भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ नै दोहोरिने सम्भावना छ। ७ सचिवको पद भएकोले रघुवीर महासेठ र माओवादी नफर्केका टोपबहादुर रायमाझीलाई समेट्नुपर्ने अवस्था छ। स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे, रघुजी पन्त, विष्णु रिमाल, छविलाल विश्वकर्मालगायत नेता पनि पदाधिकारीका आकांक्षी छन्। नवौं महाधिवेशनमा महासचिवको उम्मेदवार बनिसकेकाले त्योभन्दा तल्लो पदमा उम्मेदवार नहुने संकेत पाण्डेले गरिसकेका छन्। माधवकुमार नेपालतिर नगएका र माओवादीमा नफर्केका नेतालाई व्यवस्थापन गर्नुपर्ने अवस्था एमालेमा छ।
प्रतिनिधि बढ्ने संकेत
महासचिव पोखरेलले महाधिवेशन प्रतिनिधि अझै बढ्न सक्ने संकेत गरेका छन्। २ हजारभन्दा बढी प्रतिनिधि हुने उनले बताए। कात्तिक १२ को केन्द्रीय कमिटी बैठकले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि रहने निर्णय गरेको थियो। पोखरेलका अनुसार महाधिवेशनमा एमालेका तीन प्रकारका प्रतिनिधि हुनेछन्। पदेन प्रतिनिधि जसमा केन्द्रीय कमिटी, केन्द्रीय निकायबाट स्वत: आउनेछन्। भौगोलिक क्षेत्र, जनवर्गीय संगठनबाट निर्वाचित प्रतिनिधि आउनेछन्। पाँच प्रतिशत प्रतिनिधि मनोनयन गरिनेछ।
पेपरलेस प्रचार
१०औं महाधिवेशनमा एमालेले कपडाको ब्यानर र कागजको पोस्टर प्रयोग नगर्ने भएको छ। ‘कागजको पोस्टर राख्दैनौं,’ प्रचार विभाग प्रमुख भट्टराईले भने, ‘भित्ते लेखन पनि हुँदैन। कपडाको ब्यानर पनि प्रयोग हुँदैन।’
महाधिवेशनमा सामाजिक सञ्जालको अधिकतम प्रयोग गरिने भट्टराईले बताए। डिजिटल मिडिया, डिजिटल डिस्प्ले, होर्डिङ बोर्डबाट प्रचार गरिने उनले बताए। पार्टीले गरेको कामको भिडियोमार्फत प्रचार पनि गरिने भएको छ।
महाधिवेशनको प्रचारका लागि ७ सय ५३ वटै स्थानीय तहमा गोष्ठी, अन्तत्र्रिmया, सेमिनारलगायत कार्यक्रम दिनहुँजसो गर्ने उनले बताए। उनका अनुसार मंसिर ७ गते सम्पूर्ण जिल्ला, नगरमा मोटरसाइकल र्याली गरिनेछ। प्रत्येक वडा कमिटीदेखि जनवर्गीय संगठनले स्वागतद्वार निर्माण गर्नुपर्नेछ।
महाधिवेशनको लोगो सार्वजनिक
महाधिवेशनमा प्रयोग हुने लोगो एमालेले सार्वजनिक गरेको छ। महासचिव पोखरेलले तुल्सीलाल स्मृति भवन च्यासलमा पत्रकार सम्मेलन गरी लोगो सार्वजनिक गरेका छन्। एकसिंगे गैंडाको मस्कटसहितको लोगो तयार पारेको छ।
लोगोमा गैंडाको मस्कटले कम्युनिस्ट पार्टीको झन्डा उचालेको छ। पार्टीका स्थायी समिति सदस्य विष्णु रिमालले पार्टीको नारासहित जिंगल सार्वजनिक गरेका छन्। ९ लाखको हाराहारीमा संगठित सदस्य हुने अनुमान एमालेको छ।