उपल्लो मुस्ताङमा पश्मिनाको सम्भाव्यता अध्ययन
जोमसोम : कृषि र पशुपालनले प्रचुर सम्भावना बोकेको मुस्ताङमा गत हप्ता पश्मिनासम्बन्धी बृहत सम्भाव्यता अध्ययन भएको छ । मुस्ताङ च्यांग्रा तथा पश्मिना कृषक संघको समन्वय तथा नेपाल पश्मिना उद्योग संघको सहकार्यमा उपल्लो मुस्ताङमा पश्मिनासम्बन्धी सम्भाव्यता अध्ययन भएको संघले जनाएको छ ।
नेपाल पश्मिना उद्योग संघका अध्यक्ष बिजय दुगड ,उपाध्क्ष धन लामिछाने, इन्टनेशनल कन्सल्टेन्ट (आईटीसी ) प्राविधिकविज्ञ डेभिड लि र आइटीसी कन्सल्टेन्ट नेपालका प्राविधिक इन्जिनियर प्रकाश झासहितको ४ सदस्ययीय टोली मुस्ताङ आइपुगेको मुस्ताङ च्यांग्रा तथा पश्मिना कृषक संघका अध्यक्ष करन ताङ्वेले जानकारी दिए ।
उनका अनुसार पश्मिनासम्बन्धी बेलायतीविज्ञ डेभिड लिसहितको टोली एक हप्ताको उपल्लो मुस्ताङको बसाइपछि सोमबार फर्किएको छ । पश्मिना अध्ययन टोलीले उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड र लोमान्थाङका स्थानीय जनप्रतिनिधि ,महिला समुह र पशुपालक किसानसँग छलफल तथा अन्तक्रिया गरेको मुस्ताङ च्यांग्रा तथा पश्मिना कृषक संघका उपाध्यक्ष छिरिङ वाङ्दीगुरुङले जानकारी दिए ।
पश्मिना सम्भाव्यता अध्ययनका क्रममा टोली पशुपालक किसानको घरदैलोमै पुगेर पशुपालन तथा पश्मिनासम्बन्धी जानकारी लिएको नेपाल पश्मिना उद्योग संघले जनाएको छ । टोलीले जोमसोममा पश्मिना सम्बन्धित सम्भाव्यताका विषयमा पत्रकार अन्तक्रिया समेत गर्यो । नेपाल पश्मिना उद्योग संघका अध्यक्ष विजय दुगडले मुस्ताङमा पश्मिनाको प्रचुर सम्भावना रहेको जानकारी दिए।
यसकै लागि संघको सहकार्यमा पश्मिनासम्बन्धी बेलायती विज्ञ टोली झिकाएर अध्ययन सुरु गरिएको जानकारी दिए । ‘बेलायती विज्ञ डेभिडले पशुपालकको गोठमै पुगेर स्थलगत अध्ययन गर्नुभयो, यहाँको भुवा कस्तो छ? भुवा संकलन गर्ने प्रक्रिया कस्तो छ ? उहाँ हेर्नुभयो, अध्यक्ष दुगडले भने,‘च्यांग्रा गोठको निरीक्षण र कृषकसँग भएको अन्तरक्रियाको सबै डिटेल लिएर रिपोर्ट आउँछ ,अनि त्यसपछि पश्मिना प्रर्वद्धनको प्रारम्भिक प्रक्रिया अघि बढाइनेछ।’
संघका अध्यक्ष दुगडले मुस्ताङमा पशुपालन विस्तार हुनसके ६ सय टन पश्मिनाको भुवा संकलन गर्न सकिने बताए । अहिलेको अवस्थामा पनि ३० टन पश्मिनाको भुवा निकाल्न सकिने भएपनि जम्मा ५ टन मात्र पश्मिनाको भुवा उत्पादन भइरहेको जानकारी दिए । उनले साविक अवस्थामा मुस्ताङमा करिब २५ टन पश्मिना प्रयोगबिहीन भइरहेको उल्लेख गरे ।
संघका अध्यक्ष दुगडले नेपालले बर्सेनि चीन,भारत र युरोपबाट करिब ४ अर्बको पश्मिनाको कच्चा पदार्थ खरिद गर्ने गरेको बताए । स्वदेशी पशुपालनलाई प्रोत्साहित गर्दै कच्चा पदार्थ संकलन गर्ने उद्देश्यले गत वर्ष चराङमा पश्मिनाको भुवा संकलन केन्द्र स्थापना गरेको बताए । उनले लोमान्थाङमा समेत अर्को वर्ष पश्मिनाको भुवा संकलन केन्द्र स्थापना गर्ने जानकारी दिए ।
सो अवसरमा बेलायती बिज्ञ डेभिड लिले उपल्लो मुस्ताङमा पर्याप्त चरनक्षेत्र रहेकाले लाखौको संख्यामा च्यांग्रा पालन ब्यवसाय गर्न सकिने अवस्था रहेको बताए । हामी गोठ पुग्यौं, पशु पालक किसानलाई प्रत्यक्ष भेट्यौं,बेलायती विज्ञ डेभिडले भने, ‘उनीहरुसँग कुरा गर्दा जम्मा ५/१० प्रतिशत मात्र भुवा निकाल्ने गरेको पायौं, उनीहरुलाई पश्मिनाको विषयमा पर्याप्त जानकारी रहेनछ, उनीहरुले भुवा निकाल्दा पशु स्वास्थ्यमा असर पुग्छ भने ।’
पश्मिना वि डेभिड लिले उपल्लो मुस्ताङका च्यांग्रा पालक किसानलाई प्रशिक्षणको आवश्यक रहेको बताए । पश्मिना प्रोसेसिङका लागि दिर्घकालिन र अल्पकालिन रुपले पश्मिना उत्पादन गर्न जरुरी रहेको डेभिडले उल्लेख गरे ।
अहिले त्यहाका किसानले जुन किसिमले भुवा कम्लिङ गरिरहेका छन् त्यसलाई रुपान्तरण गर्दै उपयुक्त प्रविधि झिकाएर पशु स्वास्थ्यको रक्षा गर्दै तालिमको खाचो रहेको बताए ।उनले पश्मिना प्रर्वद्धनका लागि पशू पूर्वाधार र पशु मेडिकललगायतका कुराहरुमा सैद्धान्तिक ज्ञान दिन आवश्यक रहेको डेभिडले औंल्याए ।
च्यांग्राको रौं पश्मिनाको लागि मुख्य कच्चा पदार्थ हो । यसको प्रशोधन गरी पश्मिनाको भुवा निकालिन्छ । पश्मिनाको धागोबाट बिभिन्न लत्ता कपडा तयार गरिन्छ । कुनै बेला बेलायती महारानी एलिजावेथले समेत मुस्ताङमा उत्पादित पश्मिनाको भुवाबाट बनेको कपडा लगाएकी थिईन ।बिदेशी परनिर्भतालाई न्युनिकरण गर्दै स्वदेशी पश्मिनाको उत्पादन गर्दै कृषकहरुलाई आत्मनिर्भर गर्ने उद्देश्यले नेपाल पश्मिना उद्योग संघले मुस्ताङमा पश्मिना संकलनमा जोड दिएको थियो ।
विश्व ब्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण उत्तरी कोरलानाका बन्द हुदा सीमावर्ती क्षेत्रका बासिन्दाको पश्मिना संकलन प्रभावित बनेको थियो । उत्त समाचार अन्नपूर्ण अनलाइनमा प्रकाशित भएपछि संघले मुस्ताङमा पश्मिना संकलनमा जोड दिएको संघको भनाइ छ । संघले मुस्ताङबाट गतवर्ष ८२ लाखको पश्मिना कच्चा पदार्थ खरिद गरेको बताएको छ । आगामी दिनमा पशुपालक किसानलाई तालिम तथा प्राविधिक सहयोग गर्दै उत्पादन क्षमता वृद्धि गर्ने तर्फ संघले पहल गर्ने जनाएको छ ।
यस्तै ,एक महिनाअघि पश्मिनासम्बन्धी युरोपियन संघकी राजदूत नोना डिप्रेजसहितको टोली उपल्लो मुस्ताङ पुगेको थियो । टोलीले उपल्लो मुस्ताङका स्थानीय जनप्रतिनिधि,पशु पालक किसान र स्थानीयसंग भेटघाट तथा अन्तरक्रिया गरेको थियो भने राजदूत डिप्रेजले चराङमा रहेको पश्मिना संकलन केन्द्रको उद्घाटन गरेकी थिइन् । सो अवसरमा राजदूत डिप्रेजले स्थानीय च्यांग्रा गोठहरुको समेत स्थलगत अवलोकन गरेकी थिइन् ।