मुस्ताङमा प्रहरीको भौतिक संरचना उद्घाटन
जोमसोम : दुर्गम हिमाली जिल्ला मुस्ताङमा प्रहरीको आधुनिक भौतिक संरचना निर्माण भएको छ। मुस्ताङमा प्रहरीको भौतिक संरचना निर्माणका लागि संघ तथा प्रदेश सरकार मार्फत बजेट विनियोजन भएपछि प्रहरीको दैनिक कार्यसम्पादन सहज भएको छ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङको प्रहरी जवानदेखि जुनियर प्रहरी बस्ने आवास तथा भान्साघर निर्माणका लागि ३ करोड ४२ लाख र प्रहरी नायब उपरीक्षक, प्रहरी निरीक्षकको आवास तथा भान्साघर निर्माणका लागि १ करोड ३३ लाख बजेट विनियोजित भएको थियो। यस्तै संघीय सरकारबाटै प्राप्त २ करोड ९ लाख बजेटबाट प्रहरी चौकी घासाको कार्यालय कक्ष, शौचालय, पुरुष र महिलाको लागि अलग-अलग हिरासत कक्ष र कर्मचारीको लागि बस्ने आवास तथा भान्सघर निर्माण भएको हो।
उत्तरी चिनसँग सीमाना जोडिएको लोमान्थाङ गाउँपालिका—५ लोमान्थाङमा सीमा प्रहरी चौकीको भौतिक संरचना निर्माण सम्पन्न भएको छ। गण्डकी प्रदेश सरकारबाट विनियोजित ३ करोड ७ लाख बजेटबाट लोमान्थाङमा सीमा प्रहरी चौकीको भौतिक संरचना निर्माण भएको हो। मुस्ताङको जोमसोम—घाँसा—लोमान्थाङमा निर्माणको जिम्मा सन्त निर्माण सेवाले लिएको थियो।
जिल्ला प्रहरी कार्यालय मुस्ताङ, घाँसा प्रहरी चौकी र सीमा प्रहरी चौकी गरी ४ वटै प्याकेजको भौतिक संरचनाको प्रहरी प्रधान कार्यालय, आवास तथा भौतिक परियोजना माहाशाखाबाट योजना तर्जुमा भइ जिल्ला प्रहरी कार्यालय मुस्ताङले निर्माण व्यवसायीसँग ठेक्का सम्झौता गरेको प्रहरी नायब उपरीक्षक इन्जिनियर केविनजङ्ग थापाले जानकारी दिए। मुस्ताङमा प्रहरीको भौतिक संरचना निर्माण भएसँगै प्रहरीको कार्यसम्पादनमा सहज हुने अपेक्षा गरिएको छ। यस्तै ३ वर्षअघि जिल्ला प्रहरी कार्यालयको कार्यालय भवन तथा हिरासत कक्ष संघीय सरकारकै बजेटबाट निर्माण भएको थियो।
मुस्ताङमा प्रहरीको आधुनिक भौतिक संरचना नहुँदा कार्यालयमा कार्यरत प्रहरीको दैनिक जीवन कष्ठकर हुनुको साथै कार्यसम्पादनमा समेत असहज अवस्था रहेको थियो। ढुङ्गा र माटोले बनेको एक तले परम्परागत भौतिक संरचना हुँदा प्रहरीलाई काम गर्न अप्ठ्यारो पर्ने र हिउँदयाममा हिमपात हुँदा विभिन्न समस्या पर्ने गरेको थियो। लोमान्थाङमा पनि प्रहरीको जीर्ण भवन हुँदा त्यहाँ कार्यरत प्रहरीलाई असहज अवस्था बनेको थियो भने थासाङको घाँसामा लामो समयदेखि प्रहरी चौकी व्यक्तिको घरमा भाडामा बस्दै आइरहेको थियो।
मुस्ताङ प्रहरीको भौतिक संरचना निर्माण भएसँगै जिल्ला प्रहरी कार्यालयका साथै प्रहरीको १६ वटा इकाईमध्ये दुई वटा इकाईमा कार्यसम्पादन सहज भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामकुमार दानीले उल्लेख गरे।
गण्डकी प्रदेश प्रहरी प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक दिवेश लोहनीले शनिबार जिल्ला प्रहरी कार्यालयको नवनिर्मित भौतिक संरचनाको उद्घाटन गरे। यस्तै उनले शनिबार प्रहरी चौकी घाँसाको भौतिक संरचनाको उद्घाटन गर्ने जनाएका छन् भने आइतबार सीमा प्रहरी चौकी लोमान्थाङको नवनिर्मित भौतिक संरचनाको उद्घाटन गर्ने कार्यक्रम रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
प्रहरीको नवनिर्मित भौतिक संरचना उद्घाटनका क्रममा आयोजित कार्यक्रममा गण्डकी प्रदेश प्रहरी प्रमुख एंव प्रहरी नायब महानिरीक्षक दिवेश लोहनीले प्रहरी प्रधान कार्यालयले प्रहरीको भौतिक संरचना निर्माण क्रमिक रुपले राम्रो बनाउने उद्देश्य अनुसार काम भइरहेको बताए।‘हिजोका दिनमा केन्द्रबाट मात्र बजेट विनियोजन हुन्थ्यो,अब प्रदेश सरकारबाट पनि पूर्वाधार निर्माणमा बजेट विनियोजन भइरहेको छ', प्रदेश प्रहरी प्रमुख लोहनीले भने, ‘प्रहरी पूर्वाधार निर्माणमा बजेट आउन थालेपछि पूर्वाधार निर्माणको कामले गति लिन थालेको छ।’ प्रदेश प्रहरी प्रमुख लोहनीले प्रदेश सरकारले एक प्रहरी एक खाटको अवधारणा लिएको र सो अनुसार प्रदेशका सबै प्रहरीलाई खाटको व्यवस्था भएको जानकारी दिए।
पछिल्लो समय प्रहरीको भौतिक संरचना र जग्गा समेत आधुनिक बन्दै गइरहेकाले गर्दा प्रहरीको सुविधा मात्र नभइ काम गर्ने वातावरण निर्माण भइरहेको प्रदेश प्रहरी प्रमुख लोहनीले उल्लेख गरे। भौतिक संरचना उद्घाटनका क्रममा प्रदेश प्रहरी प्रमुख लोहनीले समुदाय प्रहरी साझेदारीको अवधारणा अनुसार प्रहरीहरु जनउत्तरदायी ढंगले कार्यसम्पादन गर्न मुस्ताङमा कार्यरत प्रहरीलाई निर्देशन दिए।
यसअघि प्रदेश प्रहरी प्रमुख लोहनीले जिल्ला प्रहरी कार्यालय भवनको नवनिर्मित भौतिक संरचनाको निरीक्षण गरेका थिए।