विवाह पञ्चमीको लागि जनकपुरधाममा सरसफाइ
ढल्केवर(धनुषा) : सिताराम विवाह पञ्चमी नजिकिँदै गर्दा जनकपुरधाममा सरसफाइ गरिएको छ। जनकपुरधाममा हर्षोल्लासकासाथ मनाइने विवाहपञ्चमीको अवसरमा जानकी मन्दिर परिसर, बाह्र विघा रंगभूमी मैदान र त्यस आसपासका क्षेत्रमा बृहत सरसफाइ गरिएको हो।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितको सहभागितामा बुधबार बिहान बृहत सरसफाइ कार्यक्रमको आयोजना गरिएको थियो। सरसफाइका लागि मुख्यमन्त्रीसहित मन्त्री, विभिन्न मन्त्रालयका कर्मचारी, जनकपुरधामका नगरप्रमुख, उपप्रमुख, सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मी हातहातमा झाडु–कुच्चो लिएर सडकमा उत्रिएका थिए।
विवाहपञ्चमी तयारीको क्रममा सरसफाइ कार्यक्रमको आयोजना गरिएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए।
यसअघि नगरपालिकाका सरसफाइ कर्मचारी आन्दोलनमा उत्रिएपछि जनकपुरधामको विभिन्न भागमा थुपारिएको फोहरले शहर दुर्गन्धित बनेको थियो। केही वडाध्यक्षसँग विवाद भएपछि सरसफाइ कर्मचारीहरु आन्दोलित बनेका थिए।
विवाहपञ्चमी नजिकिँदै गर्दा नगप्रमुख र वडाध्यक्षको आग्रहमा सरसफाइ कर्मचारी नियमित काममा फर्किएपछि जनकपुरधाममा फोहर उठ्न थालेको छ। यद्यपि केही वडाअध्यक्षले नगप्रमुखकै कारण नगर दुर्गन्धित बनेको आरोप लगाउँदै आएका छन्।
विवाहपञ्चमीको अवसरमा बुधबार आयोजित बृहत सरसफाइ कार्यक्रममा मुख्यमन्त्ती राउतसँगै, प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री शत्रुधन महतो, जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख लालकिशोर साह, उपप्रमुख रिता झा, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलालगायतको सहभागिता रहेको थियो।
यस वर्ष मंसिर १७ गतेबाट विवाह पञ्चमी महामहोत्सवको कार्यक्रम सुरु हुँदैछ। महोत्सव अन्तर्गत पहिलो दिन मंसिर १७ गते जनकपुर नगरदर्शन, १८ गते फूलवारी लिला, १९ गते धनुषयज्ञ, २० गते तिलकोत्सव, २१ गते मटकोर, २२ गते स्वयम्बर र शुभ विवाहोत्सव र २३ राम कलेवासँगै विवाह पञ्चमी सम्पन्न हुनेछ।मिथिला परम्पराअनुसार सात दिनसम्म विभिन्न विधि सम्पन्न गरी वैवाहिक कार्यक्रमको आयोजना हुने सातै दिनलाई भव्यरुपमा मनाउन तीव्र रुपमा तयारी भइरहेको जानकी मन्दिरका उत्तराधिकारी वैष्णवले जनाए।