उपल्लो मुस्ताङमा आशिंक हिमपात : धारा, कुलो र ट्याङ्कीमा पानी जमे

उपल्लो मुस्ताङमा आशिंक हिमपात :  धारा, कुलो र ट्याङ्कीमा पानी जमे

जोमसोम : उपल्लो मुस्ताङमा शनिबार बिहानैदेखि आंशिक हिमपात भएको छ। हिमपातसँगै सो क्षेत्रमा अत्यधिक चिसो बढेको छ। तर मुस्ताङको तल्लो क्षेत्रको मुक्तिनाथबाहेक अन्य स्थानमा भने भीषण वर्षा भएको जनाइएको छ।

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा आशिंक हिमपात भएको लोघेरक दामोदरकुण्ड—३ का वडाध्यक्ष सम्तेन धावा गुरुङले जानकारी दिए। उनका अनुसार लोमान्थाङ गापाको लोमान्थाङ, ठिङ्गर, सम्जुङ, चुमजुङ, फुवा, छोसेर र कोरलानाका आसपासका क्षेत्रमा हिमपात भएको हो। लोघेकर दामोदरकुण्ड गापाको चराङ, मराङ, घमी, ढाक्मर, घिलिङ, यारा, घारा, ढि र सुर्खाङ लगायतका क्षेत्रमा आशिंक हिमपात भएको हो।

बर्सेनि हिउँदयामको मौसममा उपल्लो मुस्ताङमा हिमपातसँगै चिसो बढ्ने गर्छ। उपल्लो मुस्ताङमा कार्तिकदेखि चिसो बढे पनि शनिबार परेको हिउँ सिजनकै पहिलो हिमपात भएको स्थानीयको भनाइ छ। उपल्लो मुस्ताङमा आशिंक हिमपात भएसँगै उच्चलेकका डाँडाकाँढा सेताम्मे भएका छन्। तर बाक्लो हिमपात नभएकाले बस्ती क्षेत्रमा भने खासै हिउँ जम्न नसकेको लोमान्थाङका स्थानीय आङ्गेल गुरुङले जानकारी दिए। 

उनका अनुसार उपल्लो मुस्ताङमा तापक्रम घटेर माइनस १५ डिग्री पुगेको छ। चिसो अप्रत्यासित बढेकाले शाखा नदी, घरका धारा, सेफ्टी ट्याङ्की  र सिचाई कुलो समेत जमेको छ। उपल्लो मुस्ताङमा हिमपात भएसँगै खर्कमा पालन गरिएका याकचौरी,भेडा च्यांग्रासमेत बस्ती नजिक झारिएको छ। चिसो बढेसँगै स्थानीयको दैनिकी समेत प्रभावित बनेको छ।

उपल्लो मुस्ताङमा हिउँदयाम लागेपछि स्थानीय जाडो छल्न बेसी झर्ने परम्परा छ। गत वर्ष कोरोना कहरले गाउँमै थुनिएका स्थानीयहरु यसपटक भने जाडो छल्न र घुम्ती ब्यापारका लागि बेसी झरेका छन्। उपल्लो मुस्ताङ र कोरलानाका सम्म जाने आन्तरिक पर्यटकको उपस्थिति समेत नगण्य हुन थालेको पर्यटन होटल हिमालयन लोमान्थाङका पर्यटन व्यवसायी गोम्बो गुरुङले जानकारी दिए। 

उनका अनुसार उपल्लो मुस्ताङ अत्यधिक चिसो बढेसँगै सुनसान हुन थालेको उल्लेख गरे। लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापाका ८० प्रतिशत स्थानीय चिसोकै कारण बेसी झरिसकेको लोघेकर दामोदरकुण्ड—१ का वडाध्यक्ष टसी ढिन्डुक ठकुरीले बताए। उनका अनुसारका चिसो र हिमपातको मौसम भएकाले सबै विकासे योजनाको काम ठप्प भएको छ।

लोमान्थाङ र लोघेरक दामोदरकुण्ड गापा अन्तर्गतका अधिकांश सामुदायिक गुम्बा, निजी विद्यालय जाडो छल्न मंसिरको पहिलो साता बेसी झरिसकेका छन्। उनीहरुलाई पोखराका विभिन्न स्थानमा स्थान्तरण गरी पठन-पाठन गरिएको जनाइएको छ। उपल्लो मुस्ताङमा खेतीपातीको कामकाज सकेर स्थानीय बेसी झर्छन्। उनी हिउँद सकेर गर्मी सुरु भएपछि खाद्यान्न र लत्ताकपडा लिएर उकालो उक्लिन्छन्। घुम्तीका विद्यालय वैशाख लागेपछि साविककै स्थानमा लगेर पठन-पाठन गर्ने गरिन्छ। यस्तै उपल्लो मुस्ताङमा चिसो बढेसFगै त्यहाँको दुई स्थानीय तहका कर्मचारीसमेत जोमसोम झर्ने तयारी गरेका छन्। स्थानीय स्तरमा नागरिक नभएको र सेवा प्रवाहमा समेत कठिनाइ हुने हुँदा स्थानीय तहको सम्पर्क कार्यालय जोमसोममा राखिएको छ। उनीहरुले पालिकाले दिने अतिआवश्यकीय सेवा सम्पर्क कार्यालयबाटै दिने व्यवस्था मिलाइएको जनाइएको छ।

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा अपेक्षा अनुकुलको हिमपात हुन सकेको छैन। मौसममा आएको फेरबदलका कारण कुनै वर्ष भारी हिमपात हुने, कुनै वर्ष आशिंक र कुनै वर्ष हिमपात नहुने अवस्था रहेको छ। विगतको ५ वर्षअघि उपल्लो मुस्ताङदेखि तल्लो मुस्ताङसम्म भारी हिमपात हुने गर्थ्यो तर पछिल्ला वर्षहरुमा भने तल्लो क्षेत्रमा हिमपात नभइ वर्षा हुन थालेको छ। शनिबार वारागुङ मुक्तिक्षेत्रको कागबेनीदेखि तल भारी वर्षा भएको थासाङका स्थानीय सोजन हिराचनले जानकारी दिए। उनले बिगतमा दुई फिटसम्म हिउँ पर्ने तल्लो मुस्ताङमा आशिंक मात्र हिमपात अनि त्यसको साथमा वर्षा हुन थालेको बताए। उनले बर्खायाम र हिउँदयामको वर्षाले कृषि र पर्यावरणमा नकारात्मक असर पुर्‍याएको उल्लेख गरे। ‘हिउँदको हिउँ कृषकका लागि बरदान हो तर पछिल्लो समय हिउँ पर्न सकिरहेको छैन। यो किसानका लागि दुरभाग्य नै हो', उनले भने। 

तल्लो मुस्ताङमा हिउँ पर्न छोडेपछि स्याउ लगायतका रैथाने अन्नबालीमा रोगको प्रकोप देखा पर्न थालेको उनले बताए। उनले जमिनको तापक्रम वृद्धि भइरहेकाले विभिन्न प्रकोप निम्तन सक्ने र त्यसका लागि पूर्व सावधानी अपनाउन आवश्यक रहेको उल्लेख गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.