मुख्यमन्त्री पाण्डेद्वारा पुलको सिलन्यास
![मुख्यमन्त्री पाण्डेद्वारा पुलको सिलन्यास](https://annapurnapost.prixacdn.net/media/albums/rajendra-panday-1_20211204155928_5tXkLLkKtM.jpg)
सिन्धुली : सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका २ बखफर र वडा नम्बर ४ को हाकपारा जोड्ने गरी मरिण खोलामा पक्की पुलको सिलन्यास गरिएको छ। शनिबार एक कार्यक्रमका बीच बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले पुलको सिलन्यास गरेका हुन्।
लामा विधिबाट भूमि पूजा गर्दै पुलको सिलन्यास गरेका मुख्यमन्त्री पाण्डेले पुलको निर्माणले यस क्षेत्रको विकासमा कायापलट गर्ने विश्वास व्यक्त गरे। उनले भने, 'यो पुलको निर्माणसँगै हिमाल, पहाड र तराई जोड्ने र विकास गर्ने गरी कामको सुरुवात भएको छ। यसले काभ्रे, मकावनपुर, सिन्धुली, सर्लाही र रौतहट जिल्ला जोड्ने छ।'
पुल निर्माणले सिन्धुली जिल्लामा जुनारको बिक्रीमा समेत सहयोग गर्ने उल्लेख गरे। हेटौंडा-सिन्धुली-चतरा (मदन भण्डारी लोकमार्ग) अन्तरगत सिन्धुली र मकवानपुर जोड्ने बागमती नदीको पक्की पुल निमार्णमा ढिलाइ भएको प्रति चासो राख्दै तत्काल निर्माण सम्पन्न नभए कारवाही गरिने चेतावनी दिए।
यस्तै कार्यक्रममा पूर्व कृषिमन्त्री तथा संघीय सांसद् हरिबोल गजुरेलले मरिण नदिको पुलको सामरिक महत्त्व रहेको भन्दै पुलसँगै सडक पनि १२ महिना नै निर्वाद सञ्चालन गर्ने गरी निर्माण गर्नु पर्ने आवश्यकता औंल्याए। उनले भने, 'यो पुलले विकट पालिकालाई सुगम बनाउने छ। विकासका काम आवश्यकता र महत्त्वका आधारमा सञ्चालन गर्नुपर्छ। यस्ता काम गर्दा धेरैभन्दा धेरै नागरिकले सुविधा पाउने गरी प्राथमिकतामा राखेर गर्नुपर्छ।'
मरिण नदिमा पुल नहुँदा विकट कर्णालीको जस्तै दु:ख रहेकोमा पुलले सहजता ल्याउने अपेक्षा गरिएको छ। स्थानीयले वर्षौंदेखि माग गर्दै आएको पुल बागमती सरकारकै सबैभन्दा धेरै लागतमा बन्न लागेको हो। २६२.४० मिटर लम्बाई र ८.४ मिटर चौडाई भएको पुलको लागत पि.एस र मूल्य अभिवृद्धि करसहित १९ करोड २५ लाख ४१ हजार ८ सय १७ रूपैयाँ रहेको छ।
पुलको स्पान संख्या ५ वटा रहने बताइएको छ। पुलको निर्माण ठेक्का हिम्दुंग र थोकर इम्मानुयल सारस जेभीले पाएको छ। २०८७ असार २२ गते सम्झौता भएको पुल २०७९ पुस २२ गतेभित्र सम्पन्न गर्नु पर्ने बागमती प्रदेश भौतिक मन्त्रालयका सचिव अशोककुमार शाहले बताए। पुलको सिलन्याससँगै स्थानीयमा खुसीयाली छाएको छ। पुल निर्माणपछि हिमाल पहाड र तराई जोडिने हरिहरपुरगढी गाउँपालिकाका अध्यक्ष कार्साङ लामाले बताए। पुल निर्माणले सिन्धुली, मकावनपुर, काभ्रे, सर्लाही र रौतहट जिल्लाका नागरिक लाभान्वित हुनेछन्। मदन भण्डारी लोकमार्गबाट बखफर-हाकपुर हुँदै सर्लाहीको कर्मैया स्थित पूर्वपश्चिम महेन्द्र राजमार्ग जोडिने छ।
पुल नहुँदा मरिण नदिले बगाएर दर्जानौं स्थानीयले अकालमा ज्यान गुमाएका थिए। पुल सिलन्यास कार्यक्रममा प्रदेश सांसद्हरू वसन्त माझी र विनोद खड्का लगायतका स्थानीय राजनितिक दलका नेताहरूले समयमा पुल निर्माण सम्पन्न गर्न सबै सक्रियताका साथ लागी पर्न समेत आग्रह गरे।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)