‘महिनावारी नसारौं’

‘महिनावारी नसारौं’

काठमाडौं : भक्तपुर कटुन्जेकी निता पाण्डेले दसैंमा टीका लगाउन पाइन्न भनेर महिनावारी रोक्ने औषधि खाइन्। अष्टमीको दिनदेखि टीकाको भोलिपल्टसम्म लगातार चार दिन उनले औषधि खाइन्।

महिनावारी त धकेलियो। तर, उनलाई केही दिनपछि रिंगटा लाग्ने, वाकवाकी आउनेलगायतका समस्या देखिए। अर्को महिना महिनावारी हुँदा उनलाई निकै गाह्रो भयो। ढाड र पेट अत्याधिक दुखेसँगै रक्तश्राव पनि धेरै भयो।
घरपूजाका लागि बालकोटकी रीता शर्माले धुमधाम तयारी गरिन्। बुधबार पूजाको साइत थियो। महिनावारीको दिन नजिकिइसकेकाले उनलाई आफन्त र साथीभाइले औषधि खाएर २/३ दिन पर सार्न सल्लाह दिए। उनी त्यसै गरिन्। तर, घरपूजाको अघिल्लो दिन बिहानै उनी महिनावारी भइन्। औषधि खाँदा पनि उनको महिनावारी रोकिएन। उल्टै यसको असर महसुस गर्न थालिसकेकी छन्। 

विभिन्न चाडपर्व, विवाह व्रतबन्ध, पूजापाठलगायतका अवसरमा महिनावारी सार्ने प्रचलन पुरानै हो। हिजोआज विश्वभर मर्यादित महिनावारीका कुरा उठिरहँदा औषधि सेवन गरेर महिनावारी पर सार्ने क्रम पनि उत्तिकै छ। औषधिले तुरुन्तै केही असर नदेखाए पनि यसले दीर्घकालीन रूपमा शरीरमा विभिन्न समस्या उत्पन्न गर्छ। यो कुरा कतिपयलाई थाह नहुँदा पनि प्रायः यस्ता औषधि सेवन गर्ने गरेको पाइन्छ। नेपालमा मात्र नभई भारत, चीन, श्रीलंकालगायतका देशमा पनि स्वास्थ्यकर्मी र श्रमिक महिलाले औषधि सेवन गरेर महिनावारी पर सारेका घटनाहरू विभिन्न सञ्चार माध्यममा बेला बेलामा आउने गरेका छन्।

समाजमा रहेको महिनावारी विभेदका कारण अझै पनि विभिन्न चाडपर्व र अवसरहरूमा औषधि खाएर महिनावारी पर धकेल्ने गरिएको मर्यादित महिनावारीमा सक्रिय सामाजिक अभियन्ता राधा पौडेलले बताइन्। उनले भनिन्, ‘महिनावारी भनेर लाज र डर मान्नु पर्दैन। कसैको कपडामा रातो दाग देखे पुरुष साथीले पनि ‘तिमी महिनावारी त भएनौ’ भन्न सक्ने वातावरण बन्नुपर्‍यो। औषधि खाएर महिनावारी नसारौं।’ स्कुल, कलेज, होटेल, रेस्टुराँलगायतका सम्पूर्ण क्षेत्र मर्यादित महिनावारीमैत्री बनाइनुपर्ने उनको भनाइ छ। 

महिनावारी पर सार्न खाइने औषधि हर्मन हो। यस्तो औषधिका रूपमा परिवार नियोजनको साधन पिल्स पनि लिइन्छ। यो पिल्समा इस्ट्रोजेन र प्रोजेस्टेरोन नामको हर्मन हुन्छ। त्यसैगरी, अर्को औषधिमा भने प्रोजेस्टेरोन मात्र हुन्छ। महिनावारी सार्न पिल्सको सेवन गर्ने महिलामा वाकवाकी आउने, टाउको दुख्ने, शरीरमा थकान महसुस गर्नेलगायतका समस्या देखिन सक्ने वरिष्ठ स्त्री रोग विशेषज्ञ डा. सरिता आचार्यले बताइन्।  त्यसैले यस्तो औषधि प्रयोग गर्दा डाक्टरसँग परामर्श गरेर मात्र लिनुपर्ने डा. आचार्यको भनाइ छ। विश्वभर डिसेम्बर ८ लाई ‘मर्यादिन महिनावारीका लागि अन्तर्राष्ट्रिय दिवस’का रूपमा मनाउने गरिन्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.