कांग्रेसको मञ्चमा कम्युनिस्ट रमिता

कांग्रेसको मञ्चमा कम्युनिस्ट रमिता

काठमाडौं : कांग्रेसको १४औं महाधिवेशनले शुक्रबार कम्युनिस्ट नेताहरूलाई ‘पुनर्मिलन’ गराएजस्तो भयो। कांग्रेसलाई शुभकामना दिन आएका उनीहरू एकले अर्कालाई व्यंग्य गर्न भने छाडेनन्। महाधिवेशन उद्घाटन सत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाका बायाँतिर थिए। माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधवकुमार नेपाल दायाँतिर बसेका थिए। 

दाहाल र ओली कुराकानी गरेजस्तो पनि देखिन्थे। जब कि दाहाल निम्तो पाएर पनि एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा गएका थिएनन्। एमालेले नेपाललाई त निम्तोसमेत गरेको थिएन। यस्तै जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव र लोकतान्त्रिक समाजवादी पार्टी अध्यक्ष महन्थ ठाकुर सँगैको कुर्सीमा बसेका थिए। जब कि यी दुई नेता पनि पार्टी विभाजन गरेर अलगअलग भएका हुन्। त्यसमाथि राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनको अभिव्यक्तिप्रति ओली र दाहालले रोष प्रकट गरे।     

कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले पनि कटाक्ष गर्न छाडेनन्। देउवाले भने, ‘एउटा स्पष्ट कुरा के हो भने जुन दिन मेरो सरकार बन्यो त्योभन्दा अगाडिको दिनको डर, त्रास कस्तो थियो हेर्नुस्। म प्रधानमन्त्री भएको भोलिपल्टैै ओलीको शासनबाट मुक्ति पाएजस्तो भयो। जनताले त्यो महसुस गरे। देशले नै ओलीको शासनबाट मुक्ति पायो। अब यही स्वतन्त्रतालाई बचाइराख्ने हो भने यो महाधिवेशनले निर्णय गर्नुपर्छ।’ देउवाले राष्ट्रियसभा, स्थानीय तह र केन्द्रको चुनाव आउँदै गरेको बताए। 

‘कांग्रेसको सरकार टिकिराख्यो भने मात्र आउँदो सरकारमा गाउँदेखि केन्द्रसम्म कांग्रेसको प्रतिनिधित्व हुन्छ’, उनले भने, ‘तपार्इंहरू मलाई सभापतिमा जिताउनुहोस्। स्थानीय र आमनिर्वाचनमा कांग्रेस जिताउने जिम्मा मेरो भयो।’ उनले कांग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलको लामो भाषणप्रति पनि व्यंग्य गरे। भने, ‘रामचन्द्रजी चिसोले गर्दा बोल्नै सक्नु भएन।’ 

एमाले अध्यक्ष ओलीले केही साना दललाई कांग्रेसले औंलो समाउन दिएन भने के होला भन्ने पीर रहेको बताए। ‘सधैं सुन्छु, सँगै जानुपर्छ, सँगै जानुपर्छ। सँगै जानुपर्छ भनेको सरकारमा मात्रै हो कि देश बनाउन सँगै जाने हो ? देश बनाउन सँगै जाने कुरामा नेकपा (एमाले) नेपाली कांग्रेसको साथमै छ’, ओलीले भने, ‘हामी सरकारमा छैनौं, प्रतिपक्षमा छौं। प्रतिपक्ष भनेको के संसद्को अंग होइन ? लोकतन्त्रको सवालमा हामी साथमा छैनौं ? त्यसकारण सरकारबाट हट्नुपर्ला कि भन्ने कतिपयलाई चिन्ता होला।’ 

एमाले एक्लै हिँड्न रहर पनि नगर्ने उनको भनाइ थियो। राणाशासन, राजतन्त्र फाल्नेदेखि संघीय गणतन्त्र ल्याउनेसम्मको भूमिका निर्वाह गरेको कांग्रेसप्रति जनताले ठूलो भरोसा राखेकाले सोहीअनुसार अघि बढ्न उनले सुझाए। 

राप्रपा अध्यक्ष लिङ्देनले नेताहरू गाउँघर जाँदा ‘चोर आयो भन्छन्’ भनेकामा ओलीले आपत्ति जनाए। ‘हरेक नेता चोर हुन्छन्, यस्ता कुरा बोकेर हिँड्ने ?’ उनले भने, ‘भर्खर भर्खर अध्यक्षमा छानिएको रापताप होला केही साथीहरूलाई। भर्खर भर्खर जन्मेको बाच्छो अलिक हिँड्न जान्दैन, बेसी कुद्छ।’ माओवादी केन्द्र अध्यक्ष दाहालले दलहरूमा एकता र सहकार्य हुनुपर्ने बताए। उनले कांग्रेस र माओवादी तथा व्यक्तिगत रूपमा आफ्नो विशेष सम्बन्ध रहेको बताए। दलहरूबीचको एकताले नै विभिन्न चरणका जनआन्दोलन सफल भएको उनको भनाइ थियो।

नेकपा एकीकृत समाजवादी अध्यक्ष नेपालले नेपालमा प्रतिगामी तत्त्वले फेरि शिर उठाउने कोसिस नगर्न चेतावनी दिएका छन्। नेता नेपालले कांग्रेसमा गिरिजाप्रसाद कोइरालासँगका केही सहकार्य र क्षणहरूलाई स्मरण गर्दै कांग्रेस पुरानो साथी हो भने। कांग्रेस वरिष्ठ नेता पौडेलले पार्टीको महाधिवेशन समयमै हुन नसक्नु दुर्भाग्य भएको बताए। देशको परिस्थितिअनुसार पार्टीका नीति र कार्यक्रममाथि गम्भीर छलफल गर्नुपर्ने भए पनि गर्न नसकिएको पौडेलको भनाइ थियो। अर्का नेता कृष्णप्रसाद सिटौलाले महाधिवेशनमा तलदेखि माथिसम्म प्रतिस्पर्धा गरे पनि महाधिवेशनपछि त्यसलाई एकतामा बदल्न सक्नुपर्ने बताए। उपसभापति विमलेन्द्र निधिले  १४औं महाधिवेशनले युवालाई पार्टीको नेतृत्वमा पु¥याउनेमा आफू ढुक्क भएको बताए। अर्का नेता विजयकुमार गच्छदारले नयाँ पुस्ता आउन थालेका कारण हाम्रा मुद्दाहरू बलियो बनाएर लैजानुपर्ने बताए। 

महामन्त्री शशांक कोइरालाले अब मुलुकको समृद्धि र विकासका लागि कार्य गर्नुपर्ने बताए। अर्का महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको सिंगो एकतालाई महाधिवेशनमार्फत गाउँगाउँमा जाँदा ६ महिनापछि मुलुकमा हुने स्थानीय चुनाव, प्रदेश र संघीय चुनावमा फेरि बहुमतको पार्टी, सबैभन्दा ठूलो पार्टी बनाउनुपर्ने बताए। जसपा अध्यक्ष यादवले विगतका कमीकमजोरी हटाएर राजनीतिक अस्थिरता, दिशाहीनता र अन्योल अन्त्य गर्न सबै दल एकजुट हुनुपर्ने बताए। राप्रपा अध्यक्ष लिङ्देनले सबै दलहरूले विश्वास गुमाएको बताए। ‘देशको राजनीति जनताको आँखाबाट हेर्दा अनियन्त्रित भएको छ’, उनले भने, ‘सरकार सरकारजस्तो छैन, संसद् संसद्‌ जस्तो छैन, अदालत अदालत जस्तो छैन। यो सबलाई ठीक लगाउने कसले ? यसलाई ठीक लगाउने राजनीति हो। तर राजनीति ठीक छैन। यो राजनीति ठीक लगाउने नेताहरूले हो। तर नेताहरूले पूर्ण रूपमा विश्वास गुमाएको अवस्था छ।’

भारतीय जनता पार्टीका (बीजेपी) नेता हर्षवद्र्धन पाटिलले यति धेरै पूर्वप्रधानमन्त्रीहरू अटाएको मञ्च विश्वमै सायद पहिलो रहेको बताए। त्यसैगरी कुनै एक पार्टीको महाधिवेशन देशका अन्य सबै पार्टीहरूका सर्वोत्कृष्ट नेताहरूको उपस्थिति रही सबै विचारधाराका मानिसलाई समेट्न सक्नु पनि विश्वभरका लागि एक उदाहरण बनेको प्रतिक्रिया उनले दिए। नेता पाटिलले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र बीजेपीका अध्यक्ष जे.पी. नड्डाका तर्फबाट महाधिवेशन सफलताको शुभकामना दिए। 

भारतीय राष्ट्रिय कंग्रेसका महासचिव मुकुल वास्निकले सन् १९४७ मा संयुक्त राष्ट्रसंघको महासभामा बोल्दा गौरवान्वित हुने भावना आएको थियो, आज नेपाली कांग्रेसको महाधिवेशनमा पनि त्यही अनुभूति भइरहेको बताए। उनले पार्टीलाई लोकतन्त्रको कडीको संज्ञा दिँदै नेपालले शान्ति, समृद्धि र समग्र विकासमा निरन्तरता दिनेमा आफ्नो पार्टी विश्वस्त रहेको बताए। 

विश्वव्यापी महामारी कोभिडका कारण भौतिक रूपमा उपस्थित हुन नसकेका विदेशी पाहुनाले शुभकामना सन्देश पठाएका थिए। जर्मनीका चान्सलर तथा सोसियल डेमोक्र्याटिक पार्टी (एसडीपी)का ओलाफ स्कोल्ज, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना वाजिद, सोसलिस्ट इन्टरनेसनलका महासचिव लुइस आयला, भारत पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जी, भारतीय कम्युनिस्ट पार्टीका महासचिव डी राजा, नेटवर्क अफ सोसियल डेमोक्रेसी इन एसियाका क्षेत्रीय संयोजक माचुइस क्र्याप्रो र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले पनि महाधिवेशन सफलताको शुभकामना व्यक्त गरे। 

०००

कोही बोल्दै, कोही निस्किँदै
कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहमा पार्टीलाई शुभकामना दिन आएका अन्य पार्टीका अधिकांश अतिथिहरू कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनअगाबै बाहिरिएका छन्। 

एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायतका अतिथि देउवाको सम्बोधन नहुँदै कार्यक्रमस्थलबाट बाहिरिएका हुन्। एमाले विभाजनपछि यी तीन नेताहरू एउटै मञ्चमा उपस्थित भएको यो पहिलो कार्यक्रम हो।

आफू बोलिसकेर मञ्चबाट नेता नेपाल बाहिरिए। यसको केही बेरपछि नेता ओली बोल्दै गर्दा अर्का नेता दाहाल पनि बीचैमा उठेर हिँडे। यसरी कुनै पनि नेताको भाषण बहिष्कार गर्दै मञ्चबाट बाहिरिनु राजनीतिक संस्कारहीनता मानिन्छ। जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देल, माले महासचिव सीपी मैनाली पनि आफ्नो सम्बोधन सकेर मञ्चबाट बाहिरिएका हुन्। 

यसरी नेताहरू आफ्नो सकाउँदै भटाभट बाहिरिएको दृश्य दर्शकलाई भने कुनै अचम्म लागेन। महाधिवेशनका लागि नेपालगन्जबाट आएका सुनील पराजुलीले भने, ‘हामीले अरू कार्यक्रममा पनि कोही नेता पूरा समय बसेको देखेका छैनौं। यो विषय अचम्म मान्नुपर्ने कुरा होइन।’ अर्कोतर्फ ओलीको घोचपेच सुन्न नसकेर दाहाल बाहिरिएका उनको अनुमान छ।

दाहाल र नेपाल बाहिरिएका प्रसंगलाई जोड्दै मोरङकी सरस्वती अधिकारीले हाँस्दै भनिन्, ‘ओलीजीले डाइलग मार्नुहुन्छ नि, त्यही पचाउन नसकेर हिँड्नुभएको होला।’ 

महाधिवेशनमा सहभागी बझाङका राजेश शाहले पार्टी टुक्रिएपछि दुवै नेताबीच बोलचाल बन्द भएकाले दाहाल हिँडेका हुन सक्ने बताए। नेता ओलीले रमाइलो गरेको सबैलाई मन नपर्ने भएकाले पनि दाहाल बाहिदिएका हुन सक्ने काठमाडौंका समिर श्रेष्ठको भनाइ छ। फरक राजनीतिक मूल्यमान्यता र विचारधारा बोकेका राजनीतिक दलका शीर्ष नेताहरू एउटै मञ्चमा उभिएका विषयमा भाजपा नेता हर्षवद्र्धनले प्रशंसा गरेकै कार्यक्रममा नेताहरूले पछि गएर यस्तो रवैया देखाएका थिए। 

यति मात्र नभई सबैभन्दा धेरै पूर्वप्रधानमन्त्रीहरू रहेको मञ्चको रूपमा विश्वमै उदाहरणीय रहेको भन्दै नेता हषवद्र्धनले खुलेर प्रशंसा गरेका थिए।  नेताहरूबीचको व्यंग्यपूर्ण घोचपेचले पनि उद्घाटन सत्रलाई रोमाञ्चक बनाएको थियो। मञ्चमा एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीचको अभिवादन साटासाट र बेलाबेलाको भलाकुसारी आकर्षक देखिन्थ्यो। 

नेताहरू एकअर्काको भाषणलाई पनि टिप्पणी र खण्डन गर्ने थलो बन्यो महाधिवेशन मञ्च। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूलाई गाउँघरमा ‘चोर आयो भन्छन्’ भन्ने विषयमा ओलीले भने, ‘भर्खरभर्खर जन्मेको बाछो हिँड्न जान्दैन, बेसी कुद्छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.