नीतिभन्दा नेता प्रधान

नीतिभन्दा नेता प्रधान

काठमाडौं : कांग्रेसको १४औं महाधिवेशन कुनै पनि नीतिगत प्रतिवेदनमा छलफल नगरी सीधै नयाँ नेतृत्व छनोटमा प्रवेश गरेको छ। महाधिवेशनको दोस्रो दिन शनिबार नेतृत्वका आकांक्षी नेताहरूले आफ्नो मनोनयन दर्ता गराएका छन्।

सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले अक्षम र असफल नेतृत्वका कारण यसपटक नीति तथा कार्यक्रम बन्न नसकेको बताए। क्रियाशील सदस्यताको काम पनि विधि र नियमअनुसार समयमा नभएकाले नेतृत्वले विधान मिच्नुका साथै महाधिवेशनलाई अनिश्चित कालसम्म लम्ब्याउने दुष्प्रयास गरेको आरोप नेता सिंहले लगाए ।

१३औं महाधिवेशनबाट आएको नेतृत्वले आफ्नो कार्यकालमा गर्नुपर्ने काम गर्न नसकेको आरोप पनि उनले लगाए। परिवर्तनका लागि आफूले सभापति पदमा उम्मेवारी दिएको बताए। अब बन्ने नेतृत्वले जनताले चाहेअनुसारको पार्टी बनाउने नीति तथा कार्यक्रम ल्याउने उनको भनाइ थियो।

उपसभापतिमा उम्मेदवारी दिएकी सुजाता कोइरालाले व्यक्तिलाई बलियो बनाउन विधान संशोधन गर्ने परिपाटीले गर्दा पार्टी कमजोर हुँदै गएको बताइन्। पार्टी खुम्चिँदै गएकोले यसलाई कसरी देशकै ठूलो पार्टी र जनताको पार्टी बनाउने भन्ने उदेश्यले आफूले उम्मेदवारी दिएको कोइरालाको भनाइ थियो। अबको नेतृत्वले पार्टीलाई सबल र सक्षम बनाउने नीति तय गर्नुपर्ने उनले जनाइन्।

देशको समसामयिक राजनीतिक विषय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा पार्टीले लिनुपर्ने नीति निर्माणमा सहयोग पुर्‍याउने केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठान छ। पार्टीको १२औं महाधिवेशनपछि प्रतिष्ठान गठन भएको हो। उपसभापतिले प्रतिष्ठानको नेतृत्व गर्ने वैधानिक व्यवस्था छ। पार्टीको नीति तथा अनुसन्धानको प्रशिक्षणको मुद्दाको अगुवाइ गर्न आफूले उपसभापतिमा उम्मेदवारी दिएको नेता महेश आचार्यले बताए। लोकतान्त्रिक संस्थाहरूको क्षयीकरण त्योभन्दा गहन चिन्ताको विषय हो भन्ने उनलाई लाग्छ। यीबाहेक हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धलाई सन्तुलित राख्ने, चीन र भारतबीचको बढ्दो तनावबाट नेपाललाई जोगाउने ढंगको बहस, परराष्ट्र सम्बन्ध व्यक्तिको लहडमा नभई देशको हितमा गर्नेलगायत विषयलाई सम्बोधन गर्ने नीति बनाइनुपर्ने उनको सुझाव छ।

पार्टी नेताले होइन नीतिले चलाउने हो भन्ने धारणा राख्छन् नेता अर्जुननरसिंह केसी।  पार्टीभित्र अहिलेसम्मको आफ्नो लडाइँ यही विषयमा रहेको केसीको भनाइ छ। ‘पार्टी व्यक्तिले चलाउने होइन, विधि र विचारले चलाउने हो’, उनले भने। जाजरकोटका राजीवविक्रम शाहले गुट, उपगुटका कारण नीति कार्यक्रम बनाउनेलगायत ठोस निर्णय गर्न नसकेको विश्लेषण गरे।  ‘पार्टी नेतृत्व गुट, उपगुटमा बन्धित भएर, पार्टी सभापतिको बहुमत भएर पनि निर्णय गर्न सकेनन्’, उनले भने।

१४औं महाधिवेशन एकताको महाधिवेशन भएकाले एकतासँगै गाउँ फर्काउँ अभियान चलाउनुपर्ने उनको राय छ। नेता सुनील थापाले नीति नेताले बनाउने नभई फेरि हुने अधिवेशनबाट बन्ने बताए। यसपालिको महाधिवेशनले निर्वाचित गर्ने कमिटीमा युवापुस्ता धेरै हुने हुनाले अधिवेशनअगावै नीति बन्न नसके पनि नयाँ कार्यसमितिले बनाउने नीति पक्कै पनि सबैको हितमा हुने नेतृ उमा रेग्मीको विश्वास छ। महिला बालबालिका तथा समाज कल्याणमन्त्री रेग्मीले महाधिवेशन सकिएपछि आउने नेतृत्वलाई सबैले सहयोग गरेर पार्टी र देशको हितमा हुने नीति तथा कार्यक्रम बनाउनुपर्ने बताइन्। पदाधिकारी नपाएपछि केन्द्रीय सदस्यमा उम्मेदवारी दिन नचाहेको उनले सुनाइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.