उपल्लो मुस्ताङको लोघेकरमा ‘पुस्तक’ विमोचन
जोमसोम : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा जनप्रतिनिधिको पहिलो कार्यकाल सकिन लाग्दा आगामी तीन वर्षका लागि त्रिवर्षीय कार्ययोजना तथा गापा पाश्र्वचित्र प्रोफाइल सार्वजनिक गरेको छ ।
गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले शनिबार दुबै पुस्तकको एकैसाथ विमोचन गरे । संघीयता कार्यान्वयसँगै मुलुकभर ७ सय ५३ स्थानीय तहले २०७४ सालदेखि सिंह दरबारको अधिकार उपयोग गर्दै आइरहेका छन् ।
स्थानीय तहमा जनप्रतिनिधिको पहिलो कार्यकाल ५ वर्ष सकिन ६ महिना बाँकी रहदा मुस्ताङको लोघेरक दामोदरकुण्ड गापाले आफ्नो उपलब्धीहरु पुस्तक मार्फत जनसमक्ष सार्वजनिक गरेको हो ।
नेपालको संविधानले प्रत्याभूत गरेको स्थानीय सरकार सञ्चालन ऐन २०७४ को निर्दिष्ट कार्यविधिको जगमा अडिएर लोघेकर दामोदरकुण्ड गापाले संघीयताको ईतिहाँसमै पहिलो पटक पुस्तक विमोचन गरी सार्वजनिक गरेको जनाएको छ ।
स्थानीय तहअन्तर्गत लोघेकर दामोदरकुण्ड गापाले आफ्नो कार्यकालमा भएका कार्यप्रगति, गापाको समग्र तस्बिर, गापाकोआर्थिक,भौतिक,सामाजिक र सांस्कृतिक विषय वस्तुहरु पुस्तकमार्फत उजागर गरेको हो ।
गापाले पूर्वाधार विकास,शिक्षा,स्वास्थ्य,पर्यटन ,कृषि,आर्थिक विकास, सामाजिक विकास र सुशासन कार्यान्वयन लगायतका बिषयमा भएको प्रगति पुस्तकमा समेटेको छ । यस्तै, गापाले पहिलो कार्यकालको समाप्ति नजिकिँदै गर्दा दोस्रो कार्यकालमा आउने जनप्रतिनिधिको सहजताका लागि आवधिक विकास योजनाको खाका पुस्तकमा प्रस्तुत गरेको छ ।
योसँगै दुर्गम हिमाली जिल्लाको लोघेकर दामोदरकुण्ड गापाले ७ सय ५३ वटै स्थानीय तहमध्ये यसप्रकारको कार्यप्रगती र भावी रणनितिक योजना सार्वजनिक गर्नेमा मुलुककै पहिलो स्थानीय तह बनेको हो।
पुस्तकले स्थानीय तहको समृद्धि र विकासमा राज्यको लगानी कार्यान्वयन गर्न सकेको प्रष्ट्याइएको छ । लोघेकर दामोदरकुण्ड गापाले १ सय २८ पृष्ठ लामो गापाको पाश्र्वचित्र प्रोफाइल र २ सय ४० पृष्ठ लामो प्रथम त्रिवर्षीय रणनितिक योजना सार्वजनिक गरेको हो ।
पुस्तक विमोचन गर्दै गण्डकी प्रदेशका सांसद महेन्द्रबहादुर थकालीले मुस्ताङको समग्र विकासको योगदानमा लोघेकर दामोदरकुण्ड गापा अब्बल सावित गरेको बताए । उनले गापाले गरेका काम र अब गर्नुपर्ने कामको नमूना पुस्तक मार्फत सार्वजनिक गरी उत्कृष्ट गापाको रुपमा उदाहरण पेश गरेको उल्लेख गरे ।
सांसद थकालीले भने,‘ नामले होईन कामले चिनिनु पर्छ, लोघेकरको कुशल नेतृत्व टिमले आफुलाई सक्षम पालिकाको रुपमा गरेको छ।यसले गापाको सुशासन र विकासको काममा पारदर्शिता र निश्पक्षता झल्काउने काम गर्यो।’
सांसद थकालीले विकासको नमूना लोघेकर गापाबाट सिको गर्नु पर्ने र पुस्तकलाई ७ सय ५३ वटै स्थानीतमा पुर्याउन सुझाए । संघीयताको पहिलो कार्यकालमा आफु र आफ्नो टिमको सहयोगले अपेक्षा अनुरुपको प्रगति हाँसिल गर्न सकेको गापा अध्यक्ष लोप्साङ छोम्फेल बिष्टछले दावी गरे ।
उनले स्थानीय तह संञ्चालनको मामदण्डमा रही सरकारको लगानीलाई स्थानीय तहको विभिन्न विकास योजनामा खर्चिएको उल्लेख गरे । उनले स्थानीय तहको योजना तर्जुमा,कार्यान्वयन,पूर्वाधार विकास,अनुमगनको अधिकार स्थानीय तहलाई प्रदान गरेको जनाए ।
‘हामीले गापाको समग्र अभिलेख र योजना सार्वजनिक गर्यौं,पुस्तकमा भएको अभिलेख पुस्तान्तरणसम्म जिवितै राख्नेछ ।गापाको कार्यप्रगति र लक्ष्य हामीले होइन,अब किताबले बोल्नेछ । अध्यक्ष बिष्टले भने।’
संघीयताको पहिलो कार्यकालमा लोघेकर गापाले ५ वटै वडाहरुमा नेशनल ग्रीडको बिजुली र इमेल, इन्टरनेटसहित सञ्चार सम्पर्कको पहुँच विस्तार गरेको छ ।