एमालेको अडान: सभामुख सच्चिनु पर्यो कि राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्यो
काठमाडौं: नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटाको राजीनामा माग गरेको छ। संसदका निकास दिन नसकेको भन्दै एमाले सापकोटाको राजीनामा मागेको हो। एमाले महासचिव शंकर पोखरेलले सभामुखले आफ्नो गल्ती सच्याउन नसकेकाले मार्गप्रशस्त गर्नुपर्ने बताए। केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पोखरेलले भने, ‘सभामुख कि त सच्चिनु पर्यो, नसच्चि मार्ग प्रशस्त गर्नुपर्यो।’
उनले संसदको अवरोध हटाउन सत्ता पक्षले नै भूमिका खेल्नुपर्नेमा जोड दिए। उनले एमालेले कारबाही गरेकाहरुलाई राखे संसद चलाउन नदिने स्पष्ट पारे।
समाजवादीका सांसदहरूलाई कारबाही गर्नुपर्ने भन्दै नेकपा एमालेले संसद् सचिवालयमा दिएको निवेदनअनुसार कारबाही नभएपछि एमालेले संसद अवरोध गर्दै आएको छ। महासचिव पोखरेलले सभामुखले गल्ती सच्याएमा वा राजीनामा दिएमा वा सर्वोच्च अदालतबाट फैसला आएपछि मात्रै संसदको विषयमा सोचिने स्पष्ट पारे।
एमाले महासचिव शंकर पोखरेलले माघ १९ पछि सार्वजनिक गरिएको वक्तक्यले नै पूर्वराजा ज्ञानेन्द्र शाह र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको भनिएको सहमतिको विषय स्पष्ट पारिसकेको बताए। यो विषय बाबुराम र प्रचण्डबीच भएको अन्तकलहमा पनि बाहिर आइसकेको उनको भनाइ छ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्र शाह र प्रचण्डबीच २०६० साल मंसिर १८ गते सहमति भएको बताएका थिए। महासचिव पोखरेलले अध्यक्ष भनाइलाई पुष्टि आधारको बारेमा स्पष्ट पार्दै भने, ‘हामी पुराना कुरा बिर्सन्छौं। माघ १९ को घटना पछाडि माओवादीका तर्फबाट आधिकारिकरुपमा सार्वजनिक गरिएको वक्तव्यले नै त्यो कुरालाई संकेत गरेको छ, त्यो हामीले बताइरहनुपर्ने विषय होइन।’
उनले माघ १९ पछि माओवादी तर्फबाट आधिकारिकरुपमा जारी वक्तव्यबाट यो कुरा अनुमान लगाउन सकिने बताए।
‘त्यसमाथि बाबुराम र प्रचण्डका बीचमा भएको अन्तरकलहमा उहाँहरुले सार्वजनिक गरेका विचारहरूले पनि सबै कुरा बाहिर ल्याएको छ,’ उनले भने। उनले यो विषय पत्रकारले खोजेर बाहिर ल्याउन आग्रहसमेत गरे।
‘यो विषय त म के ठान्छु भने तपाईँहरुजत्तिको अनुसन्धान गर्ने, स्रोतमा पहुँच राख्ने साथीहरुले बाहिर ल्याइदिनुभयो भने हामीलाई सजिलो हुन्छ, किनकि राजनीतिक दलभित्र एकले अर्कालाई भनिरहने भन्दा आधार हामीले प्रदान गरेका छौं, पुस्ट्याई गर्दिने कुरा तपाईँहरुको पनि हो भन्ने लाग्छ, किनकि त्यो गलत कुरा होइन,’ उनले भने।
पुस्तान्तरणमा एमाले पहिलो
महासचिव पोखरलले एमालेद्वारा ८औं महाधिवेशनदेखि नै पुस्तान्तरण सुरु भएको बताए। हामीले ८औं महाधिवशेनबाटै पुस्तान्तरण प्रवेश भएको हो, नवौँमा नयाँ पदाधिकारीसमेत हुनुभयो,' उनले भने। उनले पुस्तान्तरणमा एमाले पहिलो भएको र अरु एमालेकै फलो गरेको दाबी गरे।
१०औं महाधिवेशनमा पनि ४५ प्रतिशत नयाँ सदस्यले केन्द्रीय कमिटीमा प्रवेश पाएको उनको भनाइ छ। उनले ३३ प्रतिशत महिलाको व्यवस्थाको सुरुवात पनि एमालेबाटै भएको बताए।
रावल सल्लाहकार
महासचिव पोखरेल एमाले अध्यक्षमा पराजित भएका भीम रावल सल्लाकार परिषद्को सदस्य रहेको स्पष्ट पारे। उनले अध्यक्षमा हारेपछि केन्द्रीय सदस्यपनि अस्वीकार गरेपछि रावललाई कुनै जिम्मेवारीमा नराखिएको बताए। ‘भीम रावलजी केन्द्रीय कमिटीमा रहनु भएन त्यसकारण उहाँको कार्यविभाजनमा रहनु भएन,’ पोखरेलले भने, ’नितिगत निर्णयले उहाँ सल्लाहकार परिषद् सदस्य हुनुहुन्छ। समय समयमा पार्टीलाई सल्लाह दिन सक्नुहुन्छ। पार्टीले सल्लाह ग्रहण गर्नेछ।’ उनले भूमिका चाहिएमा अध्यक्षसँगको परामर्शमा रावललाई जिम्मेवारी पनि दिन नसकिने बताए।