स्याउ बगैंचा व्यवस्थापन गर्दै मुस्ताङका किसान

स्याउ बगैंचा व्यवस्थापन गर्दै मुस्ताङका किसान

जोमसोम : यतिबेला मुस्ताङका अधिकांश स्याउ बगैंचा रित्तो र उजाड छन्। बर्सेनि असोज-कार्तिकमा किसानले आफूले उत्पादन गरेको स्याउ बिक्री गरेपछि यहाँका बगैंचा खाली हुन पुगेका हुन्।

मुस्ताङकै प्रसिद्ध नगदेबालीको रुपमा परिचित स्याउ खेती पछिल्लो समय क्रमिक रुपले बिस्तार हुँदै जान थालेको छ। स्याउ खेतीतर्फ मनग्ये आम्दानी हुने भएकाले यहाँका किसानले स्याउ खेतीलाई पछ्याइरहेका हुन्।
 

असोज-कार्तिकमा स्याउ टिपेपछि स्याउको बोटबाट क्रमिक रुपले पात झर्दै जान्छन्। पात झेरिसकेपछि स्याउ बगैंचा ब्यवस्थापनकार्य सुरु गरिन्छ। विगतका वर्षहरु झै यसवर्ष पनि मुस्ताङका किसानले स्याउ बगैंचा व्यवस्थापन कार्यलाई निरन्तरता दिएका छन्। पुसको पहिलो सातादेखि माघको तेश्रो सातासम्म यहाँका किसानलाई स्याउ बगैंचा व्यवस्थापनमा भ्याइनभ्याइ हुने गर्छ। स्याउ बगैंचाको उपयुक्त व्यवस्थापन र रेखदेखमा कृषकले ध्यान दिन नसक्दा स्याउको बोटले राम्रो र गुणस्तरीय फल दिन नसक्ने र उत्पादनसमेत कम हुँदा बगैंचा व्यवस्थापन अनिवार्य गर्नुपर्ने हुन्छ। 

मुस्ताङका किसानले स्याउ बगैंचा व्यवस्थापनकार्यका साथै खेर गएका र बाँझो जग्गामा समेत नयाँ स्याउका बिरुवा लगाउन थालेका छन्। स्याउका विरुवामा अन्य जातको स्याउका बिरुवालाई जोडेर ग्राफ्टिङ गर्ने गर्छन्। एउटै स्याउका बिरुवामा विभिन्न जातका बेर्ना ग्राफ्टिङ गर्दा फरक-फरक जातका फल दिने भएकाले यस्तो गरिएको हो।

किसानले स्याउ बोट उजाड भएसँगै बगैंचा व्यस्थापनमा जुटेको घरपझोङ —२ मार्फाका किसान दिपक लालचनले जानकारी दिए। उनका अनुसार स्याउ बोटको अनाआवश्यक हाँगाहरु काँटछाँट गर्ने, जरामा किरा नलागोस् भनेर बोडो पेस्ट लगाउने, मल हाल्ने, सिचाईं गर्ने, हिउँ र वर्षाको पानी सञ्चित गर्न पोखरी निर्माण गर्ने गरेका छन्। 

स्याउ बगैंचाको राम्रो र उपयुक्त व्यवस्थापन भए मात्र स्याउका बोटले गुणस्तरीय स्याउ र उत्पादन वृद्धि हुने स्याउ किसान लालचनको भनाइ छ। स्याउ उत्पादनका लागि स्याउ कटिङ अनिवार्य हुन्छ। स्याउ कटिङ नगरेमा वा जथाभावी बिना तालिम स्याउ कटिङ गर्नाले उत्पादन क्षमता तथा गुणस्तरमा समेत ह्रास आउने गर्छ। दीर्घकालीन स्याउ उत्पादन वृद्धि गराउन उपयुक्त बगैंचा व्यवस्थापन आवश्यक छ। स्याउ बगैंचामा रहेका बोटको पूरै पत्ता झरिसकेपछि मात्र स्याउ कटिङ गरी आवश्यक औषधि छर्किने गरिन्छ।
 
स्याउको बोटमा फैलिने हाँगाबिगाहरुको उपयुक्त किसिमले काँटछाँट गरेमात्र सूर्यको प्रकाश बोटको चारैतर्फ पुग्ने र  बोटले आवश्यक भिटामिनयुक्त तत्व प्राप्त गर्ने घरपझोङ—३ का स्याउ किसान महेश थकालीले जानकारी दिए। उनले स्याउको गुणस्तर वृद्धि गर्न र उत्पान क्षमता बढाउन स्याउ कटिङका साथसाथै उपयुक्त मलजल, सिचाईं र आवश्यक औषधि छर्किनु पर्ने बताए।

मुस्ताङका ५ वटै स्थानीय तहमा अहिले स्याउ बगैंचा व्यवस्थापन तथा स्याउ कटिङको काम भइरहेको छ।  जिल्लाको मुख्य खेती स्याउले जिल्लाको आर्थिक क्षमता उकास्न योगदान पुर्‍याएको छ। स्याउ बोटमा अनाआवश्यक हाँगा नियन्त्रण गर्न नसक्दा सूर्यको प्रकाशलाई अवरोध गर्ने र यसले फल लाग्न दिंदैन। स्याउ बोटमा कटिङ गरेर विभिन्न प्रकोप नियन्त्रण गर्न सर्भो र डर्मिन आयल छर्किने र बोटको फेदमा बोरो पेष्ट लगाउनु पर्ने हुन्छ।

मुस्ताङका किसानले स्याउ बगैंचाभित्र उवा, फापर, सिमी, बोडी र अन्य तरकारी आदी लगाएर दोहोरो फाइदा समेत लिने गरेका छन्। स्याउको बगैंचा व्यवस्थापनका लागि कृषि विज्ञहरुको तालिम अनिवार्य हुने गर्छ।  यसका लागि सरोकारवाला निकायले किसानले विभिन्न तालिम समेत दिने गरेका छन्। यस्तै ,स्याउ जोन मुस्ताङ, कृषि ज्ञानकेन्द्र मुस्ताङ र स्थानीय तहले अनुदान सहुलियतमा उपकरण खरिद गरी दिने गरेको पाइन्छ।

मुस्ताङमा चालु वर्ष ५५ सय ४० मेट्रिक टन स्याउ उत्पादन भएको थियो। उत्पादन भएको स्याउ बिक्री गरेर मुस्ताङमा ५५ करोड रुपैयाँ भित्रिएको कृषि ज्ञान केन्द्र मुस्ताङले जनाएको छ। यसवर्ष ५ सय २० हेक्टरको उत्पानशील क्षेत्रफलमा करिव डेढ लाख स्याउ बोटले उक्त परिमाणमा स्याउ उत्पादन भएको हो। 
मुस्ताङमा कुल १४ सय ४० हेक्टर क्षेत्रफलमा स्याउ खेती बिस्तार भएको कृषि ज्ञान केन्द्रको भनाइ छ। जसमध्ये सबैभन्दा बढी वारागुङ मुक्तिक्षेत्र गापामा ५ सय ९४ हेक्टर र सबैभन्दा कम उपल्लो मुस्ताङको लोमान्थाङ गापामा २९ हेक्टर क्षेत्रफलमा स्याउ खेती बिस्तार गरिएको छ।

पछिल्लो समय मुस्ताङका किसानले सामुदायिक स्याउ खेती बिस्तारमा समेत जोड दिएका छन्। यस वर्ष स्याउ जोन मुस्ताङ र गण्डकी प्रदेश सरकारको विशेष अनुदान सहुलियतमा २० हजार थान उच्च घनत्वको इटालिन जातका स्याउको बेर्नासमेत लगाइएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.