चिसोमा घरेलु कामदार

चिसोमा घरेलु कामदार

केही दिन अगाडि म काम विशेषले एक जना चिनजानको आफन्तकोमा गएको थिएँ। पुस महिना सुरु भएकोले चिसो राम्रोसँग नै बढिसकेको थियो। १३, १४ वर्षकी नानी भाँडा माझिरहेकी थिइन्। उनी घरेलु सहयोगी हुन् भनेर छुट्ट्याउन मलाई समय लागेन। अघिल्लो वर्ष जाँदा त्यो घरमा तातो पानी आउने बिजुली धारा भर्खर जडान गरिएको थियो। बिजुली धारा राम्रो र सजिलो हुन्छ तपाईं पनि जोड्नुहोस् भनेर उनले मलाई सल्लाह पनि दिन भ्याएकी थिइन्। ती सानी नानीले भाँडा माँझ्दै गर्दा पल्याकपुलुक मतिर हेरेर पानी चिसो भएर हात कठ्यांग्रिएको संकेत गरेको झै भान हुन्थ्यो मलाई।

तातो पानी आउने धारा नदेखेपछि मैले आफन्तलाई सोधें, ‘पोहोर तातो पानी आउने धारा राख्नुभएको थियो हैन र ? खै अहिले त देखिन त बिग्रियो कि।’ उनीले हातको इसाराले मलाई चुप लाग्न भनिन्। एकछिनपछि कुराको सिलसिलामा ती सानी नानी गाउँबाट पढाइदिने सर्तमा ल्याएको र पढाएबापत आफूले सकेको काम गर्नुपर्ने रहेछ। अनि ती नानी आएपछि बिजुलीको पैसा धेरै आउँछ भनेर तातो पानी आउने धारा निकालेको रहेछ। दिदीको कुरा सुनेपछि मैले पनि बिनापैसाको सल्लाह दिन पछि परिन र भने, ‘यस्तो चिसो छ, चिसोपानीकै कारणले यो नानी बिरामी परिन् भने तपाईंले बिजुलीको पैसा हिसाब गर्न सक्नुहुन्न। यो दुई, तीन महिना चाहिँ हिसाब नगर्नु होला।’ यति भनेर म आफ्नो बाटो लागेँ।

त्यस्तै मैले चिनेको एउटा घरमा घरेलु कामदारको रूपमा ६० वर्ष उमेर कटेकी महिला बस्छिन्। घरमा लुगा धुने मेसिन छ। तर बिजुली र पानी धेरै खर्च हुन्छ र कामको भार पुग्दैन भनेर मेसिन नचलाई ती महिलालाई अन्य कामको अलावा चिसो पानीले लुगा धुन पनि लगाउँछन्। त्यसरी नै आफ्नै टोलतिरको घरहरूमा कहिलेकाहीँ काम विशेषले जाँदा यस्ता घटनाहरू प्रशस्त देखिन्छन्, भेटिन्छन्। सोलारबाट पानी आउने धारो भान्सामा हुन्छ। तर, बाहिर चिसो पानी आउने धारामा भाडा माझ्न र लुगा धुन लगाएका धेरै घटना हाम्रा वरिपरि देखिन्छन्।

म आफैंले पनि प्रत्येक वर्षको जाडोमा धेरै जोडी बाक्ला पञ्जा फटाएकी हुन्छु। तराईमा जन्मी, हुर्केर होला राजधानीको चिसोसँग असाध्यै डर लाग्छ। अझभन्दा चिसो पानीसँग। हामी हाम्रा छोराछोरीलाई चाहिँ चिसो लाग्ला भनेर धेरै सचेत हुन्छौ। तर, काम गर्न राखेका छोराछोरीकै उमेरका बच्चाहरूको बारेमा अनुत्तरदायी किन बन्छौ ? हामीलाई र हाम्रा छोराछोरीहरूलाई हुने चिसोको बारेमा हामी सचेत भइरहँदा हाम्रा घरमा राखेका अरूका छोराछोरीलाई र अरूका आमाबुवाहरूलाई पनि चिसो लाग्ला कि भनेर थोरै मात्र पनि सोच्न पनि हामीले भ्याएका हुँदैनौं। बच्चाहरूलाई अर्काको घरमा घरेलु श्रमिक बनाएर पठाउँदा कुन अभिभावकको मन अमिलो नहोला। आफूसँग पुग्ने भए किन अर्काको जुठोभाँडो गर्न पठाउँछन् ?  विद्यालय जाने उमेरका छोराछोरीहरूलाई।

छोराछोरीको लालनपालन र शिक्षादीक्षाको लागि होस् वा घर व्यवहार धान्न उमेर कटेका आमाहरूले अर्काको घरमा गएर बिहान बेलुका काम गर्नुपर्छ। यसो गर्नु उनीहरूको रहर नभएर बाध्यता हो। अनि त्यो बाध्यता भित्र धेरै पीडाहरू पनि लुकेका छन् भनेर हामीले बुझेका पनि हुन्छौं। बुझेपछि हामी झन् उनीहरूबाट फाइदा उठाउन खोजिरहेका हुन्छौं। त्यसो गर्नेमा सबैभन्दा बढी शिक्षित भनाउँदाहरू, राम्रो जागिर हुनेहरू, राम्रो आर्थिक अवस्था हुनेहरू, समाजका प्रतिष्ठितहरू नै पर्छन्। हाम्रोमा कामधन्दा गर्न आएनन् भने यिनीहरूको चुलोमा आगो बल्दैन भन्ने अहंकारले हामी जेलिएका छौं। हामी यो भन्दैनांै कि यिनीहरूले गर्दा हामीलाई सजिलो भएको छ र ढुक्कसँग हामी आफ्नो काम गर्न सक्छौं।

कठ्यांरिँदो जाडोमा पुराना कपडा लगाएर बिहानै काम गर्न आउँदा ती पाइलाहरू कति गह्रौं भए होलान्। हामी काम लगाउनेहरूले कहिलै विचार गर्दैनौं। उल्टै गर्वसाथ ठूलो स्वरमा भन्छौं ‘पैसा दिएर त लगाएको हो नि सित्तैमा लगाएको छैन।’ हो श्रम सबैले आफ्नो स्तरअनुसार गर्नै पर्छ। कर्म गर्नु उत्तम विकल्प हो। जो कोहीले आफ्नो स्तरभन्दा माथि महत्त्वाकांक्षा राख्नु उसको कमजोरी हुन जान्छ। कामको सम्मान सबैले 

गर्न सके सायद कोही पनि हेपिनु पर्ने थिएन होला। विकसित देशहरूमा कामको सम्मान सबैले गर्ने हुँदा सानो काम गर्नेले हेपिनु पर्ने अवस्था सृजना हुँदैन।

हाम्रोजस्तो विकासोन्मुख मुलुकमा श्रम गरेर खानेहरूले चारैतिरबाट अपहेलित हुनुपर्ने अवस्था छ। धनसम्पत्ति र प्रतिष्ठाको आधारमा हामीले आफूभन्दा निमुखालाई हेप्दै र अमानवीय व्यवहार गर्दै आएका छौ। यस कुरामा शिक्षितहरूको पनि आँखा खुल्न सकेको छैन। राज्य त बेखबर नै छ भन्दा फरक नपर्ला। नेपालको संविधानमा उल्लिखित श्रमसम्बन्धी व्यवस्था र सबैको सम्मानपूर्वक बाँच्न पाउने अधिकार व्यवहारमा लागू भएको पाइँदैन।

बिहान बाटोमा खाजा, खाना खुवाउने होटल अगाडि खाना बनाउने ग्यास जम्यो र बलेन भनेर सिलिन्डरलाई तातो पानीमा डुबाएर राखेको देखिन्छ। सोही होटलभित्र गएर हेर्‍यौं भने १४, १५ वर्षका बच्चाहरू आफूभन्दा ठूला भाँडाका रासहरू चिसो पानीले सफा गरिरहेका हुन्छन्। तिनीहरूको हात एक प्रकारले भन्दा थाहा नपाउने भइसकेको हुन्छ। त्यहीँ भएर आधा भाँडो जुठो नै हुन्छन् अनि भाँडा जुठो राखेकोमा साहुको थप्पड पनि थपिन्छ। ती साहुले थप्पड दिनुको साटो एक जोर लामो पञ्जा र खुट्टामा एक जोर तातो मोजा, लामो गमबुटको व्यवस्था गरिदिए कति धर्मको काम हुन्थ्यो।

हाम्रा सरकारका प्रतिनिधि, पार्टीका नेता, विद्यार्थी नेता, अधिकारकर्मी, विभिन्न सामाजिक संस्थाका प्रतिनिधि, सरकारी र गैरसरकारी कार्यालयका कर्मचारीलाई म विनम्र अनुरोध गर्दछु, ‘कहिलेकाहीँ तपाईंहरू पनि बिहान चिया नास्ता खान त्यस्ता होटलहरूमा छिरेको बेला भित्र पसेर हेर्नुहोला। त्यहाँ बालश्रमिकहरू कस्तो प्रकारको निक्रिष्ट श्रम गरिरहेका हुन्छन् ? आफैं मूल्यांकन गर्न सक्नु हुन्छ। तस्बिर आफैं बोल्छ भने झैं सबै कुरा निमेषभरमा देख्नुहुन्छ। त्यसरी नै गाडी धुने ठाउँमा पनि बालश्रमिकहरू बिहान बिहान कठ्यांगिँ्रदो जाडोमा जम्न आँटेको पानीले गाडी सफा गरिरहेका हुन्छन्। यिनीहरूको बारेका बोलिदिने र सुनिदिने कस्ले ?

भोक, तिर्खा, जाडो, गर्मी, दुःखबिराम हुँदा हुने सबैको पीडा एउटै हो। यसले धनी र गरिब छुट्ट्याउँदैन। धनीलाई हुने जाडो, चिसो गरिबलाई पनि हुन्छ। बूढाबूढी, केटाकेटी, युवा, वयस्क, पुरुष, महिला सबैलाई सबै प्रकारको अनुभव र अनुभूति हुन्छ। त्यसैले हामीले आफू र आफ्नो परिवारलाई मात्र केन्द्रमा राखेर नसोचौं। दोस्रो व्यक्ति र उसको परिवारको बारेमा पनि थोरै सोच्ने गरौं।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.