यसरी बन्छ समृद्ध नेपाल
सरकारले दह्रो अठोट र संकल्प लिएर ५० वर्ष र सय वर्षमा नेपाललाई कस्तो बनाउने भन्ने दूरदृष्टि राख्नुपर्छ।
६८ वर्षीय किसान छन् रूपन्देहीमा। पक्की सडकसँग जोडिएको एक बिघा जमिन छ, उनी र उनको परिवारसँग। यस जमिनको वर्तमान बजार मूल्य कम्तीमा पनि २० करोड छ। वर्षौंदेखि उनी उक्त खेतमा परम्परागत रूपमा खेतीपाती गर्दै आएका छन्। भैंसी पनि पालेका छन्। तर, उनलाई सधैं परिवार पाल्न धौ धौ छ। उनले मीठोमसिनो खाएको र राम्रो लगाएको सायद कुनै छिमेकीले देखेका छैनन्। पैसाको अभावमै उनले छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाए। कान्छो छोराले बाहेक अरूले १० कक्षा पनि उत्तीर्ण गर्न सकेनन्। विज्ञान लिएर पढेको कान्छो छोराले १२ कक्षा राम्रै अंक ल्याएर उत्तीर्ण गरे। तापनि एमबीबीएसको छात्रवृत्तिमा नाम निकाल्न सकेनन्। साथीहरू ऋणधन गरेर तथा कसैले जग्गा बेचेर बंगलादेश तथा चीन पढ्न गएता पनि उनका बाले भने उनलाई पैसा खर्च गरेर बाहिर पढ्न पठाएनन्।
आफन्तले एक, दुई कठ्ठा खेत बेचेर भए पनि छोरालाई एमबीबीएस नै पढाउन सल्लाह दिए। उनले कसैका कुरामा कुनै वास्ता गरेनन्। आफूले पढ्न चाहेको विषय पढ्न नपाएपछि उनको छोराले बीएस्सी वा अन्य कुनै विषय पढ्न रुचि देखाएनन्। विस्तारै उनी डिप्रेसनको सिकार हुन थाले। हुन त उनले अहिले एक निजी विद्यालयमा विज्ञान विषय पढाउँछन्। तर, उनको जीवनमा कुनै रंग छैन, रमाइलो छैन। उनका माइलो छोरा तथा दुई बुहारीले खेतीपाती गर्छन् भने जेठो छोरो दिल्लीमा मजदुरी गर्छन्। माल पाएर पनि चाल नपाएका उनले आफूले पनि दुःख पाए, बूढी तथा छोराछोरीलाई पनि दुःख दिए भन्छन्, आफन्त, चिनेजानेका मानिस र छिमेकीहरूले। उनी मात्र होइनन्, यसरी माल पाएर पनि चाल नपाएका मानिस हजारौं छन् नेपालमा।
कुनै पनि देश ऋण र अनुदानले समृद्घहुन सक्दैन। देशलाई समृद्घशाली बनाउन देशमा विद्यमान साधनस्रोतहरूको अधिकतम सदुपयोग गर्न आवश्यक छ।
ठीक यसरी नै नेपाली राजनीतिले पनि माल पाएर चाल पाएको छैन। नेपाली भूगोललाई राम्रोसँग बुझेका स्व.डा. हर्क गुरुङले पटक–पटक यही भन्नुहुन्थ्यो, ‘नेपाल नचिन्नु नै नेपालीको अभिशाप हो।’ वास्तवमा नेपालमा गणतन्त्र नआएर वा संघीयता नभएर नेपालले प्रगति गर्न नसकेको होइन, हर्क गुरुङले भनेझैं नेपाल चिन्न नसक्नाले नै नेपालको प्रगति हुन नसेकेको हो। गणतन्त्र, संघीयता वा थरीथरीका वाद र व्यवस्था त राजनीतिक बहाना मात्र हो। नेपाल गरिब मुलुक होइन, अपार प्राकृतिक साधनस्रोतले धनी छ। भएर पनि त्यसको उचित सदुपयोग गर्न नसकेको अविकसित देश हो। वास्तवमा यो देश सुनको कचौरा लिएर भिख माग्दै हिँड्नेहरूको देश भएको छ।
तर विकास सम्भव छ
नेपाल प्राकृतिक साधनस्रोतले निकै धनी छ। बहुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको पनि धनी छ। वास्तवमा नेपाल सयौं जातजाति, भाषाभाषी तथा अनेक परम्परा र संस्कृतिहरूले भरिएको संसारकै अनुपम र सुन्दर देश हो। प्रकृतिले सुन्दर नगरीका रूपमा सिँगारिदिएको यो देश नेपाल हिमाल–पहाड–तराई, पाखा–पखेरा, छाँगा–छहरा, वनजंगल, डाँफे–मुनाल र लेकबेंसीले शोभायमान छ। संसारका सबै किसिमका हावापानी र चराचुरुंगी यस देशमा पाइन्छन्। त्यसैले नेपालमा संसारका सबै किसिमका फलपूmल तथा जडीबुटीहरूको खेती गर्न सकिन्छ।
बहुुजाति, बहुभाषी, बहुसंस्कृति तथा जैविक विविधताको यो देशमा अनेकौं धर्म, भाषा र संस्कृतिहरू अपनाउने यावत् जातजाति सदियौंदेखि हातमा हात गाँसी मिलेर बसेका छन्। यस्तो सामाजिक सद्भाव संसारमा बिरलै देख्न पाइन्छ। सामाजिक सद्भाव र आपसी एकता, अनुशासित र इमान्दार नागरिकले पनि धनी छ। त्यसैले नेपाल संसारकै सुन्दर, शान्त र समृद्धशाली राष्ट्र बन्न सक्ने प्रचुर सम्भावना छ। नेपालको विकास र समृद्धि सम्भव छ। तर, यसका लागि नेपाल चिन्न सक्ने एक समर्थ राजनीतिक नेतृत्व आवश्यक छ।
कस्तो हुन्छ समर्थ नेतृत्व
आफ्नो क्षमता र अरूको मनस्थितिको पहिचान गर्न सक्ने, जस्तोसुकै प्रतिकूल परिस्थितिहरूमा पनि होसहवास नछोड्ने, कठिनाइहरूमा अवसरहरू खोज्न सक्ने नेता नेपाललाई चाहिएको छ। निर्दिष्ट उद्देश्य पूरा गर्नका लागि उद्देश्यमा अर्जुनदृष्टि साँध्ने नेता चाहिएको छ। आफू र आफ्नो समूहलाई उत्प्रेरित गर्न सक्ने तथा आफ्नो र मानवीय अन्तर्सम्बन्धका भावनाहरूको तालमेल गर्नसक्ने खुबी भएको दूरदर्शी नेतृत्व नै समर्थ नेतृत्व हो। त्यो नेपालका लागि अपरिहार्य बनेको छ।
यसरी बन्छ नेपाल
कुनै पनि देश ऋण र अनुदानले समृद्ध हुन सक्दैन। देशलाई समृद्धशाली बनाउन देशमा विद्यमान साधनस्रोतहरूको अधिकतम सदुपयोग गर्न आवश्यक छ। त्यसैले नेपाललाई समृद्धशाली बनाउनका लागि नेपालमा विद्यमान प्राकृतिक साधनस्रोतहरू जस्तै जल, जंगल, जमिन, जडीबुटी, डाँडाकाँडा, हिमाल र प्राकृतिक सुन्दरतालाई ठीक ढंगबाट उपयोगमा ल्याउनु पर्छ। स्वास्थ्य र शिक्षामा पर्याप्त लगानी गरेर सर्वसुलभ बनाउनुपर्छ। राज्यले कुनै पनि नेपाली नागरिकले बौद्धिक क्षमताअनुसार आफूले चाहेको विषय पढ्न पाउने तथा उचित औषधोपचार पाएर मर्न नपर्ने वातावरण सिर्जना गर्नुपर्छ।
देशलाई विकास पथमा अगाडि बढाउन स्वस्थ र शिक्षित नागरिकको उत्साहजनक सहभागिता आवश्यक हुन्छ। शिक्षा तथा स्वास्थ्यलाई सर्वसुलभ बनाउन हरेक गाउँपालिकामा तथा नगरपालिकामा एक वा त्योभन्दा धेरै सामान्य चिकित्सकसहितको निःशुल्क स्वास्थ्य केन्द्र, हरेक जिल्लामा सबै विभागहरू भएको सुविधासम्पन्न जिल्ला अस्पताल चाहिन्छ। सातवटै प्रदेशमा सुपर विशेषज्ञ सेवासहितका ठूला अस्पतालहरू तथा सबै प्रदेशमा सबै संकायहरू भएको अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालय र आवश्यकताअनुसार विद्यालय तथा क्याम्पसहरू स्थापना गर्नुपर्छ।
अर्को कुरो सदियौंदेखि हेपिएका, पेलिएका तथा पछाडि पारिएका भनिने दलित तथा आदिवासी जनजातिहरूलाई अगाडि नल्याइकन नेपाल सुन्दर, शान्त र समृद्ध बन्नै सक्दैन। मुलुकले चौतर्फी विकास गर्न पनि सक्दैन। त्यसैले पछाडि पारिएका दलित तथा आदिवासी र जनजातिलाई अगाडि ल्याउन सबैभन्दा पहिला शिक्षामा विशेष जोड दिनुपर्छ। त्यो किनभने शिक्षाबिना मानव विकासको कल्पना असम्भव प्रायः छ। त्यसका साथै राज्यलाई गाउँस्तरदेखि नै वैज्ञानिक ढंगले समावेशीकरण गरिनुपर्छ। राज्यलाई नागरिकको घरदैलोमा पुर्याउन स्थानीय तहलाई अधिकार दिएर तथा गाउँ तहदेखि नै समावेशीकरण गरेर राज्यको पुनर्संरचना गर्नुपर्छ। विकास–निर्माणमा जनसहभागिता गराएर गाउँदेखि नै विकासको लहर ल्याउनुपर्छ। यस देशमा विद्यमान भाषा, धर्म, संस्कृति, परम्परा र पहिचानलाई समृद्ध पार्न ठाउँ ठाउँमा प्रतिष्ठान खोल्नु पर्छ। जस्तो कि मगरात क्षेत्रमा मगरात प्रतिष्ठान, तमुवान् क्षेत्रमा तमुवान् प्रतिष्ठान तथा बागमतीमा नेवाः प्रतिष्ठान आदि। विकासको मेरुदण्ड मानिने यातायात सुविधाका लागि आवश्यक सडकमार्गहरू, पूर्वपश्चिम रेलमार्ग तथा कम्तीमा पनि तीनवटा अन्तर्राष्ट्रिय एयरपोर्टहरू बनाउनु पर्छ।
खेलकुदको विकासका लागि सात प्रदेशमा एक एक गरी सातवटा अन्तर्राष्ट्रिय स्तरको रंगशाला तथा हरेक सहरमा राष्ट्रिय स्तरको रंगशाला बनाउनुपर्छ। ठाउँठाउँमा पार्कहरू निर्माण गर्नुपर्छ। स्वदेशी उद्योगहरूलाई प्रोत्साहित गर्ने, गाउँगाउँमा बैंकिङ सेवा पुर्याएर सम्पूर्ण आर्थिक कारोबारहरू बैंकमार्फत गर्ने वातावरण तयार गर्नुपर्छ। सबै गाउँपालिका तथा नगरपालिकामा विद्युतीय सुशासन स्थापना गरी जन्म, मृत्यु, बसाइँसराइ, पारिवारिक तथा सम्पत्ति विवरण, पेसा, व्यवसाय तथा स्वदेश वा विदेशमा नागरिकले गर्दै आएको कामधन्दामा सरकारले विशेष निगरानी गर्नुपर्छ। नेपालमा कामधन्दा तथा नोकरी गर्न आउने विदेशीहरूको विवरण सम्बन्धित ग्रामपालिका तथा नगरपालिमा अनिवार्य पञ्जीकृत तथा अध्यावधिक गर्ने व्यवस्था गर्नुपर्छ। यस्तो व्यवस्थाले भ्रष्टाचार नियन्त्रणमा समेत सहयोग पुर्याउँछ।
पुछारमा
अतः समर्थ नेतृत्वको लोकतान्त्रिक सरकारले दह्रो अठोट र संकल्प लिएर ५० वर्ष र सय वर्षमा नेपाललाई कस्तो बनाउने भन्ने दूरदृष्टि राख्नुपर्छ। यसका साथ ५, १० तथा १५ वर्षका विकासका गुरुयोजना बनाएर काम गर्नुपर्छ। यसरी काम गरियो भने नेपाल बन्छ, अवश्य बन्छ। १०–१५ वर्षभित्रमा नै नेपाल संसारकै एक सुन्दर, शान्त र समृद्धशाली राष्ट्र हुन्छ। त्यसैले अब आउने संघीय तथा प्रादेशिक निर्वाचनमा विकासको स्पष्ट खाका लिएका दल तथा समर्थ उम्मेदवारलाई जिताउनु नागरिकको कर्तव्य हो। होइन भने यो देश यथास्थितिमा रहिरहनेछ।