फेरि कोरोनाको चपेटामा विश्व

फेरि कोरोनाको चपेटामा विश्व

विश्व फेरि कोरोना महामारीको चपेटामा परेको छ। नयाँ भेरियन्ट ओमिक्रोनले गर्दा धेरै मुलुकमा संक्रमण तीव्र भएको देखिन्छ। विश्वमा संक्रमितको संख्या २९ करोड ५७ लाख ३८ हजार ५ सय २९ छ। त्यसैगरी २ सयभन्दा बढी राष्ट्रमा ५४ लाख ७६ हजार ६ सय २ जनाको कोरोनाकै कारण निधन भएको छ।

एक अध्ययनअनुसार धेरै देशमा ओमिक्रोन पनि द्रुत गतिमा फैलिरहेको छ। यो भेरियन्ट डेल्टाभन्दा कम जोखिमयुक्त भए पनि धेरै संक्रामक देखिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले यी दुई प्रकारका भेरियन्टको संयोजनले नयाँ संक्रमणको सुनामी निम्त्याउन सक्ने चेतावनी दिएको छ। डब्लूएचओले फ्रान्समा देखिएको नयाँ भेरियन्ट आईएचयू त्यति जोखिमपूर्ण नभएको जनाएको छ। फ्रान्सको युनिभर्सिटी हस्पिटल इन्स्टिच्युटको अध्ययन टोलीले डिसेम्बर २९ मा यो भेरियन्ट पत्ता लगाएको हो। 

एसिया महाद्वीपमै भारतमा दैनिक संक्रमितको संख्या तीव्र वृद्धि भएको छ। महाराष्ट्र र दिल्लीसहित सबै राज्यमा तेस्रो लहरको असर देखिन थालेको भारतीय सञ्चारमाध्यमले बताएका छन्। भारत सबैभन्दा बढी संक्रमित हुने अमेरिकापछि दोस्रो देश हो। 

धेरै युरोपेली देशले ओमिक्रोनका कारण संक्रमण वृद्धि देखेपछि खोप र बुस्टर डोज अभियान बढाएका छन्। बेलायतमा अन्य देशभन्दा औसतमा दैनिक संक्रमणको संख्या अत्यधिक बढेको छ। तर, प्रभावकारी खोप अभियानका कारण अस्पताल भर्ना हुने र मृत्यु हुनेको संख्या धेरै कम देखिन्छ। युरोपकै फ्रान्स, स्पेन र इटालीमा पनि संक्रमण निकै बढेको छ। 

अमेरिकामा सोमबार एकै दिन संक्रमितको संख्या १० लाख नाघेको छ। जोन हपकिन्स विश्वविद्यालयका अनुसार अघिल्लो साता हरेक सय जनामध्ये एक अमेरिकी कोरोना संक्रमित छन्। अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले पनि कोरोना रेस्पोन्स टिमसँग भेटेर यसलाई नियन्त्रण गर्ने विषयमा चासो देखाएका थिए। 

उत्तर अमेरिकामा ५८ करोडभन्दा बढी संक्रमित र ८ लाखभन्दा बढीको मृत्यु भएको छ। विश्वमा सबैभन्दा बढी संक्रमण र मृत्युदर रहेको राष्ट्र अमेरिका हो। अमेरिकाका संक्रामक रोगका प्रमुख सल्लाहकार डा. एन्थोनी फाउचीले नयाँ लहरले देशभरका स्वास्थ्य सेवामा गम्भीर असर पार्न सक्ने चेतावनी दिएका छन्। 

क्यानडामा मृत्युदर छिमेकको तुलनामा धेरै कम छ। तर, ओमिक्रोनका कारण दैनिक संक्रमितको संख्या बढिरहेको छ। 

ल्याटिन अमेरिकाका केही देशमा संक्रमण फेरि बढेको देखिन्छ। अर्जेन्टिना, कोलम्बिया, बोलिभिया र पेरुमा संक्रमण बढेको छ। क्रिसमस र नयाँ वर्षको लामो बिदामा बढेको सामाजिक अन्तक्र्रियासँगै कोरोना फैलिएको जनाइएको छ। यसले गर्दा आउँदो साताहरूमा अस्पताल भर्ना हुने र मृत्युको संख्यामा पनि वृद्धि हुन सक्ने चेतावनी डब्लूएचओको क्षेत्रीय कार्यालयले दिएको छ। 

ब्राजिल यस क्षेत्रमा सबैभन्दा बढी प्रभावित देश हो। यहाँ विश्वकै दोस्रो उच्च मृत्युको संख्या छ। पेरुमा २ लाखभन्दा बढीको मृत्यु भएको छ। देशमा जनसंख्याको आकारका आधारमा सबैभन्दा धेरै मृत्यु भएको छ। प्रत्येक १ लाख व्यक्तिमा ६ सयभन्दा बढीको मृत्यु भएको पाइन्छ। 

अफ्रिकामा १ करोड कोरोना संक्रमित र २ लाख ३० हजारभन्दा बढीको कोरोनाकै कारण मृत्यु भएको छ। यद्यपि यस महाद्वीपमा महामारीको वास्तविक तथ्यांक भने अझै यकिन भएको छैन। परीक्षणदर कम हुनु यसको मुख्य कारण हो। तथ्यांकअनुसार दक्षिण अफ्रिकामा ३४ लाखभन्दा बढी संक्रमित पुष्टि भएका छन्। ९१ हजारभन्दा बढीको मृत्यु भएको छ। दक्षिण अफ्रिका ओमिक्रोन पहिचान गर्ने पहिलो देश हो। अन्य अफ्रिकी राष्ट्रहरू इथियोपिया, जाम्बिया र मोजाम्बिकलगायतमा संक्रमण बढिरहेको छ। 

मध्यपूर्वी राष्ट्रमा पनि प्रकोप बढ्दो
मध्यपूर्वमा सबैभन्दा बढी प्रभावित राष्ट्रमा इरान पर्छ। जहाँ ६० लाखभन्दा बढी संक्रमित छन्। मृतकको संख्या १ लाख ३० हजार नाघेको छ। छिमेकी इराकमा  करिब २५ हजार मृत्यु र २० लाखभन्दा बढी संक्रमणका घटना पुष्टि भएको छ। 

उक्त क्षेत्रमध्ये इजरायलमा सबैभन्दा बढी दैनिक संक्रमण भइरहेको छ। तर, प्रभावकारी खोप कार्यक्रमले गर्दा अस्पताल भर्ना र मृत्यु हुनेको संख्या कम गर्न इजरायल सफल भएको देखिन्छ। जहाँ ६० वर्षभन्दा माथिका व्यक्ति र स्वास्थ्यकर्मीलाई खोपको चौथो डोज दिइन थालेको छ। 

ओसियाना राष्ट्रहरूमध्ये अस्ट्रेलियामा महामारी सुरु भएयताकै संक्रमण बढेको छ। देशले डिसेम्बरमा आफ्ना अधिकांश प्रतिबन्धहरू हटायो। तर, ओमिक्रोन भेरियन्टले संक्रमण बिस्तारै बढेको छ। 

अस्ट्रेलियामा बुधबार एकै दिन सबैभन्दा धेरै कोरोना संक्रमित पाइएको छ। त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा  ६४ हजार ७ सय ६७ नयाँ संक्रमण पुष्टि भएको छ। मृत्यु हुनेको संख्या २ हजार २ सय ८९ छ। मंगलबार ४७ हजार ८ सय १६ र सोमबार ३७ हजार २ सय ३९ जनामा संक्रमण देखिएको थियो। 

कोभिड महामारीबीच मुम्बईको छत्रपति शिवाजी महाराज रेलवे स्टेसनमा देखिएको भीड। तस्बिर : एजेन्सी

महामारीको प्रारम्भमा अस्ट्रेलिया र न्युजिल्यान्डले अपनाएका सुरक्षा सतर्कताले प्रशंसा पाएको थियो। अस्ट्रेलियामा ५ लाखभन्दा बढी संक्रमण पुष्टि भएको छ। २ हजार २ सयभन्दा बढीको मृत्यु भएको छ। न्युजिल्यान्डमा १४ हजार संक्रमित छन्। ५१ जनाको निधन भएको छ। 

यसरी फैलिँदै छ कोरोना
कोरोना भाइरसको पहिलो संक्रमित सन् २०१९ अन्त्यमा चीनको वुहान सहरमा भेटिएका थिए। सन् २०२० को पहिलो महिनामै यसको प्रकोप विश्वभर फैलियो। डब्लूएचओले सन् २०२० मार्च ११ मा विश्वव्यापी महामारी घोषणा गरेको थियो। दक्षिण अफ्रिकामा नोभेम्बर अन्त्यमा भेटिएको ओमिक्रोनका कारण विश्वमा संक्रमण तीव्र बढेको छ। वल्र्डोमिटरको तथ्यांकअनुसार विश्वका सबैभन्दा बढी संक्रमित रहेका राष्ट्रहरू अमेरिका, भारत, बेलायत, फ्रान्स, स्पेन, इटाली, अर्जेन्टिनालगायत राष्ट्रमा पनि संक्रमण दर बढ्दो छ।   

अमेरिका
ओमिक्रोनको सुनामीले अमेरिकी जीवनका हरेक पक्षलाई असर पारेको छ। त्यहाँ सोमबार पाइएका १० लाख संक्रमित अघिल्लो चार दिनको तुलनामा दोब्बर हो। यो संख्या विश्वका अन्य कुनै पनि देशमा देखिएका संक्रमणभन्दा दुई गुणा बढी हो। अमेरिकापछि सबैभन्दा बढी भारतमा डेल्टा भेरियन्टका कारण ७ मे २०२१ मा एकै दिन ४ लाख १४ हजार संक्रमित भएका थिए। अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्रले कोरोना तीव्र गतिमा फैलिनुमा ९५ प्रतिशत ओमिक्रोन जिम्मेवार रहेको अनुमान गरेको छ। 

भारत
भारतमा पछिल्लो २४ घण्टामा ५८ हजार ९७ जनामा संक्रमण देखिएको छ। यो अघिल्लो दिनको तुलनामा ५५ प्रतिशतले बढी हो। यससँगै विभिन्न राज्यमा कफ्र्युलगायत प्रतिबन्ध लगाइएको छ। कुल संक्रमितको संख्या ३ करोड ५० लाख नाघेको छ। 
भारतमा ओमिक्रोनका संक्रमित २ हजार १ सय ३५ जना फेला परेका छन्। संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्रका छन्। जहाँ ६ सय ५३ जनामा ओमिक्रोन देखिएको छ। दिल्लीमा ४ सय ६४ जनामा ओमिक्रोन भेटिएको छ। 

हङकङले भारतसहित ८ देशबाट आउने उडानमा प्रतिबन्ध लगाएको छ। मुम्बईको नागरिक निकायको संशोधित निर्देशिकाअनुसार त्यहाँको अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण गर्ने सबै यात्रुका लागि दु्रत पीसीआर परीक्षण अनिवार्य गरिएको छ। 

कर्नाटक राज्य सरकारले रातको समयमा लगाएको कफ्र्यु दुई साताका लागि लम्ब्याएको छ। सरकारले कक्षा १० र १२ का विद्यार्थीबाहेक विद्यालय र विश्वविद्यालय तहका विद्यार्थीका लागि दुई साता बन्द गर्ने निर्णय गरेको छ। 

बेलायत
बेलायतमा दैनिक संक्रमण पहिलो पटक २ लाख नाघेको छ। त्यहाँको सरकारले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार नयाँ संक्रमितको संख्या २ लाख १८ हजार ७ सय २४ छ। महामारी सुरु भएयताकै यो सबैभन्दा बढी दैनिक संक्रमण  हो। जहाँ १ करोड ३६ लाख बढीमा संक्रमण पुष्टि भएको छ। १ लाख ४९ हजार जनाको निधन भएको सरकारी तथ्यांकले देखाउँछ। 

बेलायतमा १२ वर्ष र त्यसभन्दा माथिका ९० प्रतिशत नागरिकले खोपको पहिलो मात्रा लगाएका छन्। ८३ प्रतिशतले दोस्रो र ६० प्रतिशतले बुस्टर डोज पाएका छन्। त्यहाँको स्वास्थ्य सुरक्षा एजेन्सीले कोभिड खोपको दुई डोज ओमिक्रोन भेरियन्ट रोक्न पर्याप्त नभएको चेतावनी दिएको छ। संक्रमितलाई अस्पतालसम्म पुर्‍याउनबाट रोक्न बुस्टर डोज ८८ प्रतिशत प्रभावकारी रहेको जनाइएको छ। 

बेलायत सरकारले ३१ डिसेम्बरसम्म प्रत्येक योग्य बयस्कलाई बुस्टर डोज प्रदान गर्ने लक्ष्य राखेकामा पूरा भएको दाबी गरेको छ। स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्डले पनि बुस्टर लक्ष्य पूरा गरेको जनाएका छन्। 

फ्रान्स
फ्रान्समा एकै दिन २ लाख ७१ हजार ६ सय ८६ जनामा नयाँ संक्रमण भेटिएको छ। नयाँ मृत्युको संख्या ३ सय ५१ छ। हालसम्म फ्रान्समा १० करोड ५८ लाख ९ हजार ५ सय ५ जनामा संक्रमित भएका छन्। १ लाख २४ हजार ५ सय ६३ जनाको निधन भएको छ। 

स्पेन 
स्पेनका अस्पतालहरूमा संक्रमितको संख्या बढेको छ। यसले त्यहाँ कोरोनाको छैटौं लहरको असरको संकेत गरेको छ। १२ हजार ९ सय ४२ जना विभिन्न अस्पतालमा उपचाररत छन्। मंगलबार मात्रै विभिन्न अस्पतालको आईसीयूमा १ हजार ९ सय ८३ जना उपचाररत थिए। नयाँ संक्रमितको संख्या १ लाख १७ हजार ७ सय ७५ छ। कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६७ लाख ८५ हजार २ सय ८६ पुगेको छ। मृत्यु हुनेको संख्या ८९ हजार ६ सय ८९ छ। 

इटाली 
इटालीमा ओमिक्रोनका कारण संक्रमण बढेको छ। नयाँ संक्रमित १ लाख १७ हजार ७ सय ७५ छन्। कुल संक्रमित संख्या ६५ लाख ६६ हजार ९ सय ४७ छ। मृत्यु हुनेको संख्या १ लाख ३८ हजार ४५ छ। 

अर्जेन्टिना
दैनिक संक्रमणको संख्या उच्च हुने राष्ट्रहरूमा अर्जेन्टिना पनि छ। यहाँ एकै दिन ८१ हजार २ सय १० नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्या ५८ लाख २० हजार ५ सय ३६ छ। मृत्यु हुनेको संख्या १ लाख १७ हजार २ सय ९४ छ।

ओमिक्रोनकै कारण मृत्यु 
डेनमार्कमा ओमिक्रोनबाट कम्तीमा १८ जनाको मृत्यु भएको जनाइएको छ। गत नोभेम्बर अन्तिमदेखि डिसेम्बरसम्म ओमिक्रोनबाट मात्र १८ जनाको मृत्यु भएको त्यहाँका स्वास्थ्य अधिकारीले बताएका छन्। त्यसैगरी, दक्षिण कोरियामा ओमिक्रोनकै कारण दुई जनाको मृत्यु भएको जनाइएको छ। भारतको राजस्थानमा बुधबार ओमिक्रोनकै कारण एकको मृत्यु भएको छ।  

(एजेन्सीको सहयोगमा)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.