जुुस उद्योगले गाउँमै रोजगारी
रामेछाप : रामेछाप जिल्लाको पहिचानको रुपमा रहेको जुनारको जुस उद्योग सञ्चालनमा अएपछि स्थानीयले गाउँमै रोजगारी पाएका छन्। कोरोना संक्रमण फैलिएसँगै भएको लकडाउनका कारण मारमा परेको जुस उद्योग सहज सञ्चालनमा अएपछि स्थानीयले गाउँमै रोजगारी समेत पाएका छन्।
जुनार खेती तथा जुनारको जुस उद्योग रामेछाप जिल्लाको भरपर्दो आम्दानीको श्रोतको रुपमा रहेको छ। अहिले जुनार टिप्ने, सिजन भएकाले जुनार बगैंचा र उद्योगमा गरि दैनिक ८० जना भन्दा बढी स्थानीयले रोजगारी पाएको मन्थली डिलक्स एग्रो फरेष्टिका सञ्चालक लोकेन्द्र श्रेष्ठले बताए।
टाढा गएर काम गर्न नसक्ने वृद्धवृद्धा र विद्यार्थीका लागि जुस उद्योगले रोजगारीको राम्रो अवसर दिएको छ। गाउँमै रोजगारी पाउँदा दैनिक उपभोग्य सामान जुटाउन सहज भएको उद्योगमा काम गर्दै आएकी ६५ वर्षीय घनमाया कार्की बताउँछिन्। यस्तै उद्योगले आफुहरू जस्ता वृद्धवृद्धालाई काम दिएर ठुलो गुन लगाएको स्थानीय इलादेवि कार्की बताउँछिन्।
वार्षिक १२ हजार मेट्रिकटन जुनार उत्पादन हुँदै आएको रामेछापबाट जुनारको दाना र जुस गरी वार्षिक १० करोड रुपैयाँ बराबरको निर्यात हुने गरेको छ।