विशाल र विश्वास अन्नपूर्ण कर्पोरेट ब्याडमिन्टनको फाइनलमा
काठमाडौं: आठौं अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टनको रेगुलर मेन्स सिंगल्सको उपाधिका लागि विन्दवासिनी प्रिन्टिङका विशाल खड्का र बीएनएम सप्लायर्सका विश्वास नेपाल भिड्ने भएका छन् ।
शुक्रबार भएको सेमिफाइनलमा खड्काले जेस्ट सेभिङका सुजन थापालाई २१–१८,२२–२० ले पराजित गरे । नेपालले युनिक स्पोर्टसका अनिल लाखेलाई २१–८, २१–१६ ले हराउँदै उपाधि नजिक पुगेका हुन् ।
बैंकिङ-इन्स्योरेन्स मेन्स सिंगल्समा सिटिजन्स लाइफका अभिशेक बोश र गणेश रायमाझी फाइनल प्रवेश गरेका छन् । बोशले नेपाल एसबिआई बैंकका नवराज जोशीलाई २१–१९, २१–१८ तथा रायमाझीले कृषि विकास बैंकका टक्कर कुँवरलाई २१–८, २१–१३ को सेटमा पाखा लगाएका छन् ।
रेगुलर मेन्स डबल्समा विन्दवासिनीका खड्का र बिएनएमका नेपाल तथा केआरएस टे«डिङका रामकुमार बानियाँ र जेस्ट सेभिङका इसा एन्ड इसिका इन्भेष्टमेन्टका सुजन थापाको जोडी फाइनल प्रवेश गरेका छन् ।
खड्का र नेपालले सिटिजसका बोश र नाइग्रा फल्सका सुशिल श्रेष्ठविरुद्ध १५–२१, १४–११ को जित निकाले । खेलका क्रममा बोश घाइते भइ रिटायर्ड भएका थिए । यसैगरी बानियाँ र थापाले इसा एन्ड इसिकाका नारायणप्रसाद गौतम र न्यु बिएस इन्टरप्राइजका अभिषेक गुरुङलाई २२–२०, २१–१६ को सेटमा पाखा लगाएका छन् ।
यसअघि क्वाटरफाइनलमा खड्का र नेपालले एसबीआईका जोशी र युनिकका लाखेलाई २१–१४, २१–१६ तथा बोश र श्रेष्ठले कुँवर र थापाको जोडीलाई २१–७, २१–७ ले पराजित गरेका थिए । त्यस्तै गौतम र गुरुङले महालक्ष्मी लाइफका सन्जय कपाली र डेभिड फरेइन रिक्युरमेन्टका एस कटुवाललाई २१–१४, २१–१० तथा बानियाँ र थापाले राष्ट्रिय वाणिज्य बैंकका पुस्प र राजु थापालाई २१–९, २१–१४ ले पाखा लगाउँदै सेमिफाइनल पुगेका थिए ।