आठौं अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन : मेन्स डबल्सको उपाधि विशाल र विश्वासलाई
काठमाडौं : आठौं अन्नपूर्ण पोस्ट् कर्पोरेट ब्याडमिन्टन रेगुलर मेन्स डबल्सको उपाधि विशाल खड्का र विश्वास नेपालले जितेका छन्। विन्दवासिनी प्रिन्टिङ एन्ड प्रेसका खड्का र बीएनएम सप्लायर्सका नेपालको जोडिले फाइनलमा केआरएस ट्रेडिङका रामकुमार बानियाँ र जेस्ट सेभिङ एन्ड क्रेडिटका सुजन थापालाई २१–१९, २२–२० ले पराजित गरे।
शनिबार लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रको कबर्ड हलमा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो। यो विधामा सिटिजन लाइफ इन्स्योरेन्सका अभिषेक बोश र नाइग्रा फल्सका सुशिल श्रेष्ठ तथा इसा एन्ड इसिकाका नारायणप्रसाद गौतम र न्यु बिएस इन्टरप्राइजका अभिषेक गुरुङ सेकेन्ड रनरअप भए। विजेताले एक तोला सुनको मेडल, रनरअपले आधा तोला र सेकेन्ड रनरअपले चौथाई सुनको मेडलसहित प्रमाण पत्र प्राप्त गरेका छन्।
अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष अनिलकुमार उपाध्याय, अन्नपूर्ण पोस्ट्का सम्पादक अखण्ड भण्डारी र नेपाल ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए। विजेतासहित सहभागि सबै खेलाडीले पुरस्कार ग्रहण गरेपछि अन्नपूर्ण मिडिया नेटवर्कको जलवायु परिवर्तनविरुद्धको अभियानमा ऐक्यबद्धता जनाउँदै हस्ताक्षरसमेत गरेका थिए।