कोरोनामा धनीको सम्पत्ति दोब्बर, ठूलो जनसंख्या चरम गरिबीतर्फ

कोरोनामा धनीको सम्पत्ति दोब्बर, ठूलो जनसंख्या चरम गरिबीतर्फ

कोरोना महामारी लागेयता विश्वका धनाढ्यहरू झन् धनी बनेका छन्। विपन्नहरू भने झन् गरिबीमा धकेलिएका छन्। सबैभन्दा गरिबको न्यून आय भएकै कारण प्रत्येक दिन २१ हजार जनाले ज्यान गुमाउनुपरेको परोपकारी संस्था अक्सफामको प्रतिवेदनले देखाएको छ। विश्वका १० धनाढ्यले भने सन् २०२० मार्चदेखि २०२१ नोभेम्बरसम्म आफ्नो कुल सम्पत्ति दोब्बरभन्दा पुर्‍याएको ‘इनइक्वालिटी किल्स’ प्रतिवेदनमा उल्लेख छ।

अक्सफामले उद्धृत गरेको फोब्र्सको तथ्यांकअनुसार विश्वका १० धनाढ्यमा इलोन मस्क, जेफ बेजोस, बर्नाड आर्नोल्ट तथा परिवार, बिल गेट्स, ल्यारी एलिसन, ल्यारी पेज, सर्गेइ ब्रिन, मार्क जुकरबर्ग, स्टिभ बाल्मर र वारेन बफेट छन्। समग्र रूपमा उनीहरूको सम्पत्ति ७ सय अर्ब अमेरिकी डलरबाट १५ खर्ब डलरसम्म पुगेको छ। उनीहरूबीच केही महत्वपूर्ण भिन्नता रहेको जनाइएको छ। मस्कको सम्पत्ति १ हजार प्रतिशतभन्दा बढीले बढेको छ। गेट्सको सम्पत्ति ३० प्रतिशतले मात्रै बढेको जनाइएको छ।

अक्सफामले डाभोसमा विश्व आर्थिक मञ्चको बैठक सुरु हुँदा विश्वव्यापी असमानताबारे रिपोर्ट जारी गर्दै आएको छ। उक्त बैठकमा हजारौंको संख्यामा कर्पोरेट र राजनीतिज्ञ, सेलिब्रेटी, अभियानकर्ता, अर्थशास्त्री र पत्रकार भेला भएर छलफलहरू गर्ने गर्छन्। स्विट्जरल्यान्डस्थित स्की रिसोर्टमा हुने उक्त बैठकमा खानपिनका साथै रमाइला भेटघाट र पार्टीमा सहभागी रमाउने गर्छन्।  यद्यपि, यसै साताका लागि तय गरिएको बैठक कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण लगातार दोस्रो वर्ष पनि भर्चुअल माध्यमबाटै हुँदै छ। कार्यक्रममा महामारीपछिको भविष्यको सम्भावित बाटो, खोप असमानता र ऊर्जा संक्रमणका विषयमा छलफल गरिने 

जनाइएको छ। 

काठमाडौंको भद्रकाली मन्दिर परिसरमा हालै एक रात म्याट ओछ्याएर सुतिरहेको अवस्थामा भेटिएका एक मजदुर । कोरोना महामारीका कारण रोजगारी गुमेपछि सयौं मजदुर सडकमा पुगेका छन् । विश्वका १६ करोडभन्दा बढी व्यक्ति दैनिक ५.५० डलरभन्दा कममा काम गरिरहेका अक्सफामको अध्ययनले देखाएको छ । लकडाउनका कारण विश्व जनसंख्याको ९९ प्रतिशत झन् नाजुक अवस्थामा रहेको जनाइएको छ ।   तस्बिर : दीपेन श्रेष्ठ 

संस्थाले आर्थिक, व्यापारिक तथा राजनीतिक क्षेत्रका धनाढ्य वर्गको ध्यानाकर्षण गर्न प्रत्येक वर्ष आफ्नो प्रतिवेदनलाई डाभोसको तालिकासँग मिलाउन समय निर्धारण गर्ने गरेको अक्सफाम ग्रेट ब्रिटेनका प्रमुख कार्यकारी ड्यानी श्रीशकन्दराजाले बताए। ‘यस वर्ष जे भइरहेको छ, त्यो मापनबाहिर छ’, उनले भने, ‘यस महामारीको समयमा प्रत्येक दिन एक नयाँ अर्बपति थपिएका छन्।’ 
यसबीच विश्वको जनसंख्याको ९९ प्रतिशत लकडाउनका कारण झन् नाजुक अवस्थामा  छन्। अन्तर्राष्ट्रिय व्यापार र पर्यटनको क्षेत्रमा कमी आएको छ। यसको परिणामस्वरूप १६ करोड जनसंख्या झन् गरिबीतर्फ धकेलिएका छन्। ‘हाम्रो आर्थिक प्रणालीमा केही ठूलो समस्या छ’, उनले भने।

यसरी निकालियो तथ्यांक 
अक्सफामको प्रतिवेदन फोब्र्सका अर्बपतिहरूको सूची र वार्षिक क्रेडिट सुइस ग्लोबल वेल्थ रिपोर्टको तथ्याकंमा आधारित छ। फोब्र्सको सर्वेक्षणले व्यक्तिको सम्पत्ति प्रयोग गर्छ। यसमा मुख्यतया सम्पत्ति र जग्गामा उसको ऋण घटाइन्छ। जसले गर्दा उसको स्वामित्वमा रहेको कुल सम्पत्ति निर्धारण गर्न सजिलो हुन्छ। तथ्यांकमा ज्याला वा आय समावेश गरिँदैन। यस पद्धतिको विगतमा आलोचना भएको थियो। किनभने, उदाहरणका लागि धेरै ऋण भएको तर भविष्यमा धेरै कमाउने सम्भावना भएको विद्यार्थी यस मापदण्डअन्तर्गत गरिब मानिनेछ।

विश्व बैंकको तथ्यांकमा पनि आधारित रहेको अक्सफामको प्रतिवेदनले स्वास्थ्य सेवामा पहुँचको अभाव, भोकमरी, लैंगिक हिंसा र जलवायु परिवर्तनका कारण प्रत्येक चार सेकेन्डमा एक जनाको मृत्यु हुने गरेको बताएको छ। तथ्यांकका अनुसार १६ करोड व्यक्ति दैनिक ५.५० डलरभन्दा कममा काम गरिरहेका छन्। कोरोना नभइदिएको भए त्यसो हुने थिएन भनेर तथ्यांकले देखाएको छ। विश्व बैंकले उच्च–मध्यम आय भएका देशहरूमा ५.५० डलरको कमाइको आधारलाई गरिबीको मापन गर्न प्रयोग गर्छ। 

प्रतिवेदनमा के छ ?
महामारीले विकासोन्मुख देशहरूलाई राष्ट्रिय ऋण बढ्दै जाँदा सामाजिक खर्च घटाउन बाध्य पारिरहेको छ। लैंगिक असमानता बढाएको छ। सन् २०१९ को तुलनामा अहिले १ करोड ३० लाख कम महिला काममा छन्। २ करोडभन्दा बढी किशोरी कहिल्यै विद्यालय नफर्किने जोखिममा छन्।

जातीय अल्पसंख्यक समूहहरू कोरोनाबाट सबैभन्दा बढी प्रभावित छन्। जसमा बेलायत, बंगलादेश र अमेरिकाका कालो वर्णका जनसंख्या समावेश छन्। राजनीतिक नेताहरूले यस्ता आर्थिक रणनीतिहरूलाई परिवर्तन गर्ने ऐतिहासिक अवसर पाएका श्रीशकन्दराजाले बताए। यसमा गुणस्तरीय विश्वव्यापी स्वास्थ्य सेवा र सबैका लागि सामाजिक सुरक्षामा खर्च हुने राजस्वसँगै पूँजी र सम्पत्तिमा उच्च शुल्क लगाउने थप प्रगतिशील कर व्यवस्थाहरू समावेश गर्नुपर्ने उनले बताए। 

कोरोना भाइरसविरुद्धको खोप लिन बुबालाई पिठ्यूँमा बोकेर लैजाँदै गरेका ब्राजिलको अमेजनका आदिवासी युवक तावी। २४ वर्षीय तावीले ६७ वर्षीय बुबालाई खोप स्थलसम्म पुर्‍याउन जंगलमा घण्टौं हिँड्नुपरेको उक्त तस्बिर भाइरल भएको छ।  तस्बिर : बीबीसी

अक्सफामले खोपहरूमा बौद्धिक सम्पत्ति अधिकारहरू हटाएर व्यापक उत्पादन र द्रुत गतीमा वितरणमा आह्वान गरिरहेको छ। यस महिनाको सुरुमा विश्व बैंकका अध्यक्ष डेभिड मालपासले विश्वव्यापी असमानता बढेकोमा चिन्ता ब्यक्त गरेका थिए। मुद्रास्फीतिको प्रभाव र यसलाई समाधान गर्ने उपायहरूले गरिब देशहरूलाई थप क्षति पुर्‍याउने सम्भावना रहेको तर्क उनले गरे।

यस्ता छन् सुझाव
o नयाँ सम्पत्ति कर लगाएर अर्बपतिहरूले कमाएको लाभलाई फिर्ता लिने
यी करबाट उठाइएका खर्बौं रकमलाई स्वास्थ्य सेवा र सामाजिक सुरक्षा, जलवायु परिवर्तन अनुकूलन र लैंगिक हिंसा रोकथामका कार्यक्रममा खर्च गर्ने 
महिला र जातीय भेदभाव गर्ने लैंगिक र जातिवादी कानूनहरूलाई सम्बोधन गर्ने 
समाजका सबै क्षेत्रहरूले तुरुन्तै नीतिहरू परिभाषित गरी निर्णय गर्ने ठाउँहरूमा महिला, जातीय र अन्य उत्पीडित समूहहरूको प्रतिनिधित्व सुनिश्चित गर्ने 
मजदुरहरूको युनियन बनाउने र हड्ताल गर्ने अधिकारलाई कमजोर बनाउने कानुनहरू अन्त्य गर्ने। उनीहरूको सुरक्षाका लागि बलिया कानुनी मापदण्डहरू तय गर्ने 
धनी राष्ट्रका सरकारहरूले महामारीको अन्त्यका लागि थप देशहरूलाई सुरक्षित र प्रभावकारी खोपहरू उत्पादन अनुमति दिन कोरोना खोपमाथिको बौद्धिक सम्पत्ति अधिकार तुरुन्तै खारेज गर्ने

जसका सम्पत्ति महामारीमै दोब्बर
इलन मस्क
दक्षिण अफ्रिकामा जन्मिएका मस्कले अधिकांश समय क्यानडामा बिताए। उनले पेन्सिलभेनिया विश्वविद्यालयमा भौतिकशास्त्रमा शिक्षा हासिल गरे। प्रविधिको उद्यमीका रूपमा जिप टु र एक्स डट कमजस्ता कम्पनीमा प्रारम्भिक सफलता प्राप्त गरे। पेपाल कम्पनी बनाउन पनि उनको महत्वपूर्ण भूमिका रह्यो। अन्तरिक्षसम्बन्धी अनुसन्धान गर्ने र अन्तररिक्षयान निर्माण गर्ने कम्पनी स्पेस एक्स उनकै हो। उनी विद्युतीय कार निर्माता कम्पनी टेस्लाका प्रमुख कार्यकारी अधिकृतका साथै प्रमुख लगानीकर्ता पनि हुन्। 

जेफ बेजोस
उनको पूरा नाम जेफ्री प्रिसटन बेजोस हो। सन् १९६४ जनवरी १२ मा अमेरिकाको न्यू–मेक्सिको राज्यको अल्बुकर्कमा जन्मिएका बेजोस अमेरिकी उद्यमी हुन्। उनले अमाजोन डटकमको संस्थापक र प्रमुख कार्यकारी अधिकृतका रूपमा ई–वाणिज्यको विकासमा महत्वपूर्ण भूमिका निभाएका छन्। उनकै मार्गनिर्देशनमा अमेजन वल्र्डवाइड वेबमा सबैभन्दा ठूलो रिटेलर बन्न पुग्यो। 

बर्नाड आर्नोल्ट 
फ्रान्सेली व्यवसायी बर्नाड आर्नोल्ट फ्रान्सेली समूह एलभीएमएच मोयट हेनेस्सी लुइस भुइट्टन एसएका अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतका रूपमा चिनिन्छन्। यो विश्वकै सबैभन्दा ठूलो लक्जरी उत्पादन कम्पनी हो। उनले पेरिसको इकोले पोलिटेक्निकबाट इन्जिनियरिङमा स्नातक गरे। सन् १९७१ मा आफ्नो बुबाको निर्माण कम्पनी फेरेट साभिनेलमाथि आर्नोल्टले नियन्त्रण लिए। आठ वर्षपछि कम्पनीको नाम फेरिनेल इंक बनाएर उनी घरजग्गा व्यवसायमा केन्द्रित भए।

बिल गेट्स
बिल गेट्सको पूरा नाम विलियम हेनरी गेट्स हो। उनी एक प्राविधिक एवं परोपकारी हुन्। उनी सिएटल वासिंगटनमा हुर्किए। परिवारले सानै उमेरमा उनको कम्प्युटर प्रतिको रुचिलाई प्रोत्साहित गर्‍यो। उनले बाल्यकालीन साथी पल एलेनसँग माइक्रोसफ्ट सुरु गर्न कलेज छाडे। अमेरिकी कम्प्युटर प्रोगामर एवं उद्यमी गेट्स संसारको सबैभन्दा ठूलो व्यक्तिगत कम्प्युटर सफ्टवेयर कम्पनी माइक्रोसफ्टको सहसंस्थापकको रूपमा चिनिन्छन्। उनले पहिलो सफ्टवेयर प्रोग्राम १३ वर्षको उमेरमा बनाएका थिए। उनी हाल बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसनका सहअध्यक्ष हुन्। यस संस्थामार्फत विभिन्न सामाजिक काम गर्छन्।  

ल्यारी एलिसन
ल्यारी एलिसन अर्थात् लरेन्स जोसेफ एलिसनको जन्म सन् १९४४ अगस्ट १७ मा अमेरिकाको न्युयोर्कमा भएको हो। उनी सफ्टवेयर कम्पनी ओरेकल कर्पोरेसनका सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत रहेर सन् १९७७ देखि २०१४ सम्म रहे। आमा फ्लोरेन्स स्पेलम्यान १९ वर्षकी एकल अभिभावक थिइन्। उनले ९ महिनाको उमेरमा निमोनिया भएका एलिसनलाई काकाकाकीसँग बस्न सिकागो पठाएकी थिइन्। उनीहरूले एलिसनलाई धर्मपुत्रका रूपमा हुर्काएका हुन्। 

ल्यारी पेज
ल्यारी पेज अर्थात् लरेन्स एडवर्ड पेजको जन्म अमेरिकाको मिसिगनमा सन् १९७३ मार्च २६ मा भएको हो। उनी अमेरिकी कम्प्युटर वैज्ञानिक र उद्यमीका रूपमा चिनिन्छन्। विश्वको सबैभन्दा लोकप्रिय साइटमध्येको अनलाइन सर्च इन्जिन गुगल उनले सिर्जना गरेका हुन्। पेजका बुबा मिसिगन स्टेट युनिभर्सिटीका कम्प्युटर विज्ञानका प्राध्यापक थिए। उनले पनि सन् १९९५ मा सोही विश्वविद्यालयबाट कम्प्युटर इन्जिनियरिङमा डिग्री हात पारेका थिए।

सर्गेई ब्रिन
सर्गेई ब्रिन अमेरिकी कम्प्युटर वैज्ञानिक एवं उद्यमी हुन्। उनको जन्म सन् १९७३ अगस्ट २१ मा रुसको मस्कोमा भएको हो। उनले ल्यारी पेजसँग मिलेर अनलाइन खोज इन्जिन गुगल सिर्जना गरेका थिए। ब्रिनको परिवार सन् १९७९ मा मस्कोबाट अमेरिका सरेको थियो। मेरिल्यान्ड विश्वविद्यालयबाट कम्प्युटर विज्ञान र गणितमा डिग्री प्राप्त उनले स्ट्यानफोर्ड विश्वविद्यालयबाट स्नातक गरे। 

मार्क जुकरबर्ग
मार्क जुकरबर्ग अर्थात् मार्क इलियट जुकरबर्ग अमेरिकी कम्प्युटर प्रोग्रामर हुन्। उनी लोकप्रिय सामाजिक सञ्जाल फेसबुकका सहसंस्थापक एवं प्रमुख कार्यकारी अधिकृत हुन्। फिलिप्स एक्सेटर एकेडेमीमा पढाइ सकिएपछि सन् २००२ मा उनी हार्वर्ड विश्वविद्यालयमा भर्ना भए। उनले सन् २००४ फेब्रुअरी ४ मा दफेसबुक डटकम सुरु गरे। जसलाई सन् २००५ मा नाम परिवर्तन गरेर फेसबुक बनाए। प्रयोगकर्ताले प्रोफाइल सिर्जना गर्न, तस्बिर र अन्य मिडिया अपलोड गर्न तथा साथीहरूसँग सम्पर्कमा रहन सक्ने भएकाले फेसबुक चाँडै नै लोकप्रिय भयो। 

स्टिभ बाल्मर 
स्टिभ एन्थोनी बाल्मरको जन्म सन् १९५६ मार्च २४ मा अमेरिकाको मिसिगनमा भएको हो। अमेरिकी व्यापारी बाल्मर कम्प्युटर सफ्टवेयर कम्पनी माइक्रोसफ्ट कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत रहेर काम गरिसके। बाल्मरले सन् १९७७ मा हार्वर्ड विश्वविद्यालयबाट गणित र अर्थशास्त्रमा स्नातक गरे। उत्पादन प्रबन्धकका रूपमा प्रोक्टर एन्ड ग्याम्बलमा दुई वर्ष काम गरेपछि उनले स्ट्यानफोर्ड विश्वविद्यालयबाट स्नातक गरे। सन् १९८० मा उनले हार्वर्डका साथी बिल गेट्सका लागि व्यवसाय प्रवन्धका रूपमा काम गर्न विश्वविद्यालय छाडे र माइक्रोसफ्टको स्थापना गरे।

वारेन बफेट 
अमेरिकाको नेब्रास्कास्थित ओमाहामा सन् १९३० अगस्टमा जन्मिएका वारेन बफेट २०औं शताब्दीका सबैभन्दा सफल लगानीकर्ता मानिन्छन्। ‘ओमाहाको ओरेकल’ भनेर चिनिने बफेट नेब्रास्काका अमेरिकी प्रतिनिधि हावर्ड होमन बफेटका छोरा थिए। उनले नेब्रास्का विश्वविद्यालयबाट स्नातक र कोलम्बिया विश्वविद्यालयबाट स्नातकोत्तर गरे। उनले सन् १९६५ मा कपडा कम्पनी बर्कसायर हाथावे इंकको बहुमत सेयर लिए। उनी बर्कसायर हाथावेका प्रमुख कार्यकारी छन्। 

-  एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.