सत्तागठबन्धनको जोड पहिले संसदीय चुनावमै
काठमाडौं : निर्वाचन आयोगले शुक्रबारभित्र स्थानीय तह निर्वाचनको मिति तोक्न सरकारसँग आग्रह गरेको छ। तर, सत्तागठबन्धनको ध्यान भने स्थानीय तहभन्दा पहिले संसद्को चुनाव गराउनेतिर छ। सत्ता गठबन्धनका नेताहरू गठबन्धन बनाएरै वैशाखमा संसद्को निर्वाचन गर्नुपर्ने पक्षमा देखिएका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृतका अध्यक्ष माधव नेपालले बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरी वैशाखमा प्रतिनिधिसभा निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए। ‘यो संसद् मार्ने, गतिहीन बनाउने विपक्षीलाई पचेको छैन,’ एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने, ‘अब एकैपटक प्रतिनिधिसभा निर्वाचन गरौं भनेर प्रधानमन्त्रीजीलाई भनेका छांै। यस विषयमा भोलि (शुक्रबार) छलफल हुन्छ।’
नेता नेपाल कोरोनाबाट संक्रमण भएका कारण यसअघिको सत्तागठबन्धनको उच्चस्तरीय समन्वय समिति बैठकमा अनुपस्थित थिए। उक्त बैठकमा माओवादी केन्द्रका अध्यक्ष दाहालले वैशाखमा प्रतिनिधिसभा निर्वाचन गरेर मंसिरमा स्थानीय तह निर्वाचनमा जानुपर्ने प्रस्ताव गरेका थिए।
नेता नेपाल होम आइसोलेसन बसेको एक साता बढी भइसकेका कारण गठबन्धनको बैठक बिहीबार तोकिएको थियो। तर, बैठक स्थगित गरेर तीन दलका नेताबीच मात्रै छलफल भएको थियो। छलफलमा माओवादी केन्द्रका अध्यक्ष दाहालले वैशाखमा संसद्को चुनाव गर्दा कुनै अनर्थ नहुने बरु, सुल्टो प्रक्रिया हुने बताएका थिए।
माओवादी केन्द्र र नेकपा एकीकृत सत्तापक्षीय दलको गठबन्धन बनाएरै चुनावमा जानुपर्ने प्रस्ताव गर्दै आएका छन्। तर, सत्ताको नेतृत्व गरिरहेको कांग्रेसमा भने चुनावी गठबन्धनबारे भिन्न–भिन्न मत छन्। कांग्रेसका युवा नेताहरू चुनावमा कांग्रेस एकल रूपमा मैदानमा उत्रिनुपर्ने धारणा राख्दै आएका छन्। प्रधानमन्त्रीसँगको छलफलमा माओवादी केन्द्रका अध्यक्ष दाहालले आर्थिक र प्राविधिक दृष्टिकोणले पनि तिनै तहको चुनाव एकैपटक गर्न सकिन्छ कि भन्नेतिर पनि सरकारले गृहकार्य गर्नुपर्ने प्रस्ताव गरेको स्रोतले बतायो। तीनै तहको चुनाव एकैपटक सम्भव नभए वैशाखमा संसद्को चुनाव गरेर मंसिरमा स्थानीय तह निर्वाचनमा जानुपर्ने दाहालको भनाइ थियो।
तीन नेताबीचको भेटघाटपछि सत्तागठबन्धनको बैठक शुक्रबार बोलाइएको छ। सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले शुक्रबार ४ बजे पाँच दलीय सत्ता गठबन्धनको बैठक तय गरिएको जानकारी दिए। ‘चुनावकै विषयमा तीन नेताबीच चर्चा भयो,’ कार्कीले भने, ‘वैशाखमा स्थानीय तहको चुनाव गर्नुपर्छ भन्ने प्रधानमन्त्रीजीको धारणा प्रस्ट छ। दाहालजी र माधवकुमारजीको संसदीय चुनाव पहिला गरौं भन्नेमा हुनुहुन्छ ।’