जाडोमा जोगिने उपाय
कोरोना संक्रमणको तेस्रो लहर ओमिक्रोनले फेरि विश्वलाई भयभीत बनाएको छ। कोरोनाको महामारी रोकिने लक्षण देखिदैन। त्यसमाथि चिसो बढेसँगै जाडो मौसममा देखिने समस्याले धेरैलाई सताउन थालेको छ। यतिबेला बालबालिका, महिला र वृद्धवृद्धालाई बढी नै समस्या हुने गर्छ। शिशुमा समस्या झनै बढी रहन्छ। वातावरणको प्रत्यक्ष सम्बन्ध रहने भएकाले चिसोमा रुघाखोकी, भाइरल इन्फ्लुएन्जा, दम, श्वासप्रश्वास, पिनास तथा निमोनियाका बिरामी बढ्ने गर्छन्। चिसोको एलर्जी, घाँटीको संक्रमण, चिसोमा हुने झाडापखाला, छाला, ओठ फुट्ने, चिलाउने, सुन्निने, शरीरमा सेतो कत्ला निस्कने, छाला सुक्खा तथा फुस्रो हुने, चाउरी पर्ने, अनुहारमा कालो र सेतो दाग हुने, ब्रोङ्काइटिस, दादुरा, ठेउलालगायत मुटु कमजोर हुनेजस्ता समस्या पनि देखिन्छन्।
जाडोमा शरीरका बाहिरी भाग हातखुट्टाका औंला, कान रातो हुने, चिलाउने, सुन्निने र घाउ हुने, दाद, ओठ फुट्ने, हातखुट्टा फुट्नेजस्ता समस्या पनि हुन्छन्। चिसोले विशेषगरी मुटु, जोर्नी, श्वासप्रश्वास र दमका पुराना बिरामी, कुपोषित बालबालिकालाई बढी आक्रमण गर्छ। साथै शीतलहर हुँदा मुटु र मस्तिष्कमा असर पुग्ने र हृदयाघात हुने, कोलेस्ट्रोल बढाउने, पक्षघात गराउने र बालबालिकामा दादुरा, ठेउला पनि देखिने गर्छ। ध्यान दिन सकियो भने यस्ता धेरै रोगबाट सहजै बच्न सकिन्छ। मौसमअनुसार मानिसले आहारविहारमा ध्यान दिनुपर्छ। शरीरलाई निरोग र बलवान् राख्न सकिन्छ।
आयुर्वेदअनुसार जाडो मौसममा जठराग्नी तीव्र हुन्छ, पाचन शक्ति प्रबल रहन्छ। आहार राम्रोसँग हजम हुन्छ। जाडो मौसमको सही तथा पूरा सदुपयोग गर्न पौष्टिक, बलवद्र्धक तथा गुणवद्र्धक पदार्थहरू सेवन गर्नुपर्छ। जस्तो कि शुद्ध घिउबाट बनेका पदार्थ, मुङको दालको हलुवा, मासको खीर, शुद्ध घिउको जेरी र दूध आदि। मौसमी फलफूल, बदाम, ओखर, किसमिस, मुङफली, अमला र सुत्ने बेलामा गोल्डेन मिल्क।
गोल्डेन मेमोरी मिल्क तयार गर्ने विधि यस प्रकार छः बिहान दुई–चार वटा बदाम (आलमन्ड) एक कप पानीमा भिजाएर राख्नुपर्छ। आफ्नो पाचनशक्तिअनुसार बदामको संख्या कमबेसी गर्न सकिन्छ। तर चारवटा बदामभन्दा बढी प्रयोग गर्नु हुँदैन। अब एक गिलास मनतातो दूधमा बदामको खोल हटाएर बनाएको लेप, एकतिहाइ चम्चा बेसार, आधा चम्चा शुद्ध घिउ (गाईको घिउ उत्तम) हालेर राम्रोसँग मिलाउनु पर्छ। यस दूधमा एक चम्चा मह मिसाउने तथा अलँैची र दालचिनीको अलिकति चूर्ण माथिबाट छर्कन सकिन्छ। यसरी गोल्डेन मेमोरी मिल्क तयार हुन्छ। अब एक चम्चा त्रिफला चूर्ण मुखमा हालेर गोल्डन मेमोरी मिल्क पिउनु पर्छ। बिहानको नास्तामा केशर चिया, हर्बल चिया तथा राति भिजाएर राखेको एक मुठी चना खाने। सकिन्छ भने राति नै भिजाएर राखेको १०–१५ दाना किसमिस तथा दुई–चारवटा जति छोकडा तथा कागजी बदाम राम्रोसँग चपाएर खानुपर्छ। स्वादका लागि चनामा अलिकति पिसेको सिदेनुन, मरिचको धुलो तथा कागतीको रस मिसाउन सकिन्छ। अझ अंकुरित गेडागुडीको भोजन अमृत भोजन, नास्ताको रूपमा सेवन गर्नु सर्वोत्तम हुन्छ।
अमृत भोजन भनेको नमरेको भोजन हो जसमा भरपूर प्राणशक्ति हुन्छ। त्यसैले यो पौष्टिक तथा बलवद्र्धक हुन्छ। बिहानी नास्ताका लागि अमृत भोजनमा निम्नलिखित अंकुरित गेडागुडीलाई लिन सकिन्छ। चना १५ ग्राम, गहँु १५ ग्राम, मुग १० ग्राम, मुगफली १० ग्राम, मेथी १० ग्राम र तिल ५ ग्राम चाहिन्छ। उपयुक्त अंकुरित गेडागुडीमा प्याज, गोलभेंडा, पालकको पत्ता, हरियो धनियाँ, पत्तागोपी, गाँजर इत्यादिका ससाना टुक्राहरू काटेर मिसाउन सकिन्छ। स्वादका लागि अलिकति पिसेको सिदेनुन, अदुवा, मरिचको धुलो तथा कागतीको रस मिसाउन सकिन्छ। र, यो अमृत भोजनलाई खुब राम्रोसँग चपाएर खानुपर्छ। जाडो मौसममा मात्र होइन, अन्य मौसममा पनि यो अमृत भोजन सेवन गर्न सकिन्छ।
जाडो मौसममा आहारअनुसारको विहार (रहनसहन) एकदमै महŒवपूर्ण हुन्छ। योग्य विहार गर्नुपर्छ। योग्य विहार नगर्ने तथा गर्न अयोग्य विहार गर्ने हो भने शरीरलाई हानि गर्छ तथा रोग पैदा हुन्छ। जाडोमा शीतबाट बच्नुपर्छ। शरीरमा तेल मालिस गर्नुपर्छ। व्यायाम तथा योगासन गर्नुपर्छ। घाम ताप्नुपर्छ। बिहान हिँड्ने या दौडिने गर्नुपर्छ। न्यानो लुगा लगाउनुपर्छ। सुत्दा न्यानो कपडा जस्तै कम्बल, सिरक आदिको प्रयोग गर्नुपर्छ। तातोपानी नियमित पिउनु पर्छ। मनतातो पानीले नुहाउँदा राम्रो हुन्छ। यी सबै जाडो मौसमका उचित विहार हुन्।
जाडो मौसममा मानिस बिहान नुहाउन अल्छी मान्छन्। तर जस्तोसुकै जाडो भए पनि बिहान नुहाउन अल्छी गर्नु हँुदैन। बिहानै सबेरै उठेर नुहाउनाले शरीरमा फूर्ति बढ्छ। तोरीको तेल वा तीलको तेलले शरीर मालिस गरेर नुहाउँदा सुनमा सुगन्ध छरेझैं हुन्छ। धेरै जाडो भए मनतातो पानीले नुहाउन सकिन्छ। तर, धेरै तातो पानी टाउको तथा आँखामा पर्न दिनु हँुदैन। अतः यसरी जाडो मौसमको उचित आहारविहारको पालना गर्ने हो भने शरीर पुष्ट, सुडौल तथा स्वस्थ हुन्छ। जसले गर्दा गर्मी मौसममा पनि शरीर स्वस्थ रहन्छ।
लेखक पोषणविद् हुन्।