भत्कियो कोतगढी, मेटिंदै बहादुरीको निशानी

भत्कियो कोतगढी, मेटिंदै बहादुरीको निशानी

दैलेख : ढुंगैढुंगाले निर्माण गरिएको दैलेखको कोतगढी पाँच पाण्डवले निर्माण गरेको मानिन्छ। यसलाई प्रयोग गरेर विभिन्न कालखण्डमा युद्ध भए। द्वन्द्वको समयमा पनि नेपाली सेनाले यसकै सहारा लियो। सुरक्षाको बन्दोबस्त मिलाउने र हातहतियार तैनाथ राख्न उत्तम स्थानका रूपमा इतिहासदेखि वर्तमानसम्म यसले काँध थाप्यो। तर, ऐतिहासिकता जोगाउन स्थानीयलाई हम्मेहम्मे परेको छ। पूर्खाको बहादुरीको साक्षी मेटाउने चिन्ता छ। ‘गढीभित्र केही हेर्नलायक संरचना थिए, ती भत्काइए। अहिले स्वरूप फेरिएको छ। पुरानै शैली र स्वरूपमा मर्मत तथा जीर्णोद्धार गरिनुपर्छ। पुरानो सम्पदा र स्वरूपलाई मास्नु हुँदैन्,’ नागरिक समाज दैलेखका अध्यक्ष खड्गबहादुर सिजाती भन्छन्। 

झन्डै दुई सय मिटरको परिधिमा गढी फैलिएको छ। पुतली आकारमा निर्माण भएको यसमा १३ वटा प्वाल र त्यति नै चुच्चा छन्। न्यूनतम एक क्वीन्टलदेखि २० टनसम्मका ढुंगाको प्रयोगबाट बनेको छ। अवलोकन गर्ने पर्यटकको संख्या दैनिक बढ्दैछ। तर, यस्तै महत्व बढ्दै गएको समयमा मर्मतको नाममा ऐतिहासिक संरचना भत्काउन सुरु भए। प्राचीन गढीको स्वरूप बिगारियो। संघ र प्रदेश सरकारले पनि यसको ऐतिहासिकता बुझेन। खर्च गरेर संरक्षणको साटो स्वरूप नै परिवर्तनको काम भएको आरोप स्थानीय नागरिकको छ। पुरातत्व विभागले पनि नियमविपरीत कार्य भनेको छ। अहिले ऐतिहासिक ढुंगा यत्रतत्र छरिएका छन्। बालुवा र सिमेन्टको संरचना निर्माण सुरु भएको छ। कोतगढी प्रवेशद्वारको सिँढी भत्काइएको छ। जीर्णोद्वारको काम गरिएको भनिए पनि पुरानो स्वरूप बिगारिएको छ। पुरातत्व विभागको नजर भत्काइएपछि परेको छ। 

नेपाली सेनाको स्वामित्वमा रहेको यहाँ संरचना र सम्पदाको सुरक्षामा समेत चुनौती थपिएको स्थानीय मनिष भण्डारी बताउँछन्। ‘मर्मतका नाममा गढीको प्राचीन सुन्दरता बिगारियो भने पर्यटकको आकर्षण घट्नेछ,’ उनले भने। तत्कालीन इन्जिनियरिङ मात्र नभई दूरदर्शी झल्को दिने ऐतिहासिक कोतगढी जस्ताको त्यस्तै रहन दिनुपर्ने स्थानीयले जोड दिएका छन्। तर, बजेट सिध्याउन स्वरूप बिग्रने गरी गढी मर्मतको काम सुरु गरिएको स्थानीय बताउँछन्। पुरातात्विक तथा कानुनी जटिलताहरू भए पनि सानो आकारमा व्यवस्थापकीय समूहसहित सेनाकै स्वामित्वमा गढीको ऐतिहासिक तोपलाई पुनर्स्थापना गरिनुपर्ने माग पनि बारम्बार उठिरहेको छ।

नारायण नगरपालिकाले विगत तीन वर्षदेखि संरक्षणका नाममा सम्पदामाथि सिमेन्ट लगाउनेलगायतका कार्य गर्‍यो। कानुनत् (प्राचीन स्मारक संरक्षण नियमावली, २०४६) पुरातत्व विभागको स्वीकृत बिना पुरातात्विक सम्पदाभित्र कुनै काम गर्न पाइँदैन्। तर, कर्णाली प्रदेश सरकार, नारायण नगरपालिका लगायतका निकायले धमाधम कंक्रिट संरचना बनाए। सिमेन्ट र आधुनिक उपकरण प्रयोग गरेर विभिन्न संरचना निर्माण भए। 

आर्थिक वर्ष २०७६/०७७ मा कोतगढी संरक्षणका लागि भन्दै कर्णाली प्रदेश सरकारको ४० लाख बजेट छुट्ट्यायो। नगरपालिकाले त्यसमा १३ लाख थप्यो। जम्मा ५३ लाखमा घेरबार र कंक्रिट पर्खाल निर्माण सुरु भयो। यसले गढीका लागि न्यय नगरेको स्थानीय न्यू ज्वाला क्लबका अध्यक्ष विशाल सुनार बताउँछन्। आर्थिक वर्ष २०७७/०७८ मा डिभिजन वन कार्यालयबाट २० लाखको लगानीमा गढी वरिपरि माटो बग्न नदिनका लागि कंक्रिट पर्खाल लगाइएको थियो। त्यहाँ गमलासमेत राखियो। तर, अधिकांश गमलाहरू फुटिसकेका छन्। नगरपालिकाले यी काम गर्दा न पुरातत्व विभागलाई जानकारी दियो, न त स्वीकृत नै लियो । विभागको ध्यान पनि त्यहाँ पुगेन।

विभागबाट स्वीकृत नलिए पनि कोतगढी संरक्षणका लागि आफूहरूले मर्मत कार्य गरिरहेको नगरपालिकाले स्वीकारेको छ। नारायण नगरपालिका–१ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठ भन्छन्, ‘गढी संरक्षण, मर्मत तथा जीर्णोद्धारका लागि पुरातत्व विभागलाई पटक–पटक आग्रह गर्दै आएका थियौं, तर त्यहाँबाट सम्भव नभएपछि स्थानीय तहबाटै गढीको संरक्षणका लागि मर्मत कार्य गरेका हौं।’ उनले प्रदेश सरकार र विभिन्न गैरसरकारी संस्थासँग साझेदारी गरेर कोतगढी संरक्षण, मर्मत तथा जीर्णोद्धारको काम गरिरहेको वडाध्यक्ष श्रेष्ठले बताए। 

चालू आर्थिक वर्षमा नगरपालिकाले सेवक दैलेखसँग साझेदारी गरेर पर्यटन विकासका लागि कोतगढी मर्मत तथा पुनर्निर्माण कार्यक्रम गरिरहेको छ। संस्थाको २३ लाख ३२ हजार १ सय र नारायण नगरपालिकाको १० लाख गरी ३३ लाख ३२ हजार १ सय रुपैयाँको लगानीमा संरक्षणको नाममा उपभोक्ता समितिमार्फत कोतगढीभित्र उत्खनन् गरिएको छ। अहिले कोतगढीभित्र उत्खनन् कार्यसमेत भइसकेको छ। गढीको सुरक्षाका लागि घेरबारसमेत गरिएको छ। संस्थासँग साझेदारी गरेको रकम नेपाल पर्यटन बोर्ड, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम –यूएनडीपी) को जीविकोपार्जन पुनरुत्थानका लागि दिगो पर्यटन परियोजनाको हो। 

पुरातत्व विभागले रोक्यो काम 

नगरपालिकाले ऐतिहासिकता मेटाउन लागेको भन्दै कोतगढीमा भइरहेको काम रोक्न पुरातत्व विभागले निर्देशन दियो। अहिले काम रोकिएको छ। तर, यसको भविष्य कस्तो हुने चिन्ता उत्तिकै छ। नगरपालिकाले गरेको डीपीआर नै ऐतिहासिक मेटाउने भएको कारण मर्मत र निर्माणका काम राक्नुपरेको विभागका पुरातात्विक अधिकृत विष्णु पाठकले बताए। उनका अनुसार कोतगढी संरक्षरण र मर्मतका नाममा बनेको डीपीआर र बनेका संरचना नै पुरातात्विक सम्पदाको मर्मविपरीत छ। विभागका उपनिर्देशक रामबहादुर कुँवर अहिले भइरहेको काम नियमसंगत नरहेको बताउँछन्। ‘हामीले इन्जिनियरसहितको टोली लगेर कोतगढीमा भइरहेको मर्मतसम्भारको अध्यायन अनुसन्धान गरेका थियौं। ऐतिहासिक कोतगढीको स्वरूप बिगारेको निचोड विभागले निकालेको छ,’ विभागका उपनिर्देशक रामबहादुर कुँवरले भने। 

दैलेख सदरमुकामस्थित हालको कोतगढी क्षेत्रको ड्रोनबाट लिइएको तस्बिर।  तस्बिर सौजन्य : विशाल सुनार

नगरपालिकाले पुरातत्व विभागसँग समेत समन्वय नगरी आफूखुसी काम गरेको विभागको भनाइ छ। विभागले अनुसन्धान गर्दा पुरातत्व हिसावले डीपीआर नभएको, कोतगढीभित्र र बाहिरको सम्पूर्ण काम आधुनिक तरिकाबाट बनाएको भेटेको थियो। विभागका इन्जिनियर केदार भण्डारीका अनुसार कोतगढीमा विभागसँग समन्वय नगरेर आफूखुसी काम गर्दा प्रविधिक रूपमा धेरै समस्या भेटिएका हन्। ‘तत्काल सम्पूर्ण काम रोक्न निर्देशन भएको हो। विभागले कोतगढीका बारेमा प्रतिवेदन तयार गर्ने र विस्तृत कुरा सार्वजनिक गर्नेछ,’ उनले भने। 
यता विभागले भित्रि गेट भत्किन लागेकाले स्टेमेन्ट र डिजाइन आफंै गरिरहेको जनाएको छ। स्थानीयले कोतगढीको सौन्दर्य बिगार्ने गरी काम भइरहेको विभागमा उजुरी परेपछि गत पुसमा कामको विभागले अनुगमन भएको थियो। 

नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले कोतगढी संरक्षण गर्नका लागि सकारात्मक सोचेर गरेको काममा केही कमजोरी भएको स्वीकार गरेका छन्। ‘हाम्रो नगर क्षेत्रमा रहेको महत्वपूर्ण पुरातात्विक तथा ऐतिहासिक सम्पदा संरक्षण गर्ने भनेर काम भएका हुन्। तर, केही कमजोरी भएका छन्। अब यसअघि भएका कमीकमजोरीहरू सुधार्छौं,’ उनले भने। 
प्राचीन स्मारक संरक्षण नियमावली, २०४६ मा प्रमुख जिल्ला अधिकारीले प्रत्येक वर्ष असार मसान्तभित्र आफ्नो जिल्लाभित्र रहेको पुरातात्विक वस्तुहरूको विवरण पुरातत्व विभागमा पठाउनुपर्ने उल्लेख छ।  गढीक्षेत्रमै रहेको जिल्ला प्रशासन कार्यालय कोतगढी संरक्षण भन्दै थुप्रै कामहरू भइरहँदा पनि बेवास्ता गरिरहेको थियो। यद्यपि प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले कोतगढीमा मर्मत तथा जीर्णोद्धारका काम गर्नका लागि पुरातत्व विभागमा पत्राचार गरिएको दाबी गर्छन्। 

कोतगढीको ऐतिहासिकता

युद्ध र युद्धको भव्यतालाई झल्काउने गरी तयार गरिएको कोतगढी दैलेखलाई चिनाउने पुरातात्विक सम्पदा हो। जसले पुर्खाको बहादुरीलाई जीउँदो राखेको छ। कोतगढी सदरमुकामकोमा नै भएकाले पनि अन्तरिक तथा बाह्य पर्यटकका लागि दुष्यावलोकन गर्न सहज छ। ढुंगैढुंगाको कोतगढी कहिले र कसले निर्माण गरेको हो भन्ने एकिन हुन सकेको छैन्। यद्यपि ‘सिन्धुलीगढी’ र ‘अमरगढी’ भन्दा निर्माणका हिसाबले पुरानो मानिन्छ। 

केही वर्ष अघिसम्म गढीभित्र भवनसमेत थिए। सशस्त्र द्वन्द्वको समयमा नेपाली सेनाले आफ्नो सुरक्षाका लागि यही गढी प्रयोग गरे। यसले गढीको स्वरूप पहिलेभन्दा बदलिएको छ। पहिले गढीभित्रैबाट झन्डै ३ सय मिटर दूरीमा रहेको रानीधारा भन्ने ठाउँसम्म जान सुरुङसमेत रहेको जानकारहरू बताउँछन्। गढीको स्वरूप पहिलेभन्दा बिग्रिँदै गएपछि स्थानीय पुरानै स्वरूपमा मर्मत तथा जीर्णोद्धार गर्नुपर्नेमा जोड दिए। कोतगढीको ऐतिहासिक गरिमा कायम गर्न तथा कोतगढीको पुरानो संरचना 
निर्माण गरी ऐतिहासिक सम्पदाको संरक्षण गर्नुपर्ने नागरिक समाज दैलेखका अध्यक्ष खड्गबहादुर सिजाती बताउँछन्। स्थानीय ७५ वर्षीया चन्द्रा विसुन्केले कोतगढी राम्रो बनाउने नाममा बिगार्न खोजिएको बताइन्। 

इन्जिनियरसहितको टोली लगेर कोतगढीमा भइरहेको मर्मतसम्भारको अध्यायन अनुसन्धान गरेका थियौं। ऐतिहासिक कोतगढीको स्वरूप बिगारेको निचोड विभागले निकालेको छ।
रामबहादुर कुँवर, उपनिर्देशक, पुरातत्व विभाग


गढी हाम्रो नगर क्षेत्रमा छ। यो महत्वपूर्ण पुरातात्विक तथा ऐतिहासिक सम्पदा संरक्षण गर्ने काम गरेका हौं। तर, केही कमजोरी भएका छन्। कमीकमजोरीहरू अब सुधार्छौं।
रत्नबहादुर खड्का, मेयर, नारायण नगरपालिका


गढी संरक्षण, मर्मत तथा जीर्णोद्धारका लागि पुरातत्व विभागलाई पटक–पटक आग्रह गर्दै आएका थियौं। तर, त्यहाँबाट सम्भव नभएपछि स्थानीय तहबाटै संरक्षणका लागि मर्मत गरेका हौं।
तीर्थनारायण श्रेष्ठ, वडाध्यक्ष, नारायण नगरपालिका -१

गढीभित्र केही हेर्नलायक संरचना थिए, ती भत्काइए। अहिले स्वरूप फेरिएको छ। पुरानै शैली र स्वरूपमा मर्मत तथा जीर्णोद्धार गरिनुपर्छ। पुरानो सम्पदा र स्वरूपलाई मास्नु हुँदैन्।
खड्गबहादुर सिजाती , अध्यक्ष, नागरिक समाज दैलेख

मर्मतका नाममा गढीको प्राचीन सुन्दरता बिगारियो भने पर्यटकको आकर्षण घट्नेछ।
 -मनिष भण्डारी, स्थानीय

सुन्दरी तोप आयो, अर्गा गुमनाम
बुढापाकाका अनुसार २०२८ सालमा दैलेखस्थित नेपाली सेनाको ज्वाला दल गणलाई सुर्खेत सारियो। गणसँगै सुर्खेत लगिएको दुईवटा तोपहरू ‘सुन्दरी र अर्गा’ मध्ये सुन्दरी तोपलाई दैलेखमै पुनर्स्थापना गरिएको छ। अर्गा तोप भने अझैं गुमनाम छ। 

कोतगढीमा परापूर्वकालदेखि नै ‘सुन्दरी र अर्गा’ नामका दुईवटा तोपहरू थिए। त्यसबेला बडादसैंलगायतका महत्वपूर्ण चार्डपर्वहरूमा तोपको बढाईपछि मात्र पूजाआजा तथा टीका थाप्ने चलन थियो। तत्कालीन समयबारे जानकार ७६ वर्षीय खगेन्द्र मल्ल भन्छन्, ‘फूलपातीको दिन कोतगढीका तोप स्थानीय टुँडिखेलमा ल्याएर तोपलाई दुल्लुतर्फ फर्काएर पड्काएपछि पूजाआजा सुरु हुन्थ्यो।’ 

सुर्खेतस्थित नेपाली सेनाको पृतनामा रहेको ‘सुन्दरी र अर्गा’ मध्ये एउटा तोप।

२०२८ सालताका जिल्लास्थित तत्कालीन नेपाली सेनाको ज्वाला दल गणलाई दैलेखबाट सुर्खेत सरियो। सेनाको गणसँगै सुन्दरी र अर्गा तोप पनि सुर्खेत पुगे। त्यसयता झन्डै पाँच दशकसम्म तोपहरू गुमनाम रहे। संघीयतापछि राजनीतिक दल, नागरिक समाजलगायत जिल्लावासीले दैलेखसँग जोडिएको ऐतिहासिक तोपहरू फिर्ता हुनुपर्ने माग राखेपछि स्थानीय सरकारले 
खोजी सुरु भयो। 

नारायण नगरपालिका–१ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठ भन्छन्, ‘हामीले नेपाली सेनासँग समन्वय गरेर तोपहरू खोज्ने क्रममा सुर्खेतस्थित राजदल गणमा सुन्दरी तोप फेला पर्‍यो।’ नेपाली सेना र दैलेखको इतिहाससँग जोडिएको तोपहरूमध्ये सुन्दरी तोपलाई हालै दैलेख ल्याइएको छ। उक्त तोप झन्डै ५० वर्षपछि दैलेखमा पुनर्स्थापना गरिएको हो। दैलेखको काँडाचौरस्थित इन्द्रदल गुल्मका गुल्मपति सेनानी दिनेश लामाले जंगीअड्डाले सुर्खेत राजदल गणमा राखिएको सुन्दरी तोप दैलेख पुनःस्थापना गर्न स्वीकृत दिएपछि तोप दैलेख ल्याइएको बताए। उनका अनुसार सुन्दरी नामक तोप र ८१ थान गोला दैलेख ल्याइएको छ। उक्त तोप अहिले नेपाली सेनाको इन्द्रदल गुल्म काँडाचौरमा राखिएको छ। १८४६ सालमा बहादुर शाहको पालामा उक्त तोप बनेको इतिहास छ। सुन्दरी तोप पितलबाट बनेको हो। 

दुईवटा तोपहरू ‘सुन्दरी र अर्गा’ मध्ये अर्गा तोप अझै गुमनाम जस्तै छ। अर्गा तोप कहाँ छ भन्नेबारे अझै एकिन हुन नसकेको वडाध्यक्ष श्रेष्ठले बताए। अर्गा तोप तामाबाट बनेको छ। तत्कालीन समयमा तोप भगवतीको मूर्तिसमेत रहेको जानकारहरू बताउँछन्। ‘हामीले नेपाली सेनासँगको समन्वयमा सुन्दरी तोप दैलेख फिर्ता ल्याउन सफल भएका छौं,’ वडाध्यक्ष श्रेष्ठले भने, ‘अर्गा तोप र भगवतीको मूर्तिको पनि खोजी गरिरहेका छौं।’ तोप पुनर्स्थापनाले दैलेखको पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने स्थानीय प्रभा विकले बताए ‘तोप जिल्लाका लागि अमूल्य सम्पत्ति हो, अहिले एउटा तोप ल्याइएको छ, त्यसलाई अलपत्र पारिनु हुँदैन्, सुरक्षित राख्नुपर्छ’, उनले भने। उनले अर्गा तोप खोजी गरेर दैलेख ल्याउनुपर्ने माग गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.