खेलकुदका भौतिक पूर्वाधार निर्माणमा जुट्यो कर्णाली

खेलकुदका भौतिक पूर्वाधार निर्माणमा जुट्यो कर्णाली

सुर्खेत : कर्णालीमा राष्ट्रियस्तरको खेलकुद प्रतियोगिता संचालन गर्न पूर्वाधारको अभाव छ । गतिलो पूर्वाधार नभएकै कारण हालसम्म कर्णालीले राष्ट्रिय खेलकुद प्रतियोगिता नै आयोजना गर्न सकेको छैन । तर, अब राष्ट्रियस्तरको प्रतियोगिता संचालन गर्ने कसरतमा कर्णाली जुटेको छ । यसका लागि आवश्यक पर्ने भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकार जुटेको हो ।

कर्णालीले आगामी दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता संचालन गर्ने योजना बनाएको छ । यसैको तयारी स्वरुप प्रदेश सरकारले कर्णालीमा खेलकुदका भौतिक पूर्वाधारहरु निर्माण गर्न थालेको छ । 

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्नकै लागि प्रदेश सरकारले खेलकुदका पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको हो । यसअन्तर्गत दुईवटा ठूला खेलकुदका पूर्वाधार निर्माणको काम अगाडि बढेको छ । सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशस्तरीय रंगशाला र रुकुमपश्चिमको चौरजहारीमा क्रिकेट मैदान निर्माणको प्रक्रिया अगाडि बढेको हो । 

दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमै सञ्चालन गर्न मिल्नेगरी वीरेन्द्रनगरमा प्रादेशिक रंगशाला निर्माणको काम सुरु भएको छ । दुई महिनादेखि एमएसी एण्ड जीएसएल कम्पनीले रंगशाला निर्माणको काम सुरु गरेको हो ।

हाल आयोजनाको आधारभूत काम सम्पन्न भइसकेको निर्माण कम्पनीले जनाएको छ । रंगशालाको डिजाइन र निर्माणको काम पनि सँगसँगै अगाडि बढाइएको निर्माण कम्पनीका इन्जिनियर गगन थापाले बताए । तोकिएकै समयमा निर्माण सम्पन्न गर्नेगरी काम भइरहेको उनको भनाइ छ । वीरेन्द्रनगरमा बन्ने यो रंगशालामा १० हजार दर्शक अट्नेछन् । 

यही रंगशालामा अन्तर्राष्ट्रिय स्तरको भलिबल खेल मैदान, स्वीमिङ पुल, फुटबल, ह्याण्ड बल, बास्केट बल र एथ्लेटिक्सलगायतका प्रतियोगिता संचालन गर्न सकिनेछ। अबको साढे दुई वर्षभित्र सम्पन्न गर्ने गरी एक अर्ब ५९ करोडमा रंगशाला निर्माणका लागि ठेक्का सम्झौता भएको छ । त्यस्तै रुकुमपश्चिमको चौरजहारीमा पनि क्रिकेट रंगशाला बन्ने भएको छ । 

क्रिकेट रंगशाला निर्माणका लागि प्रदेश सरकारले पाँच करोड रकम पठाइसकेको सामाजिक विकास मन्त्रालयअन्तर्गतको खेलकुद महाशाखाका प्रमुख जवहरलाल हमालले जानकारी दिए । चौरजहारीमा डीपीआर र जग्गा प्राप्ति लगायतका कामहरु अगाडि बढेका छन् । 

सोही क्रिकेट रंगशालामा केन्द्र सरकार पनि लगानी गर्न इच्छुक भएको छ । क्षेत्रीय स्तरको क्रिकेट रंगशाला निर्माण गर्ने ५० करोड लगानी गर्न केन्द्र सरकार इच्छुक भएको हो । ५० करोड लगानी गर्ने र रंगशालाको स्वामित्वसमेत आफैले लिने केन्द्र सरकारको तयारी छ ।

क्रिकेट रंगशाला निर्माणको काम पनि दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुनु अगाडि नै सक्ने लक्ष्य छ । कर्णाली प्रदेशमा हाल एउटा पनि गतिलो रंगशाला छैन । पूर्वाधारको अभावमा हालसम्म कर्णालीमा बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन सकेको छैन । प्रदेश र जिल्ला स्तरका प्रतियोगिता पनि धुले मैदानमै आयोजना हुने गरेका छन् । 

यस्तै खेलकुदका पूर्वाधार निर्माण गर्न भन्दै प्रदेश सरकारले प्रदेशका हरेक जिल्लामा एक÷एक करोडका दरले बजेट पठाएको छ । उक्त बजेटबाट जिल्लामा नयाँ खेल मैदान निर्माण, खेल मैदानका लागि डीपीआर र अघिल्ला आर्थिक वर्षमा अधुरा रहेका आयोजना पुरा गर्ने कार्यमा खर्च गरिने छ ।

‘जिल्लामा पठाइएको बजेटले नयाँ र अधुरा आयोजनालाई पुरा गर्न सकिनेछ,' खेलकुद महाशाखाका प्रमुख हमालले भने, ‘यही बजेटबाट नयाँ आयोजनाको लागि डीपीआरसमेत बनाउनु पर्नेछ ।’ अघिल्लो वर्ष प्रदेश सरकारले हरेक स्थानीय तहलाई खेल मैदान निर्माणका लागि १० लाख बजेट दिएको थियो । 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.