भाडाको भवनमा बस्दै मुस्ताङका दर्जनौं प्रहरी इकाइ
जोमसोम : भौगोलिक विकटता, प्रतिकुल मौसम र जीर्ण प्रहरी भवनका कारण मुस्ताङमा कार्यरत प्रहरीलाई ब्यवस्थापनमा निकै नै सास्ती हुने गरेको छ। मुस्ताङ प्रहरीको कुल १६ वटा इकाइ छन्। जसमध्ये केहीको आशिंक मात्र आफ्नै भवन छ भने अधिकांशको आफ्नै भवन छैन। भवन नभएका प्रहरी इकाइहरु वर्षौंदेखि व्यक्ति र संस्थागत भवनहरुमा भाडामा बस्दै आएका छन्।
मुस्ताङमा २०४० को सेरोफेरोमा प्रहरी इकाइहरु स्थापना भएका हुन्। त्यस समय सडक सञ्जाल र प्रहरीलाई चाहिने आवश्यक पूर्वाधार नहुँदा निकै समस्या थियो। अहिले सडक सञ्जाल सहज भए पनि प्रहरी व्यवस्थापनमा देखिएको चुनौती ज्यूँका त्यूँ नै छ। व्यक्ति र संस्थागत पुरानो जीर्ण ढुङ्गा र माटोले बनेका भाडाका घरमा प्रहरीलाई नागरिकको सुरक्षार्थ खटाइने गरिएको छ।
हिमपात हुँदा अत्यधिक चिसो बढ्दा र वर्षा हुँदा दुर्गम भेकमा खटिएका प्रहरीले सास्ती भोग्नु पर्ने बाध्यता छ। नागरिकको सुरक्षा, अमनचैन र सुशासन कायम राख्न अहोरात्र खटिने राष्ट्र सेवक प्रहरीका लागि राज्यले अहिलेसम्म कुनै सम्वोधन गर्न नसकेको उनीहरुको आरोप छ।
चिनसँग सीमाना जोडिएको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गापा अन्तर्गतका अधिकांश प्रहरी इकाइ भाडाको जीर्ण घरमा भएको जिल्ला प्ररही कार्यालय मुस्ताङले जनाएको छ। यस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्रका प्रहरी इकाइ पनि भाडाको घरमा छन।
मुस्ताङ प्रहरीका अनुसार उपल्लो मुस्ताङको प्रहरी चौकी छोनुप, इलाका प्रहरी कार्यालय छोसेर, प्रहरी चौकी सुर्खाङ, प्रहरी चौकी चराङ, प्रहरी चौकी घमी, इलाका प्रहरी चौकी छुसाङ, प्रहरी चौकी कागबेनी र इलाका प्रहरी कार्यालय मुक्तिनाथ भाडाको भवनमा छन्। यस्तै, थासाङ गाउँपालिका—२ कोवाङमा रहेको प्रहरी चौकी पनि भाडामा बस्दै आइरहेको छ। जिल्ला ट्राफिक कार्यालय र पर्यटक प्रहरी इकाइ पनि भाडामा बसेका छन्। प्रहरीको आफ्नै भवन नहुँदा प्रहरीलाई निकै सास्ती हुने गरेको छ भने अर्कोतर्फ लाखौं भाडा तिर्नुपर्ने हुन्छ।
उपल्लो मुस्ताङको छोनुप प्रहरी चाकी वर्षौंदेखि साविक गाविस भवनमा बस्दै आइरहेको छ। छोसेर प्रहरी चौकी नेचुङ भन्सार कार्यालयको जीर्ण भवनमा बसिरहेको छ। लोघेकरको सुर्खाङ प्रहरी चौकी सुर्खाङको एक विद्यालयमा छ। चराङ प्रहरी चौकी पनि व्यक्तिको घरमा बसेको छ। लोघेकरको घमीमा तीन वर्षअघि प्रहरी चौकी रहेपनि त्यहा प्रहरी राख्ने भाडाघर नपाउदा चौकी बस्न सकेको छैन।
वारागुङ मुक्तिक्षेत्रको इलाका प्रहरी चौकी छुसाङ आमा समुह र एक्यापको भवनमा छ। प्रहरी चौकी कागबेनी स्वास्थ्य चौकीमा छ। यस्तै मनाङ र मुस्ताङको सीमाना मुक्तिनाथ रानी पौवामा रहेको इलाका प्रहरी कार्यालय रानीपौवा धर्मशाला छ। थासाङको प्रहरी चौकी कोवाङ स्थानीयको घरमा भाँडामा बसेको छ। यस्तै, पर्यटक प्रहरी र जिल्ला ट्राफिक कार्यालय पनि संस्थागत र स्थानीयको घरमा भाँडामा बस्दै आइरहेको छ। मुस्ताङका प्रहरी इकाइको भौतिक संरचना कमजोर र दयनीय अवस्थामा रहेकाले यसको विकल्प सरकारले गर्नुपर्ने देखिएको हो। यसका अलवा प्रहरीलाई कार्यसम्पादन र व्यवस्थापनमा चाहिने अतिआवश्यकीय सामाग्रीसमेत उपलब्ध नहुँदा प्रहरीको दैनिकी निकै कष्ठकर बन्ने गरेको छ।
मुस्ताङको थासाङ—३ घाँसामा दुई वर्षअघि प्रहरीको आफ्नै भवन बनेको छ। स्थानीयले जग्गा दान गरेपछि प्रहरीको आफ्नै भवन बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। तर जिल्ला प्रहरी कार्यालयको भने भब्य भौतिक संरचना तैयार भइसकेको छ। सीमा प्रहरी चौकी लोमान्थाङ पनि केही वर्षअघि मुस्ताङी राजाको घरमा बसेको थियो। अहिले त्यहाँ प्रहरीको आफ्नै भवन बनेको छ। मुकाममा रहेको प्रहरी मुख्यालयको पनि केही वर्षअघि जीर्ण माटोले बनेको एकतले भवनमा थियो। भवन बनेपछि दैनिक कार्यसम्पादन तथा थुनुवा व्यवस्थापनमा निकै सहज हुन पुगेको छ।
दरबन्दी छ, छैनन् प्रहरी
मुस्ताङमा प्रहरीको पर्याप्त दरबन्दी रहे पनि न्यून संख्यामा मात्र प्रहरीले सेवा सञ्चालन गरेको पाइएको छ। मुस्ताङमा प्रहरीको ३ सय ११ जनाको दरबन्दी रहे पनि अहिले जम्मा १ सय ८१ जना प्रहरी मात्र कार्यसम्पादनमा खटिएका छन्।
छोनुप प्रहरी चौकीमा असइको दरबन्दीमा हवल्दार, इलाका प्रहरी कार्यालय छोसेरमा सइको दरबन्दीमा हवल्दार, सुर्खाङ प्रहरी चौकीमा असइको दरबन्दीमा हवल्दार , मुक्तिनाथ प्रहरी चौकीमा प्रहरी निरीक्षकको दरबन्दीमा असइ आदीले कमाण्ड गरेका छन्।
मुस्ताङको भौगोलिक बिकटता,प्रहरीलाई चाहिने रासन र भत्ता लगायतका सुविधा कटौती हुँदा प्रहरी व्यवस्थापनमा समस्या पर्दै आइरहेको छ। यसका अलवा मुस्ताङमा खटाइएका प्रहरी सोर्सफोर्सका आधारमा मुस्ताङ आउन नचाहदा मुस्ताङमा दरबन्दी अनुसार प्रहरीको सख्या अपुग भएको हो। अहिलेको अवस्थामा दुर्गम जिल्लामा प्रहरीलाई रासन भत्ता ९ हजार ३ सय छ। सुगम भन्दा दुर्गममा खटिने प्रहरीको रासन भत्ता ३ हजार १ सय बढी छ।
प्रहरीको दुर्गम स्थानीय भत्ता २४ सयदेखि ५६ सयसम्म छ। यसअघि प्रहरीको रासन भत्ता १६ हजार थियो भने स्थानीय दुर्गम भत्ता न्युनतम ७ हजार ५ सय रुपैयाँ थियो। रासन र स्थानीय भत्तामा मासिक करिव १३ हजार कटौती हुँदा मुस्ताङमा प्रहरी संख्या अपुग भएको हो।