धुमधामका साथ मकैकाे विवाह सम्पन्न

धुमधामका साथ मकैकाे विवाह सम्पन्न

गोरखा : अब बैशाखसम्म लगन छैन भनेर फागुन ६ गते(शुक्रबार) धेरै जोडीको बिहे सम्पन्न भयो। यहीँ लगन छोपेर उत्तरी गोरखाको लाप्राकमा पनि मकै बिहे धुमधामले मनाइएको छ।

बिहे नगरी मकै रोप्नु हुन्न भन्ने धार्मिक, साँस्कृतिक मान्यता अनुसार लाप्राकीले शुक्रबार मकै बिहे गरेका हुन्। ‘मकै बिहे गरेपछि अब बल्ल मकै रोप्न सुरु हुन्छ’, वडाअध्यक्ष राज गुरुङले भने, ‘यसपालि पानी पनि राम्रोसित आएको छ। मकैखेती राम्रै होला।

उनका अनुसार शुक्रबार धार्चे गाउँपालिका-४ लाप्राकमा गाउँ नै उर्लिएर धुमधामका साथ विवाह सम्पन्न गरेका छन्। गाउँले सबै मकैको जन्ती गए, मकैको भोज भतेर खाए, नाचगान गरे। 

उत्तरी गोरखाको धार्चे गाउँपालिका भित्रका लाप्राक, गुम्दा, सिङ्ला, उहिया, खोर्ला, लप्सीबोट, यमगाउँ, खानीगाउँ, लापु लगायतका गाउँमा परापूर्व कालदेखि मकै विवाह गर्ने चलन छ। अरु गाउँमा यसअघिका लगनमा मकै बिहे सम्पन्न भइसकेका छन्। 

प्रकृति पूजा यहाँका बोन धर्मावलम्बीहरु मकैको बिहे गरेपछि मात्र मुख्य बालीको रुपमा रहेको मकैखेती लगाउन सुरु गर्छन्। मकैको उव्जनी राम्रो होओस्, असिना पानीले नष्ट नगरोस्, रोग नफैलियोस भनेर मकैको यहाँ मकैको विहे गर्ने गरेको वडाअध्यक्ष गुरुङ बताउँछन्। 

ज्योतिषीले निकालेको साइतअनुसार विवाहको अघिल्लो दिन केही घोगा मकै जमिनमा गाडेर राखिन्छ। विवाहका दिन बिहानैदेखि गाउँभरिका मानिस लाप्राकको ठूलोआँगनमा जम्मा हुन्छन्। अनि सिंगारेर एक जना बालकलाई डोलीमा राखेर ढ्याङ्ग्र्रो, मादल र झ्याली लगायतका बाजागाजासहित जन्ती जाने गर्छन्।

ठूलो आँगनबाट मनिडाँडा हुँदै केही पर जंगलमा बेहुली घरका रुपमा बनाएको अर्काको सानो झुप्रोमा कन्या राखेको ठाउँमा जन्ती पुग्छ। जन्तीले ती कन्यालाई लिएर पुनः बाजागाजासहित लाप्राक गाउँको परिक्रमा गर्छन्। जन्ती जाँदा आफ्नो घरबाट लगेको एकएक घोगा मकै एकै ठाउँमा थुप्राइन्छ। त्यो मकैलाई सुनपानी, गोबर र तीतेपातीले चोख्याउने चलन छ। यही मकैलाई अरु बिउमा मिसाएर बारीमा मकै रोपिन्छ।

बेलुका फेरि ठूलोआँगनमा पुगी नाचगान गरी भुटेको मकैको भोज खाएपछि साँझ घाटु नाँचसँगै मकै विहे समापन हुन्छ। ‘यो पुरानो परम्परा हो, यसरी मकैको विहे गरेपछि वल्ल मकै लगाउन सुरु हुन्छ। विहे नगरी मकै लगाउदा अशुभ हुन्छ भन्ने मान्यता छ,’ स्थानीय सिर्जन गुरुङले भने। ‘यो एउटा प्राकृतिक पूजा हो, वर्षेनी माघ १५ गतेदेखि फागुन १५ गतेसम्ममा लगन जुराएर मकै बिहे गर्ने चलन छ’, गुरुङले भने। बेहुलासहित जन्तीहरू बेहुलीको घर पुगेपछि केहीबेर नाचगान चल्छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.