समावेशी वाङ्मय खोज्नुको मज्जै बेग्लै

समावेशी वाङ्मय खोज्नुको मज्जै बेग्लै

संस्कृति र सभ्यताका जराहरू थाहा पाउनुपर्छ। सबैको बौद्घिक सम्पदा छ। चाहे त्यो लिखित वा अलिखित नै किन नहोस्।


‘कविताको कोरियोग्राफी’मा पीएचडी गरेका विप्लव ढकालले एउटा विशेष कृति तयार पारे ‘भोजपुरको वाङ्मय’। पुस्तकहरूको भीडमा फरक स्वाद दिन विमर्श र अभिलेख मिसाएर वाङ्मय तयार पारे। खस नेपाली भाषामा लेखिएकालाई मात्रै नेपाली वाङ्मय भन्ने परम्परा तोड्न चाहन्छन् उनी। देशका हरेक मातृभाषाभित्र इतिहास लुकेको हुन्छ। खोजेर समाज जस्तै समावेशी पुस्तक बनाउनुपर्छ भन्ने ठान्छन् डा. ढकाल। त्यसैले भोजपुरको वाङ्मय समावेशी इतिहासको नमुना भन्न रुचाउँछन्। ३७ वर्षको अनुसन्धान र खोजबाट तयार भएको पुस्तकलाई सबैको हृदय जोड्ने पुल बनाउने उनको विश्वास छ। जीवनका धेरै वर्षको साधना, मनस्थिति र माटोको माया मिसिएको छ यसमा। प्रस्तुत छ– पुस्तक सार्वजनिकीकरणका सन्दर्भमा लेखक ढकालसँग अन्नपूर्णकर्मी रविन भट्टराईले गरेको कुराकानी– 


भोजपुरको वाङ्मय लेख्न किन मन लाग्यो ?
यस पुस्तकलाई मैले एउटा उदाहरणको रूप बनाउन खोजेको हुँ। पुस्तकहरूको भीडमा फरक स्वाद दिन खोजेको हुँ। फरक कुरा खोज्दा भोजपुरको वाङ्मय बन्यो। मैले समावेशी इतिहासको मोडेल बनाउन खोजेको हुँ यो पुस्तकलाई। म जन्मेर हुर्केको ठाउँ र बुझेको ठाउँभित्र अझै गहिरिन मन लागेको थियो। यो सबै इच्छा र भोकको उपलब्धि हो यो पुस्तक। समावेशी ठाउँको प्रतिनिधित्व गर्छ भोजपुरले यहाँको पहिचान नै नेपालको एक उदाहरण बन्न सक्ने भएकाले यो पुस्तकको तयारी गर्न वा लेख्न मन लागेको थियो मलाई। 

जिल्लाको सबै क्षेत्र समेट्नु भएको छ। हरेक विषयका विमर्श तथा अभिलेखीकरण गर्नुभएको छ। कति समय लाग्यो पुस्तक तयार पार्न ?
पुस्तकको लागि २०४१ सालबाट नै काम सुरु गरेको हुँ। ३७ वर्षपछि यसलाई एक हिसाबले पूर्णता दिएको छु। २०४१ सालमा मैले आफैंले बुनेको झोलामा ‘भोजपुरको सेरोफेरोमा कविताको खोजी’ भन्ने बुट्टा हानेर म हिँडेको हुँ। म १६–१७ वर्षको उमेरको भएकाले मान्छेले मैले गर्न खोजेको कुरालाई पत्याएनन्।  यसले के भन्न खोज्दै छ ? भन्ने मान्छेले सोच्थे तर बुझ्दैनन्थिए। २०४२ सालमा एउटा लेख लेखेँ। २०४६ सालमा भोजपुरका पत्रपत्रिकाको इतिहास सम्बन्धी लघुशोधपत्र तयार पारें। यस पुस्तकलाई आवश्यक कुरा खोजेको ३७ वर्षमा मैले तयार पारेको हुँ।

भोजपुरलाई खोतल्दा के पाउनु भयो ? 
धेरै कुरा पाएँ। जे विषयमा खोजेँ त्यहीँ नौलो र गम्भीर भेटेँ। जुनबेला आधुनिक पद्धतिको सुरुवात भएको थिएन। आधुनिक औषधिको उपचार थिएन। डाक्टर थिएनन्। अस्पताल थिएन। त्यो बेला पनि मान्छे बाँच्न चाहन्थ्यो। त्यो बाँच्न चाहने प्रक्रिया मैले खोजेँ। 

धामी त्यो समयको यसै प्रश्नको उत्तर भनेका थिए। पुर्खाले किन धामी खोजे भन्ने त हामीले बुझ्नु पर्ने हो नि। हामीले त्यो वैज्ञानिक पद्धतिका केलाउन खोज्दा त्रुटि होलान् तर, त्यो समयको पुर्खाको ज्ञान परम्परा हो नि। यसभित्र मैले धेरै कुरा खोज्ने प्रयास गरेँ। मन्त्र खोजेँ। कामेर बक्ने बेलामा एउटा भाषा बोल्ने। सामान्य अवस्थामा त्यो नै उनलाई थाहा नहुने कुरा अहिले कथा जस्तो छ। यी कुरा त हाम्रा पुर्खाले बुझ्नुपर्छ नि। त्यो समय विश्वासले बढाएको रोग प्रतिरोधात्मक क्षमताको त अहिले कोरोना कालमा पनि त शिक्षा दियो। इतिहासमा विश्वासले चलेका धेरै कुरा थिए नि। अहिले पनि म्युजिक थेरापी हुन्छ नि। पुर्खाले त्यो त पहिले नै पत्ता लगाएका रहेछन्। ढ्याङ्गो, झ्यालीको रिदम र मन्त्रको उच्चारणले पनि त थेरापी हुने रहेछन् नि। ती सबै कुराले बाँच्ने प्रेरणा त दिएको रहेछ भन्ने कुरा पत्ता लगायो। भाषाभित्रको शक्ति भेटेँ। यो एउटा उदाहरण हो। पुस्तकमा सबै समेटेको छु। 

मैले ६ वटा ज्ञान परम्पराको विश्लेषण गरेको छु। षडानन्ददेखि योगमायासम्मको कुरा लेखेको छु। सबैको जीवन संघर्षका कुरादेखि अहिलेका प्रभावसम्मका कुरालाई समेटेको छु। इतिहासलाई अनाथ बनाउनु त भएन नि। हामीले विजुवा, फेदाङ्वाको कुरा सुन्ने हो, बुझ्ने हो, र ज्ञान लिने हो। इतिहासलाई सम्मान गर्नु पर्छ। अपमान होइन। हो मैले यो नै गर्ने प्रयास गरेको छु। 

पुस्तकलाई समावेशी इतिहासको मोडेल बनाउन खोजेको हुँ भन्नु भएको छ। कसरी यो पुस्तक मोडल बन्न सक्छ ? 
नेपाली वाङ्मय भन्नाले खस नेपाली भाषामा लेखिएकालाई मात्रै बुझ्ने गरिन्छ। यो क्रम अझै छ।  देशभित्र धेरै मात्री भाषा छन्। यी सबै भाषाको समष्टिगत रूपलाई नै नेपाली वाङ्मय भनौं भन्ने मेरो कुरा हो। अनि मैले यो प्रयास गरेको छु पुस्तकमा। 

यसमा धेरै कुरा छुटेका पनि हुन सक्छन् र नभएका पनि होलान्। किनकि इतिहासमा धेरै कुरा खोज्न सकिन्छ, गहिरिन सकिन्छ। म जति कुरामा गहिरिएर पौडदै पाएँ, त्यो कुरालाई समेटेको छु। सबै जात, जाति, भाषा र धर्मभित्र पसेको छु, खोजेको छु र ल्याएको छु। त्यसैले मैले भने कुरा हो पुस्तक समावेशी इतिहासको मोडल हो।

सांस्कृतिक रूपान्तरणको प्रकृयाले धेरै मूल्यवान् कुरा छुट्दै र छोड्दै आएका छौं। इतिहास लोप भयो भने सभ्यताको बत्ती निभ्छ।

पुस्तकको विषय र खोज्ने कुराको छनोटमा किन भोजपुर नै पर्यो ? समावेशिता भोजपुरमा पाउनुभयो ?
यसमा दुईवटा कुरा छन्। पहिलो त म जन्मेको जिल्ला हो भोजपुर। यहाँको ढुंगा माटोसँग मैले साक्षात्कार गरेको छु। ती क्षेत्रले मलाई बुझेका छन् र मैले पनि। खोज्न र पाउन यस कारणले पनि मलाई सहजता हुन्छ। त्यस क्षेत्रको विषयमा मैले परिवेश बुझ्न समय लाग्दैनथियो। जन्मेर बुझ्ने भएदेखि मैले केही कुरा टिपेर राखेको थिएँ। ती कुरा कति कपीमा त कति मस्तिष्कमा थिए। यसले गर्दा पनि मलाई भोजपुर उपयुक्त लागेको हो।

भोजपुर माझ किराँत पनि हो । यहाँ बौद्धिक सभ्यता कस्तो पाउनु भयो ?
मैले आफ्नो मातृभूमिप्रति केही दिनु थियो। भोजपुर माझ किराँत पनि हो। मैले पुस्तकलाई माझ किराँतको बौद्धिक सभ्यताको अभिलेखन भन्न पनि रुचाउँछु। यहाँ मुख्य कुरा पहिचान नै पेचिलो हो। पहिचानभित्र डुबुल्की मार्न मन लाग्यो। अनि भोजपुर मेरो छनोटमा पनि परेको हो। भोजपुर रेडियोको सुरुवात भएको जिल्लादेखि पृथ्वीनारायण शाहले विजयपश्चात् भोज खुवाएको इतिहास बोकेको जिल्ला पनि हो। त्यसैले यहाँ मैले जे खोजेँ त्यो धेरै पाएँ।  

तपाईंले भनेझै यो पुस्तक समावेशी बन्यो त ? 
मेरो मुख्य कुरा सबैको हृदय जोड्ने पुल बनाउँ भन्ने हो। सबै जातजातिका आफ्ना सभ्यता र संस्कृति छन्। एकले अर्कोको संस्कृतिको सम्मान गर्ने संस्कारको विकास गरौं भन्ने हो। एकअर्काको सभ्यताको सम्मान गर्नको लागि एकअर्कालाई बुझ्नुपर्छ। संस्कृति र सभ्यताका जराहरू थाहा पाउनुपर्छ। सबैको एउटा बौद्धिक सम्पदा छ। 

चाहे त्यो लिखित वा अलिखित नै किन नहोस्। वा मौखिक वा श्रुति परम्पराको रूपमा आएको होस्। ती सबै कुरा एक पुस्तादेखि अर्को पुस्तासम्म हस्तान्तरण हुनुपर्छ। त्यो लोक वाङ्मय हो। जसको अभिलेखीकरण हुन सकेको छैन। यो पनि मैले नेपालको एक जिल्लाको मात्रै गरेको हुँ। यसलाई नेपालको भन्न पाए कति मजा हुने थियो होला। तर, त्यो कुरा एक्लैले र छोटो समयमा सम्भव भने छैन। 

इतिहास लोप भए कस्तो असर पर्दो रहेछ ? खोज्दै जाँदा हराएको के पाउनुभयो ? 
लोक वाङ्मय सम्बन्धित जाति, समुदाय, भाषिक समुदाय र आफ्ना पुँजीसँग जोडिएका कुराहरू हुन्। हेर्दा सामान्य लागे पनि त्यसले हाम्रो सभ्यतालाई जीवित राखेको हुन्छ। ती सभ्यताहरू इतिहासका प्रमाण हुन्। त्यस्ता कुरालाई हामीले आफ्नो ढंगले समयमा नै कसरी बचाउन सकिन्छ ? कल्चरल ट्रान्सफरेसन (सांस्कृतिक रूपान्तरण) को प्रोसेक्सले धेरै मूल्यवान् कुरा छुट्दै र छोड्दै आएका छौं। इतिहास लोप भयो भने सभ्यताको बत्ती निभ्छ। त्यसैले पुस्तकलाई यी सबै अंग दिएको छु। ती अंगको विकास गर्न र मैले बनाएको ढोकाबाट छिर्न अब जो पनि सक्छ, चाहेको खण्डमा। 

तपाईंको लगनशीलताबाट पुस्तक तयार भयो। नखोजिएका र छोडिएका इतिहास त धेरै रहेछन् नि ?
जब खोज्न थालिन्छ धेरै सामग्री भेटिन्छ। खोज्न हार मान्नु हुँदैन। ठक्कर धेरै खाइन्छ। हामीले चाहेर इतिहास खोतल्न थाल्यौं भने जहाँ पनि फेला पर्छ। सुरुमा म पनि नेपालीमा लेखिएका र भेट्न सहज हुने कुराकै खोजीमा थिएँ। भाषा नेपाली छनोट गरेँ। तर, खोज्दै जाँदा म त्यसरी सीमित हुन चाहिनँ। अन्य भाषामा पनि अभिव्यक्ति लुकेको भेटे। त्यसलाई समेट्न मन लाग्यो। गाउँ, घर मेलापातमा गाउने गीत, सिलोक र संगिनीमा मात्रै होइन अन्य भाषाका गीत र भजनमा पनि मर्म लुकेको भेटेँ। मैले गाउँगाउँमा गएर वाणीसँग गाँसिएको कुरालाई धेरै ध्यान दिएर बुझ्न खोजेँ। टिपोर्ट गर्ने बानी सानैदेखि थियो। किसानको छोरा हुँ। गाई चराउन जाने र घाँसको भारी बोकेर आउने क्रममा अरूले नटिपेको कुरा मैले टिपेको थिएँ। जंगलमा जाँदा पनि मेरो सानु झोला र त्यसमा कापी र कलम साथमा हुन्थ्यो। केही नयाँ भेटेँ भने म टिपोर्ट गर्थे। घाँस काट्दा गाउने गीत र कविता मैले टिप्ने गरेको थिएँ। सबै मसँग छ। त्यो एउटा सम्पत्ति रहेछ। अहिले अभिलेख राख्न पाएको छु। 

कुनै पनि कुरा ती समय सामान्य लागेर छोपिएका अहिले इतिहास बने । तपाईंले खोज्दै जाँदा खोज्न ढिला भएछ भन्ने महसुस भएन ?  
सामान्य लागेका कुराहरू अति महत्वपूर्ण हुँदा रहेछन्। हामी स्वास फेरिरहेका छौं। तर, यसलाई नै हामीले बिर्सेका हुन्छौं। सम्झ्यो भने मात्रै पनि हामीलाई गहन र अचम्म लाग्ने विषय हो यो। साना कुरामा सुन्दरता हुन्छ। तर, हामीले खोज्न जान्नुपर्छ। गीत पनि एउटा अभिव्यक्ति हो नि। गाउँमा सुनेका साना कुराभित्रको रहस्य कति धेरै हुन्छ। कुनै पनि कुरालाई त हामीले अभिव्यक्त गर्ने माध्यम खोजेका हुन्छौ। जुन शब्द औषधि हुन्छ, अनि त्यहीँ शब्दले घाउ बनाउँछ भन्ने चलन नै छ। त्यसैले इतिहासका शब्द कति शक्तिशाली थिए भन्ने कुरा हामीले बुझ्यौ भने मात्रै हामी सफल हुने त हो। शब्दले छुन्छ, स्पर्श गर्छ। तर, त्यसको न हात छ, न त पाउ नै। यस्तो कुरालाई मैले सूष्म रूपमा हेर्दै गएको हुँ। खोजेको हुँ। मैले भोजपुरमा ती सबै कुरा सानैबाट भेटेको थिएँ। म जन्मिएको ठाउँको पूजा गरेको हुँ। आमाको सम्मान गरेको हुँ यो पुस्तक र शब्दमार्फत। तर, मैले अभिलेख राख्न थाल्दा धेरै कुरा हराइसकेका थिए। इतिहास बुझेकाहरू परलोक भएका थिए। साहित्यकार र लेखक पलायन भएका थिए। मठ, मन्दिर, चोक, धारा र चौतारा भत्किएछन्। त्यहाँ कुँदेका इतिहास पुरिएछन्। केही खोतलें। खोज्दा पाइने रहेछ। 

जन्मेर हुर्केको ठाउँ छाडेर काठमाडौं पनि आउनुभयो। पुनः फर्किएर त्यहाँको वाङ्मय खोज्ने साहस कसरी मिल्यो ?  
म पुस्तक तयार पर्ने क्रममा पागलजस्तै भएको थिएँ। पारिवारिक र प्राध्यापनको कुरामा भन्दा धेरै ध्यान मेरो लक्ष्यमा थियो। गाउँबाट सदरमुकाम आएर भोजपुर क्याम्पसमा पाइला टेकेपछि आफ्नो वरिपरिको सानो संसारप्रति मेरो मनमा थुप्रै जिज्ञासाहरू जन्मिए। आफैंले बुट्टा हानेको झोलामा भोजपुरको सेरोफेरो : कविताको खोजी’ भन्ने अधुरो वाक्य लेखेर म गाउँका कुनाकन्दरामा कविताको इतिहास खोज्दै हिँड्न थालें। धेरै ठाउँमा बूढापाकाहरू भन्ने गर्थे– यो माटोमा इतिहास छैन बाबु! पानाहरू सबै रित्तै छन्! तर मैले हिम्मत नहारिकन हिँड्ने र हिँडिरहने संकल्प गरें।

मैले कुल्चिएको धुलोमा शब्दको इन्द्रेणी छोपिएको छ कि ? पिखुवा र हङग्रायो खोलाको बगरमा कविताको उज्यालो पुरिएको छ कि ? ट्याम्के र मैयुङको छातीमा अग्रजका पदचिह्न भेटिन्छन् कि ? प्रश्नहरूको अग्लो पिरामिडमाथि उभिएर रित्तो क्षितिजलाई हेरिरहँ। यो भूमिमा हाम्रा पुर्खाहरूको एउटा समृद्ध इतिहास अवश्य नै हुनुपर्छ। खोज्नुपर्छ– भेटिन्छ। भेटिन्छ– त्यसैले म खोज्छु। यही विश्वासको बलियो लौरो टेकेर अनेकौं उकालीहरू चढें। अनेकौं ओरालीहरू झरें। स्नातक तहको औपचारिक अध्ययनका सिलसिलामा भोजपुरका पत्रपत्रिकाहरूको इतिहास विषयमा एउटा लघुशोधपत्र तयार पारें। अनि बिस्तारै भोजपुरले पनि मेरो सपनालाई विश्वास गर्न थाल्यो। मेरो २२ वर्षे युवा मनमा नयाँ जोस र नयाँ आत्मविश्वास पलायो। त्यतिखेरको आत्मविश्वास मरेन। त्यसले नै यो समयमा पनि काम गरेको हो। 

सामग्री जुटाउन त गाह्रै पर्यो होला। पुस्तक तयार पार्दाको ३७ वर्षका भोगाइलाई कसरी सम्झनुहुन्छ ?
पहिलेका झोलामा थन्काइएका इतिहासले मेरो हात समायो। ताते गरायो। यादेखि दिल्पासम्म, दोभानेदेखि दुम्मानासम्म फकिरजस्तै बनेर घुम्दाघुम्दै कसैले मलाई ज्ञान दियो। भोजपुरका साहित्यकारहरू त लाखापाखा लागिसकेका थिए। इतिहास खोज्न काठमाडौं जाऊ भन्ने आवाज मेरो कानमा घन्कियो। अनि जंगलबाट उडेको ढुकुर बनेर म भोजपुरबाट काठमाडौं आएँ। ठेगाना थिएन। फेला पार्नु थियो भोजपुरका अग्रज साहित्यकारहरूको गुँड। काठमाडौंको धूलोमा भोजपुरका पाइलाहरू चिन्न सकिनँ। खोजें। फेरि खोजें। चौबाटोमा उभिएर सोधियो राजधानीमा भोजपुरका शब्दशिल्पीहरू कहाँ बस्छन् ? काठमाडौंले मेरो चप्पल मात्र हेर्यो। कसैको ठेगाना बताएन। निकै दिनपछि मुस्किलले भोजपुरका केही प्रसिद्ध कवि र अनुसन्धानदाताहरू फेला पारें। भनें– म तपाईंहरूकै गाउँले भाइ हुँ। भोजपुरको साहित्यको इतिहास लेख्न तपाईंहरूलाई खोज्दै आएको छु। सूचना दिएर सहयोग गर्नुस्। अग्रजहरूले हार्दिक सहयोग गर्नुभयो। 

काठमाडौंबाटै ‘भोजपुरको साहित्यिक रूपरेखा’ शीर्षकमा मेरो एउटा पुस्तक पनि प्रकाशित भयो। आमाहरूले कलेजो चिरेर गाएका संगिनी गीतहरूको भिलेज प्रोफाइल तयार भयो। तर, मलाई थाहा थियो– अझै मेरो काम अधूरै छ! कुनै दिन त्यसलाई पूरा गर्नु छ। पेसागत व्यस्तताबाट बचेको समयलाई जतनले खल्तीमा राखेर कहिले पुस्तकालय, कहिले अभिलेखालय, कहिले देवालय र कहिले अग्रजहरूका आलयमा घुम्दै धमिराले खाएर बचेका कागजका टुक्राहरू, अक्षर मेटिनै लागेका हस्तलिखित पत्रिकाहरू, च्यातिएर जराजीर्ण भएका पुराना पुस्तकका पानाहरू बटुल्न थालें। थकाइ आफैं थाक्यो। निद्रा एक्लै निदायो। अब मेरो अगाडि अनेकौं भाषाका इन्द्रेणी शब्दहरूको एउटा समृद्ध उज्यालो उभिएको थियो। मैले झुकेर अभिवादन गरें। अनि पुस्तक तयार भयो।

समग्र भोजपुर बोकेको पुस्तक लेखेर सकिएपछिको अनुभव कस्तो रह्यो ? 
पुस्तकको अन्तिम पंक्ति लेखिसकेपछि म केही समय निःशब्द बनेको छु। आफ्नै पुराना स्मृतिहरूसँग मौन संवाद गरिरहेको छु। मेरो अगाडि गाउँको स्कुलमा अन्तिम बेन्चमा बसेको आफ्नै कलिलो छाया फर्केर आउँछ र प्रश्न गर्छ– तिमीले गोठालो जाँदा, खेतालो जाँदा, मेलापर्वमा जाँदा सानो कपीमा टिपोट गरेका सुदूरजंगलका शब्दहरूप्रति न्याय गर्यौ त ?

मेरो अगाडि घाँस–दाउराको भारी बोकेका, शरीरभरि धूलो र हिलो लागेका, नाङ्गा कुर्कुच्चाबाट रगत बगिरहेका, च्यातिएको मैलो लुगाभित्र जीवनका सुकिला दुःखहरू छोपेका, निधारबाट तरतरी पसिना चुहाइरहेका तर जस्तोसुकै कठिनाइमा पनि मुस्कुराउन नबिर्सेका अनेकौं प्रियजनहरूका धमिला छायाहरू फर्केर आउँछन् र प्रश्न गर्छन्– तिमीले हाम्रो आत्माको आवाजलाई जोगाएर राख्न सक्यौ त ? यी प्रश्नहरू मेरा लागि कुनै विश्वविद्यालयका प्रश्नभन्दा कठिन छन्। उत्तरहरू खोज्दै जाँदा आधा जिन्दगी बितेछ। अहिले सम्झिन्छु– ३७ वर्षअघि म १७ वर्षको एउटा सोझो र अन्तर्मुखी किशोर थिएँ। एकान्तमा कविता लेखेर जंगलका रूखहरूलाई सुनाउँथें। जंगलले नै मलाई आफूलाई खोज्न सिकायो। सपनाहरू पछ्याउँदै जाँदा जरा र जमिनलाई बिर्सनु हुँदैन भन्ने सत्य सिकायो। यो पुस्तक मेरो आफ्नै जरा र जमिनको खोजी हो। अहिले पुस्तक तयार भयो। अब आज विमोचन हुँदैछ। जन्माएको एउटी छोरी अन्माउन लागेको महुसस भएको छ। 

लेखन र अध्ययनमा परिवारको साथ कस्तो रह्यो ? अनि जुन ठाउँलाई पुस्तकमा संग्रृहीत गर्नु भएको छ, त्यस स्थानका नागरिकको साथ कस्तो पाउनु भयो ? 
यो पुस्तक तयार पार्ने क्रममा म एउटा निमित्त पात्र मात्रै हुँ। तथ्य र सूचनाहरूको संकलन गर्न सयौं व्यक्तिहरूको पसिना बगेको छ। मैले त केवल संयोजन र व्यवस्थापन मात्रै गरेको हुँ। गहिरो विमर्श गर्न सकेको छैन। मसँग रित्तो झोलामा केवल सपनाहरू थिए। तिनै सपनाहरू जोगाएर लगभग साढे तीन दशकपछि या पुरानो झोला बिसाएको छु। मैले भोजपुरबाट लिएर आएको सम्पत्ति फिर्ता गरेको छु। भोजपुरको नासो फिर्ता गरेको छु। मैले आमाको पूजा गरेको हुँ। लिनुदिनु केही छैन। जे जति फिर्ता गरें– मेरो प्राप्ति त्यही हो। परिवारले त मलाई मेरो अवस्था हेरेर हरेक दुःखको व्यवस्थापन गरेको छ। अनि अन्य महानुभावको सहयोग बिना त म असफल नै हुन्थें। सबैलाई नमन गर्छु। 

नेपालमा गहिरिएर कमै इतिहास खोजिन्छ। इतिहासबिना वर्तमान र भविष्य सुन्दर बन्ला र ?
यस पुस्तकमार्फत मैले इतिहास लोप भयो भने सभ्यताको बत्ती निभ्छ भन्न खोजेको हुँ। नेपालका कुनाकन्दरामा छरिएर रहेका सबै जातजाति र मातृभाषाहरूको वाङ्मय हामी सबैको साझा सम्पदा र साझा पहिचान भएकाले विविधताको शक्ति र सौन्दर्यलाई सबैले मिलेर समयमै बचाऔं भन्न खोजेको हुँ। बार्दलीबाट होइन, आधारशिविरमा उभिएर सूक्ष्म रूपमा खोजी गरेपछि मात्रै नेपाली वाङ्मयको बृहत् र समग्र इतिहास तयार गर्न सकिन्छ कि भन्न खोजेको हुँ। सबैको हृदय जोड्ने पुल बनाऔं भन्न खोजेको हुँ। इतिहास कुनै औपचारिक थेसिसका लागि होइन पुस्तालाई बुझाउन र पठाउन लेखिनु पर्छ। अहिले हामी गम्भीर हुँदैनौं। हामीकहाँ रिसर्च गर्ने कुराको पद्धतिमा पनि अन्योल धेरै छ। डिग्री हासिल गर्ने क्रममा र कुनै प्रोजेक्टमा बुझाउनका लागि मात्रै अनुसन्धान गर्ने चलन छ। ती सबै औपचारिकजस्ता देखिन्छन्। 

केही अनुसन्धान होला। तर, उद्देश्य प्राप्तिका लागि मात्रै छ गहन छैन। यो पद्धतिको कुरा गरेको हुँ मैले। यो क्रम अझ बढ्दो छ। मान्छेको समय छैन। धैर्य छैन। इच्छाशक्ति छैन। जो कुनै विषयमा एकोहोरो लागिरहन्छ। त्यसले मात्रै हो अनुसन्धान गर्ने र गहिराइमा पुग्ने। त्यसलाई हरेक कुराले साथ दिनुपर्छ। घरको वातावरणदेखि लिएर समय व्यवस्थापनको कुरा पनि हो। अनुसन्धान गर्नुपर्ने कुरा छरपष्ट छन्। हामीले खोज्न भ्याएका छैनौं। त्यसलाई टेकेर पुरिएको छ। अब समयमा खोतल्न नसके त्यो पुरिएर जान्छ। अध्ययन र अनुसन्धान भनेको कुरा कहाँ सहज छ र ? अनि सबैले अनुसन्धान पनि त गर्ने होइन। कोही न कोही त अवश्य निस्किएला नि कुनै समय। आत्तिनुपर्ने अवस्था छैन। तर, हरेक व्यक्तिले इतिहास भुल्नु हुँदैन। यसबाट पाठ सिक्नुपर्छ। 

अभिलेखीकरण गर्ने क्रममा धेरै प्रश्न उठेका थिए होलान्, तपाईंको सबै प्रश्नको उत्तर इतिहासमा पाउनु भयो ? 
इतिहास खोज्दा धेरै कुराको उत्तर पनि भेटिन्छ र अनगिन्ती प्रश्न पनि। ती प्रश्न कुनै विश्वविद्यालयको प्रश्नभन्दा कठिन छन् भनेर मैले पहिले भने पनि। अब यी सबै मैले खोजेर अभिलेख गरेको कुराको उत्तर समाजले दिनुपर्छ र सबैलाई प्रश्नको भोक लाग्नुपर्छ। म यो किताबले प्रश्नको सुरुवात गरेको भन्न सक्छु। प्रश्नको उत्तर खोजेको भन्दिनँ। मैले पुस्तकलाई सरल बनाएर इतिहासमा छिर्ने बाटो बनाइदिएको हुँ। सबै बाटो खनेको होइन। हेर्दा जति देखेँ त्यति लेखेँ। म इमानदार भएर हिँडे। कति भेटेँ होला अझै कति छोपिएकै अवस्थामा पनि त छन्। म स्रोत र मुहानसम्म पनि नपुगेको हुन सक्छु। म यस्तो ठाउँमा छु। म गहिराइमा पुगिनँ भनुँ भने कहाँ पुग्नुपथ्र्यो भनेर कसैले सोधे उत्तर छैन। पुगेंभन्दा अझै भेटिन पनि त सक्छ। इतिहास परिवर्तन हुँदै आएको छ। धेरै कुरा सेकेन्डमा आएर सेकेन्डमा छोपिएका छन्। जति समाउन सकेँ दिएँ। खोज्ने बाटो प्रशस्त छन्। खोज्न अध्ययन गर्न सकिने रहेछ भन्ने कुरा सुरुवात गरेको हुँ। मैले सबै भेटेँ भन्न पनि त सक्थे होला नि। सरल हुन कति जटिल छ। तर, जटिल हुनलाई धेरै सरल छ। म त्यो सरलता खोज्न सानैबाट जटिल बनेको थिएँ। तर, कहिले जटिल हुन खोजिनँ। 

अबको उद्देश्य के छ ?  
धेरै थकान महसुस भएको छ। अध्ययन, अनुसन्धान र समय व्यवस्थापनले। अब केही समय दिमागलाई शान्त पार्छु। पुनर्ताजगी गर्छु। अनि केही सोच्नुपर्ला। विगत १० वर्ष पारिवारिक रूपमा पनि अस्तव्यस्त भयौं अध्ययनको सिलसिलाले हो मुख्य त। अब केही पारिवारिक जीवन पनि बिताउन मन छ। म मूलतः कवि हुँ। तर, अन्य विषय पनि खोतलें। सबै विधा मन पर्छ। मूलतः म कवितामा नै अडिन्छु। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.