मुस्ताङमा फेरी हिमपात
जोमसोम : मुस्ताङमा तेस्रो पटक पुनः हिमपात भइरहेको छ ।पश्चिमी वायुको प्रभावसंगै आइतबार बिहान ११ बजेदेखि हिमपात भइरहेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ । हिउँदयाम सकिएर गर्मीयाम सुरु हुने बेला मुस्ताङमा हिमपात भएको हो ।
हिमपातले मुस्ताङका डाँढाकाँडा पुरै सेताम्मे भएका छन् भने बस्तीमा समेत हिउँ जम्न सुरु गरेको छ । जिल्लाको लोमान्थाङ,लोघेकर दामोदरकुण्ड,वारागुङ मुक्तिक्षेत्र,घरपझोङ र थासाङ गाउँपालिका विभिन्न स्थानमा अहिले हिमपात भइरहेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र ढकालले जानकारी दिए ।
हिमपात भएसँगै मुस्ताङमा चिसो अत्यधिक बढेको छ भने विद्यालय बालबालिकाहरुको पढन/पाठनमा समेत प्रभावित भएको छ। मुस्ताङका तीन स्थानीय तहका विद्यालय फागुन १ गतेदेखि सञ्चालनमा आएका छन् । उपल्लो मुस्ताङका विद्यालय भने घुम्ती कक्षाका लागि बेसीमा छन् ।
मुस्ताङमा गत पुस १४ र माघ २० गते भारी हिमपात भएको थियो । लगातार हिमपात भएमा स्थानीय जनजीवन प्रभावित हुनुको साथै बेनी—जोमसोम ,जोमसोम—मुक्तिनाथ र उपल्लो मुस्ताङको सडक यातायात अवरुद्ध हुने निश्चित छ । मुस्ताङमा हिमपात भएसँगै मानिसहरु घरभित्रै बस्न बाध्य भएका छन् ।