जनसंख्या भन्दा मतदाता धेरै !
गोरखा : कमजोर जनगणना र फितलो मतदाता नामावली अद्यावधिकका कारण गोरखाका चार पालिकामा जनसंख्या र मतदाता संख्या धेरै देखिएको छ। जिल्ला निर्वाचन कार्यालय र तथ्यांक कार्यालयबाट प्राप्त तथ्यांक विश्लेषण गर्दा शहीदलखन, सिरानचोक, भीमसेन र गण्डकी गाउँपालिकामा जनसंख्या भन्दा मतदाता संख्या बढी देखिएको हो।
कार्यालयका अनुसार जम्मा २२ हजार ४२९ जनसंख्या रहेको शहीदलखन गाउँपालिकामा मतदाता संख्या भने २३ हजार ६७५ रहेको पाइएको छ। १९ हजार ८२९ जनसंख्या रहेको सिरानचोक गाउँपालिकामा मतदाता संख्या भने २१ हजार ३५८ रहेको छ। त्यस्तै १७ हजार ११८ जनसंख्या रहेको भीमसेनथापा गाउँपालिकामा मतदाता संख्या भने १९ हजार ७७२ रहेको छ। १८ हजार ५७९ जनसंख्या रहेको गण्डकी गाउँपालिकामा मतदाता संख्या २१ हजार ६६२ रहेको कार्यालयले जनाएको छ।
जनगणनामा भर्खर जन्मेको बच्चाकोसमेत गणना गरिन्छ भने मतदाता सूचीमा १८ वर्ष उमेर पुगेपछि मात्र नामावली अंकित हुने गर्छ। तर यहाँ जिल्लाको तथ्यांक केलाउँदा मतदाता संख्या र जनसंख्या उस्तैउस्तै देखिन्छ भने कुनै पालिकामा जनसंख्या भन्दा मतदाता संख्या बढी देखिन्छ।
गोरखा नगरपालिकामा पनि जनसंख्या र मतदाता संख्या उस्तैउस्तै रहेको छ। यहाँको मतदाता संख्या जनसंख्या भन्दा एकसय १३ जनाले मात्र कम छ। ५३ हजार २८५ जनसंख्या रहेको यहाँको मतदाता संख्या पनि ५३ हजार १७३ रहेको छ।
पालुङटार नगरपालिकामा भने मतदाता संख्या ३२ हजार ८१५ र जनसंख्या ३७ हजार २७४ रहेको छ। त्यस्तै १३ हजार २ जनसंख्या रहेको अजीरकोट गाउँपालिकामा मतदाता संख्या १२ हजार ६२५, २३ हजार २२२ जनसंख्या रहेको बारपाक सुलीकोटमा मतदाता संख्या २०५६८ र १४ हजार ५६३ जनसंख्या रहेको धार्चेमा मतदाता संख्या १० हजार ९२८ रहेको छ।
जनसंख्या २१ हजार ८७६ रहेको आरुघाट गाउँपालिकामा मतदाता संख्या १८ हजार ७५१ रहेको छ भने छ हजार ७८९ जनसंख्या रहेको चुमनुब्री गाउँपालिकाको मतदाता संख्या पाँचहजार ११० रहेको छ।
तथ्यांक कार्यालयका अनुसार गोरखाको जनसंख्या दुईलाख ५१ हजार ४९ रहेको छ। जिल्ला निर्वाचन कार्यालयका अनुसार गत माघसम्म गोरखाको मतदाता संख्या दुईलाख १९ हजार ३९४ रहेको छ।
मृत्यू, बसाइँसराई, विदेश जाने, विवाह गरेर जानेहरुका कारण तथ्यांक तलमाथि देखिएको जिल्ला निर्वाचन अधिकृत टेकबहादुर कोइराला बताउँछन्। ‘यो हामीले गाउँपालिकामा रुजुका लागि पठाएको तथ्यांक हो’, कोइराला भन्छन्, ‘दोहोरिने, मृत्यू हुनेको रुजू गर्दा दुईतीन हजारको संख्या घट्न सक्छ भन्ने हाम्रो अनुमान छ।’
मतदाता नामावली धेरै बर्षअघिदेखि अद्यावधिक नगरिको तर जनगणना पछिल्लो अद्यावधिक भएकाले मतदाता भन्दा जनसंख्या कम देखिएको हुनसक्ने तथ्यांक कार्यालयका लोकप्रसाद ढुंगानाको भनाइ छ। बसाइँसराई गरी जाने, मृत्यू हुनेको नामावली मतदाता नामावलीबाट नहटाइएकाले यस्तो भएको उनले बताए।
झट्ट हेर्दा जनसंख्या भन्दा मतदाता संख्या धेरै हुनु आश्चर्यजनक रहेको तथ्यांकका जानकार पवनरमण खनाल बताउँछन्। ‘तर जनगणना र मतदाता संख्याको प्रकृति फरक छ’, खनाल भन्छन्, ‘कामकाजी मान्छेहरुको जनगणना कार्यस्थलमा हुन्छ तर, मतदाता नामावली जन्मस्थलमा टिपाउँछन्। त्यसैले जनसंख्या भन्दा मतदाता संख्या धेरै देखिएको हो।’ वर्षौँदेखि काम विशेषले काठमाडौँमा बसेकाहरुले मतदाता नामावली गाउँमै टिपाएका तर कार्यस्थलमै जनगणना गरेकाले जनसंख्या भन्दा मतदाता धेरै देखिएका उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !