चुरोट खाने विषयमा बिवाद हुँदा भतिजाको हत्या
गोरखा : चुरोट खाने विषयमा काका र भतिज बीच बिवाद हुँदा गोरखा नगरपालिका १२ छापगाउँका ४६ वर्षिय काशीराम कुमालको हत्या भएको छ। अत्याधिक मदिरा सेवन गरेका काका नाता पर्ने ५९ वर्षिय पदमबहादुर कुमालले चिर्पटले टाउकोमा हिर्काउँदा काशीरामको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका एसपी केदार खनालले बताए।
‘पहिले पराल झिक्न जाँदा मृत्यु भएको भन्ने जानकारी आयो’, उनले भने ‘घटना अनुसन्धान गर्दै जाँदा हत्या भएको प्रमाण खुल्यो।’टाउकोमा चोट रहेकाले प्रहरीले उक्त घटना शंकास्पद रहेको आशंकामा अनुसन्धान पक्रिया अघि बढाएको थियो।
काका पदमबहादुरले भतिज र आफू बीच चुरोट पिउने विषयमा बिवाद हुँदा चिपर्टले हिर्काएको स्वीकार गरेको प्रहरीले जनाएको छ।
फागुन २१ गते राति उक्त घटना भएको र बुधबार पिडकलाई पक्राउ गरी जिल्ला अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको एसपी खनालले बताए। मृतकका छोरा अप्सर कुमालले बाबुको हत्या भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका छन्।
प्रतिक्रिया दिनुहोस !