सुनापति अध्यक्ष कप चैत्र ५ देखि
रामेछाप : रामेछापमा चैत्र ५ देखि ८ गतेसम्म ‘तेस्रो सुनापति गाउँपालिका अध्यक्ष कप खेलकुद प्रतियोगिता’ हुने भएको छ।
सुनापति गाउँपालिकाको खेलकुद विकास समितिले अन्तरपालिका पुरुष भलिबल तथा ब्याडमिन्टन सञ्चालन गर्ने भएको हो। यो जिल्लाकै सर्वाधिक पुरस्कार राशिको प्रतियोगिता भएको सुनापति खेलकुद विकास समितिका अध्यक्ष गोविन्द घिमिरेले बताए।
प्रथम पुरस्कार दुई लाख रुपैयाँ रहेको छ। द्वितीय पुरस्कार १ लाख, तृतीय पुरस्कार ५० हजार र सान्त्वना पुरस्कार २५ हजार रुपैयाँ छ। साथमा ट्रफी मेडल र प्रमाणपत्र पनि प्रदान गरिने घिमिरेले बताए। यसैगरी सर्वोत्कृष्ट खेलाडीले १० हजार रुपैयाँ पाउनेछन्। उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर, डिफेन्डर र प्रशिक्षकले समेत जनही पाँच हजार नगदका साथ ट्रफी र प्रमाणपत्र पाउनेछन्।
खेलको माध्यमबाट युवाहरूलाई सक्षम बनाउन पालिकाले विभिन्न प्रतियोगिता गरिरहेको समिति अध्यक्ष घिमिरेले बताए। ‘लुकेर रहेका खेल प्रतिभालाई अवसर दिने योजना हो,’उनले भने, ‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्य छ।’